दशैंमा सिन्धुली जाने यात्रु लुट्दै यातायात ब्यवसायी, गुनासो सुनुवाई नहुँदा सरकार आलोचित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 16, 2018 | 08:57:34 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंको अवसरमा बढी भाडा लिनेलाई कारबाही हुने भनीएपनि मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाउने काम रोकिएको छैन। सिन्धुली हुँदै घर फर्कने यात्रुसंग मनपरी भाडा असुलेर व्यवसायीहरुले मनपरी भाडा उठाउने क्रमलाई निरन्तरता दिएका छन। 

सिन्धुली जाने यात्रुसंग व्यवसायीले मनपरि भाडा असुल्दा सरकार भने मुकदर्शक जस्तै बनेको छ। नेपाल प्रहरी, यातायात व्यवसायी लागायतले बढी भाडा लिनेलाई कारबाही हुने बताईरहंदा व्यवसायीहरुले खुलेआम ६ सय तोकिएकोमा १ हजार भन्दा बढी भाडा असुलेको पाइएको छ। 

त्यो रुटमा चल्ने अधिकांश व्यवसायीहरुले अग्रिम टिकट बुकिङ समेत गरेका छैनन। जस कारण दशैंको बिदा मनाउन घर फर्कनेहरु लुटिने क्रम बढीरहेको छ। तोकिएको भन्दा दोब्बर बढी भाडा तिर्दा समेत यात्रुहरुले सिट पाउन सकेका छैनन। बढी भाडा तिरेपनि आफुहरुलाई भेडाबाख्रा खाँदेजस्तै खाँदेर यात्रा गर्नुपरेको स्थानीयहरुले गुनासो गरेका छन।  

काठमाडौं बस्दै आएकी सिन्धुलीकी दुर्गा थापा  कोटेश्वरस्थित कमलामाई यातायात काउन्टरमा टिकट काट्न जाँदा यसै गरी ठगिइन् । उनी ३० गते घर फर्कन चाहन्थिन् । ब्यवसायीले १ हजार रुपैयाँ जम्मा गरेर जान भने । उनले टिकट मागिन् । तर ब्यवसायीले टिकट दिन नसक्ने बताए । ‘यो त ब्रम्हलुटै भयो,’ उनले भनिन्, ‘अहिलेसम्म मैले यस्तो मन परी देखेको थिइन । स्थिर सरकार आएका बेला ब्यवसायीले ब्रम्हलुट मच्चाएको टुलुटुलु हेरेर बस्नु परेको छ ।’ उनले सिन्धुलीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव र यातायात ब्यवसायी संघका अध्यक्ष गणेश पाण्डेलाई समेत गुनासो गरेको तर सुनुवाइ नभएको बताइन् ।

तीनकुनेस्थित हिलटप जुनार सहकारीका प्रबन्ध संचालक सुमनबिक्रम थापाले पनि घर फर्कन टिकट पाएनन् । उनलाई पनि चाबहिलस्थित काबेली डिलक्सको काउन्टरका कर्मचारीले १ हजार रुपैयाँ तिरे सिन्धुलीसम्म लगिदिने बताए । ‘यो त सरासर लुट हो,’ उनले भने, ‘सरकारले सिन्डिकेट हटाएको सुन्दा खुशी लागेको थियो । अहिले आफैंले महासिन्डिकेट भोग्नु पर्यो । पहिलो पटक सरकार नभएको अनुभूति भयो ।’  

यातायात ब्यवसायीले गरेको मनोमानी सुनेर सम्बाददाता चावहिलस्थित काबेली डिलक्सको काउन्टरमा टिकट लिन पुगेको थिए। त्यहाँका कर्मचारीले सोमबारको गाडीमा सिन्धुली जान १ हजार रुपैयाँ जम्मा गर्न भने । टिकट माग्दा उनले दिन नसक्ने बतए । ‘हामीले १ हजार रुपैयाँको टिकट दिए प्रहरीले थुनि हाल्छ नि,’ उनले भने, ‘टिकट नकाटी लैजान्छौं । सबै काउन्टरले त्यसै गरेका छन् ।’ उनले सबै सवारी साधनका धनीले टिकट नकाट्न भनेको बताए । 

ब्यवसायीको मनपरी बारे सिन्धुलीका एसपी रामेश्वर यादवलाई जानकारी गराउँदा उनले काठमाडौबाट फर्कने सवारी साधनले मनपरी गरेकाले काठमाडौंकै प्रहरीलाई गुनासो गर्न भने । ‘सिन्धुलीबाट जाने सवारी साधनले बढी भाडा लिएको भए म काराबाही गर्ने थिएँ,’ उनले भने, काठमाडौंमा त्यहीँको प्रहरीले कारबाही गर्छ ।’

दशैंका मुखमा यात्रु ठग्ने ब्यवसायीलाई सरकारले कारबाही गर्न नसकेकोमा यात्रु धेरै आक्रोशित देखिन्थे । सिन्धुलीका लागि टिकट लिन चाबहिल पुगेका एक यात्रुले काउन्टरमा १ हजार रुपैयाँ भाडा मागिएपछि आक्रोशित हुँदै भने, ‘दशैं यात्रु लुट्ने सिजन हो ? अरु बेला ६ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा १ हजार रुपैयाँ किन तिर्ने ?’ उनले मुलुकमा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे, ‘सरकारले सिन्डीकेट हटाएको हो कि थपेको हो ? 

यात्रुले सबै काउन्टरमा छापा मारेर ब्यवसायीको मनोमानीविरुद्ध ठूलै एक्सन लिनु पर्ने बताएका छन् । ‘सिन्धुली जाने हरेक सवारी साधनमा छापा मारेर यात्रुसँग टिकट माग्नु पर्छ,’ एक यात्रुले आक्रोसित हुँदै भने, ‘टिकट नभेटे तिनीहरुको रुट परमिट खारेज गरेर काराबाही गर्नु पर्छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved