पर्यटन बोर्डको कुल बजेटमध्ये ६ प्रतिशत पूर्वाधारमा, कुन जिल्लामा कति ? (सूचि सहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 24, 2018 | 05:06:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७५/७६ का लागी बजेट विनियोजन गरेको छ । बोर्डले एकमहिना अघि १ अर्ब ७५ करोड बजेट विनियोजन गरेको थियो । पर्यटन बोर्डले सातै प्रदेशका विभिन्न जिल्लामा पर्यटकीय पूर्वाधार निर्माण शीर्षकमा बजेट छुट्याएको छ ।
प्रदेश नम्बर १
प्रदेश नम्बर १ को लागी बोर्डले १ करोड ११ लाख बजेट विनियोजन गरेको छ ।
ताप्लेजुङ्ग पाथीभरा क्षेत्र पर्यटन पूर्वाधार निर्माण (साईनेज तथा आराम बेञ्च) का लागी १० लाख, झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग पदमार्ग पहिचान, विकास तथा साइनेजहरु स्थापना (केचनादेखि कंचनाजंघा अभियान) र इलामको जिरी थुम्की लगायतका क्षेत्रको धार्मिक पर्यटन पूर्वाधारमा सहयोग २५ लाख बजेट बोर्डले छुट्याएको छ । तेह्रथुम, संखुवासभा टुटे देउरालीदेखि पाँचपोखरी, चौकीबजार, मंगलबारे बजार लामपोखरी हुँदै गुफापोखरी जाने पदमार्गमा विश्रामस्थल तथा साईनेजहरु निर्माण १५ लाख रकम छ्ट्याईएको बोर्डले जनाएको छ ।
सुनसरीको बुढासुब्बा क्षेत्र धार्मिक पर्यटन पूर्वाधार निर्माणका लागी पूरातत्व विभागसँग सहकार्य गर्ने गरी १० लाख र कोशी टप्पु क्षेत्रमा विश्रामस्थल (सेड) निर्माण गर्न ५ लाख बजेट छुट्याएको छ ।
झापाको विश्रामस्थल तथा साईनेजहरु निर्माण, गौरादहका लागी ७ लाख र झापाकै अर्जुनधारा नगरपालिका ९ स्थित सुखानी शहिद स्मृति उद्यान पूर्वाधार विकासका लागी विगत कार्यक्रमकै निरन्तरता स्वरुप १५ लाख बजेट बोर्डले छुट्याएको छ । खोटाङ्गको हलेसी महादेव मन्दिर परिसर पर्यटन पूर्वाधार निर्माणका लागी ७ लाख, उदयपुरको रौतापोखरी क्षेत्रमा विश्रामस्थल तथा साईनेजहरु निर्माण गर्न ७ लाख र भोजपुरको चखेवादेखि मैयुम डाँडासम्मको पदमार्गमा विश्रामस्थल निर्माण तथा साईनेजहरु स्थापना गर्न १० लाख गरी प्रदेश नम्बर १ को लागी १ करोड ११ लाख बजेट विनियोजन गरेको बोर्डले जनाएको छ ।
प्रदेश नम्बर २
पर्यटन बोर्डले २ नम्बर प्रदेशको लागी १ करोड ८७ लाख बजेट छुट्याएको छ । बोर्डले २ नम्बर प्रदेशको सप्तरी जिल्लामा मात्रै ४८ लाख बजेट विनियोजन गरेको छ । सप्तरीको चेन्जिंग रुम निर्माण, साईनेजहरु स्थापना, छिन्नमस्ता मन्दिर (सखडादेवी मन्दिर) को लागी २२ लाख, डल्फिन दृश्यावलोकन केन्द्र निर्माण, सप्तकोशी व्यारेजका लागी ५ लाख, भगवती मन्दिर पर्यटन पूर्वाधार निर्माण, राजविराज नगरपालिका १३, बिसहरिया पूर्वटोलका लागी ५ लाख र तिलाठी गाउँपालिका १ मा सूचना बोर्ड स्थापनाका लागी ३ लाख रकम बोर्डले दिएको छ । छठघाट पूर्वाधार निर्माण, लप्कीपोखरीका लागी १० लाख र लोहजरामा साईनेज स्थापनाका लागी ३ लाख बजेट बोर्डले छुट्याएको छ ।
सिरहाको बाबाताल आरती पर्र्र्यटकीय पूर्वाधार निर्माणका लागी विगत कार्यक्रमको निरन्तरतामा १० लाख र धनुषाको मिथिला एण्ड क्राफ्ट ओपन लाईभ म्युजियमका लागी १३ लाख रकम बोर्डले दिएको छ । महोत्तरीको रामजानकी परिकर्मा मार्गको भार्गव ऋषि
आश्रममा रात्री विश्राम पूर्वाधार निर्माण गर्न २७ लाख, सर्लाहीको नारिमैन तालमा पूर्वाधार निर्माण गर्न ५ लाख र गढिमाई पर्यटन पूर्वाधार निर्माण गर्न ४ लाख बजेट विनियोजन गरेको छ ।
रौतहटको गरुडा नगरपालिकास्थित शिवनगर मन्दिरमा चेन्जिंग रुम निर्माण गर्न १८ लाख, माधवनारायाण नगरपालिका ३, गजेन्द्रनगरमा पार्क पूर्वाधार निर्माण गर्न ५ लाख, गुजरा नगरपालिका ३ मा थारु होमस्टे पूर्वाधार निर्माणका लागी ४ लाख, गोनाही गाउँपालिकामा मधेसी साँस्कृतिक संग्रहालय पूर्वाधार निर्माण गर्न ७ लाख बजेट छुट्याएको छ ।
बाराको कलैयादेखि गढिमाई मन्दिरसम्म साईनेज स्थापना गर्न ३ लाख, निजगढ नगरपालिकामा पार्क पूर्वाधार निर्माणमा सहकार्यका लागी ५ लाख, जितपुर सिमरा उप–महानगरपालिका १४ स्थित हलखोरिया दह संरक्षणका लागी ३ लाख र सिम्रौनगढ क्षेत्र पर्यटन पूर्वाधार निर्माणका लागी १८ लाख बजेट बोर्डले विनियोजन गरेको छ ।
बिरगञ्ज नाकामा सचित्र सूचनामूलक होर्डिंग बोर्ड निर्माण गर्न ७ लाख र पर्साको ठोरी गाउँपालिका ५, सुवर्णपुरमा साँस्कृतिक भवन निर्माणका लागी १० लाख गरी बोर्डले यस आर्थिक वर्षमा २ नम्बर प्रदेशका लागी १ करोड ८७ लाख बजेट छुट्याएको छ ।
प्रदेश नम्बर ३
बोर्डले ३ नम्बर प्रदेशमा ३ करोड ३३ लाख बजेट छुट्याएको छ । बोर्डले रामेछापको राम्चे (सुनापती गाउँपालिका २) देखी दोरम्बासम्म पदमार्ग निर्माण गर्न ७ लाख र रामेछाप नगरपालिका ८ स्थित डुकुरसिंह क्षेत्र पर्यटन पूर्वाधार निर्माणका लागी विगत कार्यक्रमकै निरन्तरतामा ५ लाख बजेट छुट्याएको छ ।
सिन्धुलीगढी क्षेत्र पर्यटन पूर्वाधार निर्माणका लागी ७ लाख र दोलखाको बिगु गुुम्बा क्षेत्र पर्यटन पूर्वाधार निर्माणका लागी १० लाख बजेट विनियोजन गरेको छ । रसुवाको जिबजिबे–मानेस्वारा–लोकिल हुँदै गोसाँईकुण्डमा पदमार्ग निर्माण गर्न विगत कार्यक्रमको निरन्तरतामा १५ लाख र धुञ्चे र स्याफ्रुबेशीदेखि शुरु हुने तामांग हेरिटेज पदमार्ग तथा लांगटांग केञ्जिंग
गुम्बा र गोसाईकुण्डसम्मका पदयात्रामार्गहरुमा साइनेजहरुको स्थापना गर्न १५ लाख बजेट बोर्डले विनियोजन गरेको छ ।
धादिङको निलकण्ठ नगरपालिकास्थित चमेरोेगुफा ज्यामरुङ पदमार्ग निर्माण गर्न १० लाख, निलकण्ठ नपा–१४, धुवाँकोट स्थित तामाङ्ग संग्राहलय निर्माणका लागी ५ लाख रकम विनियोजन बोर्डले गरेको छ । धादिङकै त्रिपुरासुन्दरी गाउपालिका मुर्चोकस्थित निशाानदेवी मन्दिर पूर्वाधार निर्माणका लागी १० लाख रुबीभ्याली क्षेत्र पर्यटन पूर्वाधार निर्माणका लागी ५ लाख बजेट छुट्याएको छ ।
बोर्डले ट्रेल अडिट प्रतिवेदनको आधारमा सिन्धुपाल्चोकको सुन्दरीजल–सेर्माथाङ–हेलम्बु सर्किटमा साइनेजहरुको स्थापना गर्न ८ लाख र हेलम्बु–पाँचपोखरी–च्योचोडाँडा–नवलपुर सर्किटमा साइनेजहरुको स्थापना गर्न ७ लाख बजेट विनियोजन गरेको छ ।
नुवाकोटको तादीमा कम्युनिटी लज पूर्वाधार बनाउन ३० लाख, बेलकोटगढी नगरपालिकामा चिम्टेश्वर क्षेत्र पर्यटन पूर्वाधार विकासको लागी १० लाख र कपिलेश्वर महादेवफेदीमा पर्यटक विश्रामस्थल बनाउन २० लाख बजेट छुट्याईएको बोर्डले जनाएको छ ।
काभ्रेको तिमालमा पर्यटक स्मारक पार्क बनाउन १० लाख, पाँचखाल गुरुकुल पूर्वाधार निर्माणका लागी ५ लाख र धुलिखेल नगरपालिका ११ स्थित दृश्यावलोकन केन्द्र बनाउन १० लाख रकम विनियोजन भएको छ ।
काठमाडौँको कीर्तिपुर नगरपालिकासँग सहकार्य गर्ने गरी नाट्यशाला परियोजना निर्माण गर्न १० लाख, टोखा बजारदेखि चण्डेश्वरी–शिवपुरी हुँदै बुढानिलकण्ठसम्म साईकिलिङ रुट बनाउन १० लाख, नागार्जुन नगरपालिकाको भैरबी मन्दिरदेखि स्वीट्जरल्याण्ड पार्कसम्म पदमार्ग निर्माण गर्न १० लाख र चन्द्रगिरी नगरपालिकास्थित सहिद स्मारक प्रकृति प्रतिष्ठान
(त्रिभुवन पार्क) सौन्दर्यीकरणका लागी ७ लाख बजेट छुट्याईएको पर्यटन बोर्डले जनाएको छ ।
भक्तपूरको सन्ध्याकालीन सम्पदा भ्रमणमार्ग पहिचान तथा प्रवद्र्धन गर्न ७ लाख र ठिमि नगरपालिकासँग सहकार्य गर्ने गरी ह्याण्डीक्राफ्ट ओपन लाईभ म्यूजियमको प्रवद्र्धन गर्न ७ लाख बजेट बोर्डले छुट्याएको छ ।
ललितपूरको पूल्चोकी–गोदावरी–विशंखुनारायण जोड्ने पदमार्गमा साईनेज स्थापना गर्न ५ लाख, वाःहा वही वौद्ध परिपथ पहिचान तथा प्रवद्र्धनका लागी ७ लाख, बोकेदह क्षेत्रमा पर्र्यटन पूर्वाधार निर्माण गर्न १० लाख र लाकुरीभञ्ज्यांग कुशादेवी (काभ्रे) साईकिलिंग ट्रयाक निर्माण गर्न ७ लाख बजेट विनियोजन भएको छ ।
चितवनको रत्ननगर नगरपालिकास्थित सौराहा प्रवेशद्वार निर्माण गर्न १० लाख, भिजिटर सेन्टरको स्तरोन्नती तथा सौन्दर्यीकरण गर्न १० लाख, थारु साँस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रका लागी ५ लाख बजेट बोर्डले विनियोजन गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषसँगकोे सहकार्यमा वन्यजन्तु ओखेटोपहार प्रदर्शनी तथा सूचना केन्द्रको स्तरोन्नति गर्न ५ लाख, बिसहजारी ताल पर्यटन पूर्वाधार निर्माण गर्न ७ लाख र सौराहामा दृश्यावलालोकन पूर्वाधार निर्माण, भिजिटर सेन्टर परिसर निर्माण गर्न २० लाख रकम विनियोजन भएको छ । चितवनकौ कालिका नगरपालिका स्थित सिन्ती झरना पर्यटन पूर्वाधार निर्माणका लागी ७ लाख बजेट छुट्याईएको छ ।
प्रदेश नम्बर ५
नेपाल पर्यटन बोर्डले ५ नम्बर प्रदेशका लागी चालु आर्थिक वर्षमा २ करोड १० लाख बजेट विनियोजन गरेको छ । बोर्डले लुम्बिनी क्षेत्र तिलौराकोट, रामग्राम, रोहिणीनदी तट र देवदहमा विश्रामस्थल, धार्मिक चिन्हहरु झल्किने साईनेजहरु स्थापना गर्न १५ लाख बजेट छुट्याएको छ ।
पाल्पाको रामपुर नगरपालिका स्थित शालिग्राम संग्रहालय पूर्वाधार निर्माणमा ५ लाख र तानसेन बजार क्षेत्रमा साईनेज तथा सौन्दर्यीकरण गर्न १० लाख बजेट विनियोजन भएको छ । अर्घाखाँचीको माचपानीपोखरी पर्यटन पूर्वाधार निर्माण गर्न ५ लाख, नरसिंहथान पर्यटन पूर्वाधार निर्माण गर्न ५ लाख र मालारानी क्षेत्र पर्यटन पूर्वाधार निर्माण गर्न ५ लाख बजेट छुट्याईएको छ ।
गुल्मीको रुरुक्षेत्र पर्यटन पूर्वाधार निर्माण तथा साईनेजहरु स्थापना गर्न १० लाख र कंकेदेउराली पर्यटन पूर्वाधार निर्माणमा ५ लाख बजेट रकम छुट्याईएको छ । प्युठानको धरमपानी–स्वर्गद्घारी पदमार्ग पूर्वाधार निर्माण गर्न २५ लाख, झिमरुक गाउपालिकास्थित कम्युनिटी लज निर्माण गर्न ५ लाख बजेट छुट्याईएको छ । झिमरुककै वराहमष्टादेवी मन्दिरमा पूूर्वाधार निर्माण गर्न ७ लाख रकम छुट्याईएको छ ।
दाङको घोराही उप–महानगरपालिका १२ स्थित पर्यटक विश्रामस्थल बनाउन ७ लाख, र तुल्सीपुर उप–महानगरपालिका ७ स्थित राप्ती शान्ती उद्यानका लागी ७ लाख बजेट छुट्याईएको छ ।
पूर्वी रुकुममा जनयुद्ध संग्रहालय पूर्वाधार निर्माण गर्न १४ लाख, रुकुमकोट, सिस्नेमा युद्ध स्मारक पार्क बनाउन ५ लाख, पुथा–उत्तरगंगा गाउँपालिकास्थित मगर खाम साँस्कृतिक केन्द्रका लागी ५ लाख र गुरिल्ला पदमार्गमा साईनेज स्थापना गर्न ७ लाख बजेट विनियोजन गरिएको छ ।
रोल्पाको टुँडिखेल ग्रीन पार्कका लागी १० लाख, गरिबारे गढी संरक्षणका लागी ५ लाख र जलजला क्षेत्रमा साईनेजको स्थापना गर्न ५ लाख रकम छुट्याईएको छ ।
बाँकेको जमुनाहा नाकामा सूचनामूलक होर्डिङ बोर्ड स्थापना गर्न १० लाख र बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली होमस्टे सामुदायिक भवन पूर्वाधार निर्माणका लागी ७ लाख रकम विनियोजन भएको छ ।
बर्दियाको श्री ऊँ केदारेश्वरधामका लागी १० लाख र सतखोलुवा ताल क्षेत्रमा मचान निर्माणका लागी १० लाख बजेट छुट्याईएको बोर्डले जनाएको छ । वारवर्दिया नगरपालिका ३ बेलवा वज्जामा थारु मरुवा निर्माण गर्न ५ लाख, ठाकुरद्वारा क्षेत्र पर्यटन पूर्वाधार निर्माणका लागी १० लाख र कृष्णसार संरक्षण क्षेत्र पर्यटन पूर्वाधार निर्माणका लागी ५ लाख रकम छुट्याईएको छ ।
कर्णाली प्रदेश
पर्यटन बोर्डले कर्णाली प्रदेशका लागी पर्यटकीय पूर्वाधार निर्माणका लागी १ करोड ७३ लाख बजेट छुट्याएको छ । मुगुको रारा–खप्तड पदमार्गको स्तरोन्नती तथा राराताल, मुर्मा, बाउपानी, सिरकोट, रातापानी, भंmुगलामा साईनेज स्थापना गर्न २० लाख रकम विनियोजन भएको छ । छाँयानाथ रारा नगरपालिका ९ स्थित रारा–खप्तड पदयात्रामार्गको जेउडेमा पर्यटक विश्रामस्थल बनाउन ७ लाख र छायाँनाथ रारा नगरको ९ नम्बर वडाकै मुर्मा गाउँ पर्यटकीय पूर्वाधार विकासका लागी १० लाख बजेट बोर्डले छुट्याएको छ ।
दैलेखको पञ्चकोशी र दुल्लुमा साइनेज तथा सूचना बोर्ड स्थापना गर्न १५ लाख र दैलेख बजारदेखि पञ्चदेवल जाने पर्यटनमार्गको स्तरोन्नती गर्न २० लाख बजेट विनियोजन भएको छ । जुम्लाको चन्दननाथ नगरपालिकास्थित डुडुल चैत्य पूर्वाधार निर्माण गर्न २० लाख र कालिकोटको रास्कोट नगरपालिका ४ स्थित शिवनाथ मन्दिर पूर्वात्रार निर्माणमा ५ लाख रकम छुट्याईएको बोर्डले जनाएको छ ।
कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेतको बीरेन्द्रनगरमा पर्यटन सूचना केन्द्र स्थापनाका लागी बोर्डले ७ लाख रकम विनियोजन गरेको छ । हुम्लाको सिमिकोटमा पर्यटन सूचनाकेन्द्र तथा शौचालय निर्माण गर्न १० लाख र सिमिकोट–खगालगाउँ–यलवाङ–केर्मी–हाल्जी–जाम पदमार्ग पूर्वाधार निर्माणमा १५ लाख रकम विनियोजन भएको छ ।
डोल्पाको खामीदेखि लैैनी हुँदै धो जाने पदमार्ग निर्माण गर्न २० लाख र त्रिपुरासुन्दरी मन्दिर (त्रिपुरासुन्दरी नगरपालिका २) देखि कुमारीकोट बगर हँदै फोक्सुण्डो प्रवेशद्धार सुलिगाड जाने पदमार्ग निर्माणका लागी १० लाख बजेट बोर्डले छुट्याएको छ । हरियो रुख (मुड्केचुला गाँउपालिका ४) देखि ओखरयाना जाने पदमार्ग निर्माण गर्न ७ लाख र काकोट (छार्का ताङसनोङ गापा) देखि पिम्री घरयाङ, तेराङ हुदै काकोट मुस्ताङ जाने पदमार्ग निर्माण गर्न ७ लाख बजेट छुट्याईएको बोर्डले जनाएको छ ।
प्रदेश नम्बर ७
पर्यटन बोर्डले चालु आर्थिक वर्षमा १ करोड ७१ लाख बजेट छुट्याएको छ । बोर्डले बझाङ–खप्तड–डोटी पदमार्गमा साइनेजहरुको स्थापना गर्न ७ लाख र डोटीको शिखर गाउँपालिकास्थित सालमुनी भागेश्वरदेवस्थल पूर्वाधार निर्माण गर्न ५ लाख बजेट छुट्याएको छ । अछामको साँफेबगर नगरपालिकास्थित वैद्यनाथधाममा पर्यटन पूर्वाधार निर्माणका लागी विगत कार्यक्रमकै निरन्तरतामा ७ लाख बजेट विनियोजन भएको छ ।
कञ्चनपूरको शुक्लाफँटामा सूचनाकेन्द्र पूर्वाधार निर्माणका लागी १० लाख, महाकाली नगरपालिका ४ स्थित दोधारा चाँदनी झोलुङ्गेपुल क्षेत्र सौन्दर्यीकरण गर्न ७ लाख र बन्दाताल पर्यटन पूर्वाधार निर्माणका लागी १० लाख रकम विनियोजन भएको छ ।
कैलालीको घोडाघोडी ताल वरपर पदमार्ग निर्माण तथा साईनेज स्थापना गर्न १० लाख र जानकी गाउँपालिका–९ स्थित नेपाल जातीय संग्रहालयका लागी १५ लाख बजेट पर्यटन बोर्डले छुट्याएको छ । टिकापुरमा पर्यटन सूचना केन्द्र सञ्चालन गर्न ५ लाख र बरदगोरिया गाउँपालिकास्थित बरदगोेरिया क्षेत्र पर्यटन पूर्वाधार निर्माणमा ५ लाख बजेट छुट्याईएको छ । धनगढी उप–महानगरपालिकास्थित थारु देउथान पूर्वाधार निर्माणमा ५ लाख, चरा अवलोकन मचान निर्माण गर्न ५ लाख, शिवपुरीधाम सौन्दर्यीकरण गर्न १० लाख र डल्फिन सम्बन्धी सूचना बोर्ड स्थापना गर्न ३ लाख बजेट छुट्याईएको छ ।
बझाङको थलारा गाउँपालिका २ स्थित खापर दह पर्यटन पूर्वाधार निर्माण गर्न ७ लाख र कैलाश गुफामा पर्यटन पूर्वाधार निर्माण गर्न ५ लाख रकम विनियोजन गरिएको छ ।
बाजुराको बडिमालिका मन्दिर जाने पदमार्ग निर्माण गर्न १० लाख र रारा–खप्तड पदयात्रामार्ग (भंmुगला, बाँधु, कोल्टी, पाण्डुसेन, धमकने, भैनेरा, पिनालेक, मैतोल, छेडेदह, दोगडी, खप्तड निकुन्ज) मा साईनेजहरु स्थापना गर्न १० लाख बजेट बोर्डले छुट्याएको छ । बल्देदेखि रिन्तोला हुंदै बडिमालिका भण्डारगृहसम्मको पदयात्रामार्गको स्तरोन्नति गर्न ५ लाख र मार्तडीदेखि लादेको पाटनसम्म (बडिमालिका पदमार्ग) पदमार्गको स्तरोन्नति गर्न ५ लाख बजेट छुट्याईएको बोर्डले जानकारी दिएको छ ।
डडेलधुराको परशुधाम क्षेत्र पर्यटन पूर्वाधार निर्माण गर्न ५ लाख र अमरसिंहगढी क्षेत्र पर्यटन पूर्वाधार निर्माण गर्न ५ लाख रकम छुट्याईएको छ । दार्चुलाको अपिनम्पा संरक्षण क्षेत्र भित्रको टिंकरगाँउमा साइनबोर्ड तथा अन्य पर्यटन पूर्वाधार निर्माण गर्न १० लाख र कैलाश गुफा पर्यटन पूर्वाधार निर्माण गर्न ५ लाख रकम विनियोजन भएको छ ।
पर्यटन बोर्डको कार्यालय गण्डकी प्रदेशमा पनि भएकाले गण्डकी प्रदेशको बजेट भने सोही कार्यालयले निर्माण गर्ने बताईएको छ । गण्डकी बाहेकका ६ वटा प्रदेशमा पर्यटन बोर्डले कुल ११ करोड ८५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्रमुख नाकाहरुको बजेट
बोर्डले प्रदेश अन्तर्गतका जिल्ला बाहेका महत्वपूर्ण नाका तथा पर्यटकीय स्थलहरुको लागी पनि छुट्टै बजेटको व्यवस्था गरेको छ । जसअन्तर्गत जनकपुर रामजानकी मन्दिर परिसर जनकपुरमा सूचना केन्द्र सञ्चालन गर्न १० लाख र रसुुवागढी नाकामा पर्यटन सूचना केन्द्रको सञ्चालन गर्न १० लाख बजेट छुट्याएको छ । बोर्डले काडमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सूचना केन्द्र सञ्चालन गर्न ३ लाख र बेलहिया नाकामा सूचना केन्द्र सञ्चालन गर्न १० लाख बजेट विनियोजन गरेको बोर्डले जनाएको छ ।
प्रदेशका विभिन्न जिल्ला र प्रमुख पर्यटकीय गन्तव्यका लागी गरी बोर्डले जम्मा १२ करोड १८ लाख बजेट विनियोजन गरेको छ । कुल बजेटमा बोर्डले पूर्वाधार निर्माणमा छुट्याएको बजेटको हिस्सा ६.९६ प्रतिशत हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved