19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




निरोज कुमार थापा

Follow me on

सैलुङ : प्राकृतिक सुन्दरता, धार्मिक विविधता र जडिबुटीको खानी

Posted on:October 11, 2018

citizen bank

अहिले नेपालमा पर्यटन उद्योग फस्टाउँदो क्रममा छ । २०७२ साल बैशाखको भूकम्पले थिलथिलो भएको नेपालको पर्यटन उद्योग अहिले विस्तारै पूर्ववत् अवस्थामा फर्किन खोज्दै छ । सरकारले पर्यटन उद्योगलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको छ । भने जस्तै गरी परिणाम देखाउन सरकारले सन् २०२० लाई भिजिट नेपालका रुपमा मनाउने पनि घोषणा गरिसकेको छ । 

आन्तरिक तथा बाह्य पर्यटनले नेपालको पर्यटन उद्योगमा अहिले टेवा पुगेको छ । नेपालका पर्यटकीय गन्तव्यहरुले आन्तरिक पर्यटकले मात्रै नभई विदेशीले पनि अवलोकन गर्ने गरेका छन् । फुर्सद भएका र केही रकम खर्च गर्ने क्षमता भएका नेपालीहरु घुम्नको लागी विदेश पनि जाने गर्छन् । तर थोरै खर्चमा धेरै रमाइलो हुने र प्रकृति तथा विभिन्न क्षेत्रको रहनसहनबारे जानकार पनि हुन चाहाने भने नेपालकै विभन्न ठाउँमा घुम्छन् । 

नेपालको सुन्दर ठाउँहरु हेर्न विदेशीसँगै लाठी टेकेर नेपाली पनि घुम्न जाने गरेका छन् । पदयात्रामा नेपालीहरु धेरै जाने गरेका छन् । नेपालको पदयात्राका मुख्य गन्तव्यहरु एभरेष्ट, लाङटाङ, मनास्लु आदि हुन् । तर प्रचार प्रसारको अभावमा निकै लोभलाग्दा गन्तव्य पनि पछाडी परेका छन् । नेपालमा त्यस्ता धेरै प्राकृतिक सौन्दर्ययुक्त स्थानहरु छन् । 

लागियो रामेछापको सैलुङ तिर 

नेपाल प्रकृतिको अनुपम बरदान पाएको मूलुक हो । भन्नेहरुले त प्रकृतिले सबै उपहार नेपालमै खन्याएछ पनि भन्छन् । नेपालका घुम्न लाएक ठाउँहरु, जसलाई भू–स्वर्गको उपनाम पनि दिईन्छ । यस्तै मध्येको एउटा टुक्रा हो, ३ हजार १४५ मिटरको उचाईमा रहेको रामेछाप र दोलखाको बीचमा पर्ने सैलुङ । 

सैलुङ मनोरम पर्यटकीय स्थल हो । सिन्धुलीको जिल्लाको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । अनि सुरु हुन्छ सैलुङ यात्रा । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । खोलाखर्कमा होमस्टेहरु सञ्चालनमा छन्, त्यसैले बस्नको दुख हुँदैन । रामेछापको सदरमुकाम मन्थली हुँदैपनि सैलुङ पुग्न सकिन्छ । मन्थलीबाट मन्थली–गाल्वा हुँदै सैलुङ जान सकिन्छ । हिउँद महिनामा सैलुङसम्म नै गाडी पुग्छ तर वर्षामा भने दोरम्बाबाट हिँड्नु पर्छ । 

बाटाभरी मन्दिरै मन्दिर 

सैलुङ जाँदा सैलुङ सहित ५ वटा तीर्थस्थलको दर्शन गर्न पाइन्छ । काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा सिन्धुली दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने दुम्जाको कुशेश्वर महादेवको सुरुमानै दर्शन गरेपछि सैलुङको यात्रा सुरु हुन्छ । त्यसपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको दर्शन गर्दै राजभिर पुगिन्छ ।

राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ । 

जडिबुटीको खानी : सैलुङ

सैलुङ जडिबुटीको पनि खानी हो । विभिन्न जातका जडिबुटीहरु सैलुङको जंगलमा पाइन्छन् । सैलुङमा पुगेपछि हिमाली भेगको आभाष दिलाउने र हिमालका मुख्य गहना मानिने चौंरी अर्का विशेषता हुन् । चौँरी हेर्न मात्र नभई तीनको दूधबाट बनेका विभिन्न परिकारको स्वाद लिन पनि पाईन्छ । 

चौंरीको दूध, दही, मोहीका साथै नौनी, घ्यू र दूधबाट बनेको छुर्पीको स्वाद लिन पाइन्छ । हिमाली जडिबुटी खाएको चौरीका दुधबाट बनेका परिकार खाँदा स्वस्थ भईन्छ भन्ने डाक्टरहरुको पनि सल्लाह छ । सैलुङ क्षेत्र जडिबुटीका विषयमा अध्ययन र अनुसन्धान गर्ने अनुसन्धान कर्ताको लागी एउटा विद्यालय जस्तै हो । जहाँ पाईने सयौ किसिमका जडिबुटीका विषयमा अध्ययन अनुसन्धान गर्न सकिन्छ । 

किन घुम्ने सैलुङ ?

पूर्व सांसद तथा नेकपाका केन्द्रिय सदस्य एवं रामेछापको माटो, पाखो र जंगलसँग भिजेका व्यक्ति देवशङकर पौडेलले आफ्नो पुस्तकमा पनि सैलुङको बारेमा केही चर्चा गरेका छन् । उनका अनुसार सैलुङ शब्दको अर्थ सय लुङ अर्थात सयवटा थुम्का हो । प्राकृतिक रुपमा निर्मित सयवटा थुम्काबाट सैलुङ नाम रहन गएको हो । सयवटा थुम्का भएकै कारण यसलाई सैलुङ भनिएको पौडल बताउँछन् । 

सैलुङमा चिसो मौसमा हिउँ पर्छ । हिउँदमा सैलुङका डाँडाहरु सेताम्मे हुन्छन् । रामेछापको दक्षिणी भेगका मानिसहरुका आँखा बिहान उठ्नासाथ सैलुङ तिर पर्छ । हिउँले ढाकेका डाँडा देखेपछि आज सैलुङमा हिउँ परेछ भन्छन् । 

धार्मिक हिसाबले पनि सैलुङ हिन्दु र बौद्ध धर्मालाम्बीहरुको संगमस्थल हो । हिन्दुहरु यस सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् ।


सैलुङमा बुद्धले आएर तपस्या गरेको भन्ने बुद्धमार्गीको विश्वास छ । सैलुङको डाँडोमा बुद्धले टेकको ढुङ्गामा बुद्धको पाइलाको छाप छ भन्ने विश्वासका साथ वौद्धमार्गीहरु पूजा गर्छन् । त्यस्तै डाँडामा आन्तिम संस्कार गर्दा मोक्ष प्राप्ति हुने पनि वौद्धधर्मालम्बिहरुको विश्वास छ । त्यसैले पनि सैलुङ हिन्दु र बौद्ध धर्मालाम्बीहरुको संगमस्थल हो भन्ने कुरा पुष्टि गर्छ । 

रामेछाप र दोलखाको सिमानामा रहेको सैलुङमा सबै जातजाती र समुदायका मानिसहरु बसोबास गर्छन् । तामाङ जातिको बाहुल्यता रहे पनि मगर, बाहुन, क्षेत्री, नेवार, शेर्पा लगायतका जातजातिहरूको बसोबास छ सैलुङमा । त्यहाँ पुगेपछि तामाङ जातिको संस्कार, संस्कृति एवं सामाजिक चालचलनको राम्रो अध्ययन गर्न पाइन्छ । अन्य जातीय समुदाय पनि कसरी मिलिजुली रहेका छन् भन्ने समाजशास्त्रीय दृष्टिले अध्ययन गर्न लायकको पनि ठाउँ पनि सैलुङ क्षेत्र बनेको छ । यसरी समाजको अध्ययन गर्दै गरेकाहरुका लागी सैलुङ खुला विश्वविद्यालय नै हो । 

सैलुङबाट उत्तर तिर दन्त लहर मिलाएर लहरै उभिएका हिमालहरु : सगरमाथा, गौरीशंकर प्रष्ट देखिन्छ । ती हिमशृङ्खलाहरु सैलुङबाट अवलोकन गर्दा आफैँ त्यहाँ पुगेको अनुभूति गर्न सकिन्छ । त्यति मात्र नभई दक्षिणमा महाभारत पर्वत श्रृंखलाको दृश्य पनि छर्लङ्ग देखिन्छ । सैलुङबाट चुरे पर्वत, हिमालको दृश्य र काठमाडौँको समेत केही केही ठाउँ देख्न सकिन्छ । 


विश्व पर्यटन दिवसको अवसरमा रामेछापको दोरम्बा पर्यटकीय स्थलको रुपमा घोषित भएको छ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोरम्बालाई युद्ध पर्यटनको रुपमा विकास गरिने बताएका थिए । त्यस लगत्तै सरकारले पर्यटकीय स्थलका रुपमा घोषणा गरेको छ । सैलुङको प्रचुर सम्भावनालाई लिएर सरकारले घोषणा गरेको यो कदमले समग्र दोरम्बाको विकासमा टेवा पुग्ने त्यस क्षेत्रका मानिसहरुको विश्वास छ । 

सैलुङलाई अझ प्रचारमा ल्याएर आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन सके यसले नेपालको पर्यटन उद्योगमा अझ बढी टेवा दिन सक्छ । यसको प्रचारमा स्थानीय सरकार, स्थानीय बासिन्दा तथा लाभ हुने जति सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।

Share your thoughts!

Loading...

Trending