नेपाल स्टक एक्सचेन्जमा सुचिकृत बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रस्तुत गर्ने लहर चलेको छ। यसै क्रममा आज साउन ११ गते ग्लोबल आइएमई र सानिमा बैंकले पनि आफ्नो वित्तीय विवरण प्रस्तुत गरेका छन।
दुवै बाणिज्य बैंकले उल्लेख्य प्रगती गरेको विवरण प्रस्तुत गरेका छन। सानिमा बैंकले सदाझैँ यस बर्षपनि निष्क्रिय कर्जामा झन्डै निल भएको विवरण प्रस्तुत गरेर कर्जा विस्तारमा अत्यन्त सन्तुलित रहेको उदाहरण पेश गरेको छ भने ग्लोबल आइएमई बैंकले चुक्ता पुंजी वृद्धि गर्दा समेत प्रति सेयर आम्दानी १३ प्रतिशतले बढाएर पुंजी वृद्धि गर्दै गर्दा कमाई समेत बढाउँन सकिन्छ भन्ने उदाहरण दिएको छ।
पुंजीबजारमा बिशेष गरी दोस्रो बजारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्नेले कुन बैंकले कति कमायो र कति लाभांश दिन सक्छ भन्ने चाँसो राख्ने गर्दछन। यसै बिषयलाई सम्बोधन गर्ने प्रयासमा बिजपाटी डटकमले संस्थाहरुको वित्तीय विवरण बाहिर आएपश्चात उनीहरुले दिन सक्ने लाभांश क्षमताको आंकलन गर्ने अभ्यास थालेको छ।
ग्लोबल आइएमई बैंक
गत आर्थिक बर्ष २ अर्ब ३ करोड ८१ लाख खुद मुनाफा आर्जन गरेको ग्लोबल आइएमई बैंकको लाभांश क्षमता कति होला ? नेपाल राष्ट्र बैंकले दिएको समय अवधिमै ८ अर्ब चुक्ता पुंजी पुर्याएको यस बैंकसँग २४ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ यद्दपी लाभांश वितरणमा स्थिरता कायम गर्न बैंकले करिब २० प्रतिशत लाभांश दिन सक्ने आंकलन गरिएको छ।
त्यसो त बैंकले बोनस सेयर नदिएर पनि चुक्ता पुंजी ८ अर्ब पुर्याईसकेको छ तर चुक्ता पुंजी ८ अर्ब नै बैंकहरुको अन्तिम लक्ष्य होइन। भोलिका दिनमा अहिलेको ८ अर्ब चुक्ता पुंजीको सिलिङ अवश्य पनि बढाउनु पर्नेछ। तसर्थ ग्लोबल आइएमई बैंकले पनि आकर्षक बोनस सेयर र नगद लाभांश दिन सक्ने यकिन साथ भन्न सकिन्छ।
बैंकले अघिल्लो आर्थिक बर्षसंगको तुलनामा करिब ५० प्रतिशतले खुद मुनाफा बढाएर २ अर्ब ३ करोड पुर्याएको छ भने जगेडा कोषमा ४ अर्ब ९ करोड रहेको छ। त्यस्तै बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ करिब ३ करोड ४४ लाख रहेको छ भने रिलायवल डेभ्लपमेन्ट बैंकलाई किन्दा उसको स्वापबाट करिब ३३ करोड ६६ लाख प्राप्त हुनेछ।
गत आर्थिक बर्षको कमाई, जगेडा कोष रकम, अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ र रिलायबलाई किन्दा स्वापबाट प्राप्त आम्दानीलाई आधार मान्दा ग्लोबल आइएमई बैंकले करिब २४ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश) दिन सक्ने आंकलन गरिएको छ।
सानिमा बैंक
त्यस्तै गत सानिमा बैकले १६ प्रतिशत बोनस सेयर दिन सक्ने आंकलन गरिएको छ।
बैंकले अघिल्लो आर्थिक बर्षसंगको तुलनामा ३४ प्रतिशतले बढाएर १ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ भने उसको जगेडा कोषमा २ अर्ब १९ करोड रहेको छ।
साथै सानिमाको अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ करिब ७१ लाख रहेको छ भने बागमती डेभलपमेन्टलाई प्राप्ति गर्दा स्वापबाट आएको करिब ३ करोड ८६ लाख र हकप्रदमा अवितरित सेयर लिलाम मार्फत बिक्रि गर्दा प्राप्त करिब १७ करोड ३७ लाख रुपैयाँलाई आधार मान्दा सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिन सक्ने आंकलन गरिएको हो। सानिमासंग १६ प्रतिशत भन्दा बढी बोनस सेयर दिने सक्ने क्षमता भएपनि उसले अर्को बर्षका लागि संचित गर्नकै लागि यो बर्ष १६ प्रतिशत बोनस सेयर दिने आंकलन गरिएको हो।