बाढीले पोल बगाउँदा २ जिल्ला अन्धकार

रासस

रासस

Jul 13, 2019 | 08:00:45 PM मा प्रकाशित

laxmi  sunrise bank

भारी वर्षापछि आएको बाढीले पोल बगाउँदा खोटाङ र ओखलढुङ्गामा विद्युत् सेवा अवरुद्ध भएको छ । लगातारको वर्षापछि उदयपुरको त्रियुगा खोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को पोल बगाउँदा गएरातिदेखि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो ।

विद्युत् अवरुद्ध हुँदा खोटाङको दुई नगरपालिका र आठ गाउँपालिका तथा ओखलढुङ्गाको एक नगरपालिका र सात गाउँपालिकाका हजारौँ उपभोक्ता मारमा परेका छन् । विद्युत् अवरुद्ध भएपछि दुवै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार÷व्यवसाय तथा बैंक तथा वित्तीय कारोवार प्रभावित भएको छ ।

विद्युत् अवरुद्ध भएपछि जेनेरेटरको भरमा रेडियो सञ्चालन गर्नुपर्ने बाध्यता रहेको भिजन एफ.एम. ओखलढुङ्गाका स्टेशन मेनेजर पूर्णप्रसाद न्यौपानेले बताए । “रेडियो बजाउन गए रातिदेखि निरन्तर जेनेरेटर चलाइरहेका छौँ”, उनले भने , “पेट्रोल खरीद गरेर जेनेरेटर चलाउँदा खर्च धान्ने अवस्था छैन ।”

त्रियुगा खोलामा आएको बाढीको बहाब अहिलेसम्म नघटेका कारण अर्को पोल राख्नमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए । “खोलामा आएको बाढीको बहाब नघटेसम्म अर्को पोल राख्न सकिने अवस्था छैन”, उनले भने, “जिल्लाबाट प्राविधिक टोली खटाइएको छ । खोलामा बाढीको बहाब घट्ने सम्भावना देखिएको छैन । अवरुद्ध विद्युत् सञ्चालन गराउन समय लाग्ने देखिन्छ ।”

चार दिनदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा खोटाङको नुनथलामा पाँच, सिम्पानीमा दुई र सावाखोलामा पाँच वटा पोल पुरिएको जनाइएको छ । जिल्लाको लेक्पा, छोरम्बु, चिप्रिङ लगायतका ठाउँमा समेत पोल ढालेको जानकारी आएपनि विस्तृत विवरण आउन बाँकी रहेको प्रमुख यादवले जानकारी दिए ।

खोटाङ र ओखलढुङ्गामा बुइपास्थित पञ्चदोबाटोमा रहेको सवस्टेशनमार्फत विद्युत् विस्तार गरिएको छ । खोटाङ र ओखलढुङ्गामा विस्तार गरिएको विद्युत् लाइन लामो दुरीमा रहेकाले पनि पटक–पटक अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ ।

विद्युत् लाइन विस्तार गरिएको बाटोमा त्रियुगा खोलासँगै ठाउँ–ठाउँमा घना जङ्गल रहेको छ । जङ्गलको बीचमा पोल गाडेर विद्युत् लाइन विस्तार गरिएकाले हावा चल्दा तथा ठूलो पानी पर्दा पनि दुई जिल्लामा विद्युत् अवरुद्ध हुने गरेको छ ।

पटक–पटक अवरुद्ध हुँदै आएको विद्युत्को दीर्घकालीन समस्या समाधानतर्फ कसैको ध्यान नगएको प्रति उपभोक्ता आक्राशित बनेका छन् । यसअघि विस्तार गरिएको ११ केभी प्रसारण लाइनको पोल तथा तारमा ३३ केभी थपिएकाले पनि समस्या भएको हो ।

३३ केभी प्रसारण लाइनको विद्युत् विस्तारको जिम्मा लिने ठेकेदार कम्पनीको लावरवाहीका कारण यस्तो समस्या आएको उद्योग वाणिज्य सङ्घ खोटाङका पूर्वअध्यक्ष राजेन्द्र लयालुले बताए । “ठेकेदारको लापरवाहीका कारण कतिपय ठाउँमा गाडिएको विद्युत्को पोल बाङ्गिएको छ भने कतिपय ठाउँमा टाँगिएको तारले भुइँ छुन लागेको छ”, उनले भने , “यसको दीर्घकालीन समस्या समाधानमा सम्बन्धित निकायले ध्यान नदिने हो भने जिल्लामा ठूलो दुर्घटना हुने सम्भावना देखिन्छ ।”

पटक–पटक अवरुद्ध भइरहने विद्युत् मर्मत गर्नेक्रममा दुई जना कर्मचारीको मृत्यु भइसकेको छ भने एक जना अङ्गभङ्ग भएका छन् । अङ्गभङ्ग हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गानाको दुई हात र एउटा खुट्टा गुमेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved