राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १, ३, ४ र ५ को अन्तिम मतपरिणाम सार्बजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 07, 2018 | 07:42:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश १ 

प्रदेश नं १ बाट राष्ट्रियसभाका दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । 

विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आज अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वीे नेपाली काँग्रेसका विनयकुमार विश्वकर्माले दुई हजार २३२ मत प्राप्त गर्नुभएको थियो । 

अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी हुनुभयो । बान्तवाले छ हजार १३८ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली काँग्रेसका महेश जाजुले दुई हजार ८९८ मत मात्रै प्राप्त गर्नुभएको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । 

यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा (माओवादी केन्द्र) को एकजना निर्वाचित भएका छन् । 

यसअघि निर्विरोध निर्वाचित हुनुहुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी हुनुहुन्छ । त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता प्रसाईं हुनुहुन्छ । 

प्रदेश ३ 

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ३ मा आठ जना निर्वाचित हुनुभएको छ । 

निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली काँग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिनुभयो । 

उहाँको अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी हुनुभएको छ । 

त्यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा विजयी हुनुभएको छ । काँग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी हुनुभयो । प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिष्पर्धामा हुनुहुन्थ्यो । 

प्रदेश ४ 

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित हुनुभएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो । 

त्यस्तै दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित हुनुभएको छ भने अन्य समूहका तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीनानाथ शर्मा विजयी हुनुभएको छ । 

अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । आजको मतदानमा कुल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए । 

प्रदेश ५ 

 प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम घोषणा गरिएको छ । 

मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा (एमाले)का उम्मेदवार रामलखन चमार विजयी हुनुभएको छ । 

चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मैकुलाल वाल्मिकीको मतभार दुई हजार ३७० रहेको छ । त्यसैगरी, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा (माओवादी केन्द्र)का राजकुमार कुँवर विजयी हुनुभएको छ । उहाँको मतभार पाँच हजार ३४० रहेको छ भने उहाँका प्रतिद्वन्द्वी काँग्रसका लुटबहादुर खत्रीको मतभार दुई हजार ५२० रहेको छ । 

त्यसैगरी, खुल्ला तीन पदमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमालेका खिमलाल भट्टराईको मतभार तीन हजार ६, काँग्रेसका दुर्गाप्रसाद उपाध्यायको मतभार दुई हजार ४१८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्काको मतभार दुई हजार २८० रहेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो । 

तीनै उम्मेदवारले ल्याउनुपर्ने भन्दा बढी मत पाएका कारण विजयी भएको घोषणा गरिएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले एक हजार ९६१ मत ल्याउनुपर्ने थियो । तीन महिला भने यसअघि नै र्निविरोध निर्वाचित भइसकेका छन् । 

प्रदेश नं ५ मा ३०५ मतदाता रहेकामा ३०३ मत खसेको थियो । मतदानमा दुई जना अनुपस्थित रहे । रुपन्देहीबाट राष्ट्रिय जनता पार्टी नेपालबाट समानुपातिक सांसद बन्नुभएका बीना पन्त र बाँकेबाट सङ्घीय समाजवादी फोरमबाट नरैना गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह अनुपस्थित रहनुभयो । 

प्रदेश नं ५ मा प्रदेशसभाका ५५ पुरुष र महिला ३१ गरी ८६ तथा स्थानीय तहबाट ११६ पुरुष र १०१ महिला गरी २१७ जनाले मतदान गरेका थिए । 

राष्ट्रियसभा सदस्यमा विजयीलाई बिहीबार बिहान निर्वाचित भएको प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved