क्रिकेट रंगशाला बनाउन हालसम्म कति उठ्यो रकम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2019 | 07:53:00 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म पाँच करोड ५० लाख सङ्कलन भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस”ले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिएका हुन । 

धुर्मुस–सुन्तली फाउण्डेशनले सो रङ्गशालाका लागि तीन अर्ब लाग्ने जनाएको छ । रङ्गशाला निर्माणका लागि आफूहरुले सबैलाई सहयोगको आह्वान गरेको उनले जानकारी दिए । चितवनवासीले अपनत्व महसुस गरेर सबै नेपालीलाई पनि अपनत्व महसुस गराउन सके रङ्गशाला तोकिएको समय अघि नै सम्पन्न हुने उनले बताए । “रकम सङ्कलन गर्न विदेशमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उनले भने । 

रङ्गशाला निर्माण सहयोगार्थ मलेशियामा कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उनले आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको बताए । आर्थिक सङ्कलनका लागि जिल्ला जिल्लामा समिति गठन भइरहेको छ । अध्यक्ष कट्टेलले हरेक टोल टोलबाट सहयोग आउने क्रम जारी रहेको बताए। समाज सेवाका लागि आफूहरुले अन्तिम पटक सबैसँग गुहार मागी रहेको बताउँदै उहाँले यसपछि यही कामबाट अन्य काम गर्ने बताए  । 

अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिने छ । “विषय विज्ञसँग छलफल भइरहेको छ, रङ्गशाला निर्माणका लागि उपलब्ध २० बिघा ६ कट्ठा जग्गाको संरक्षण गर्ने काम पनि भइरहेको छ”, उनले भने । रङ्गशालालाई खेलकूद एकेडेमीका रुपमा विकास गर्ने गरी आफूहरु लागि परेको उनको भनाइ थियो । नेपाली कामदारको प्रयोग गरी रङ्गशाला निर्माण गर्ने योजना रहेको कट्टेलले बताए । एक महीना अघि भरतपुर महानगरपालिकासँग क्रिकेट रङ्गशला निर्माणका लागि धुर्मुस– सुन्तली फाउण्डेशनसँग जग्गा सम्झौता भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved