पर्यटकको अवैध गतिविधः जानकार भन्छन्,‘भिषा प्रणाली नै गलत’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 01:28:00 PM मा प्रकाशित

laxmi  sunrise bank

कसले भन्छ नेपालमा पर्यटक बस्दैनन् ? हाल विदेशी पर्यटकको नेपाल बसाई १३ दिन छ । उनीहरुले गर्ने खर्च ५४ अमेरिकी डलर प्रतिदिन छ । तर खर्च गराईको औसत मापन कम देखिएपनि नेपालमा १३ दिन मात्रै पर्यटक बस्दैनन् । त्यो भन्दा धेरै दिन पनि बस्छन्, तर अवैध भएर ।

जुन देशबाट पर्यटक आएका हुन्, त्यो देशमा आफूले गरेको गलत कर्म लुकाउन पर्यटन भिषामा नेपाल छिरेकाहरुको अवैध धन्दा फैलिरहेको पाईएको छ ।

साढे पाँच सय बढी विदेशी निष्कासित

नियम अनुसार पर्यटक भिषामा नेपाल आएका विदेशीहरु एक सय ५० दिनसम्म बस्न पाउँछन् । अमेरिकी नागरिकको हकमा भने एक सय ८० दिनसम्म बस्न पाउने व्यस्था छ । तर यो नियम तोडेर नेपाल बस्ने विदेशीहरु बर्षेनी बढ्दैछन् ।

आफूले गरेको अपराध लुकाउन र धर्म प्रचार गर्न नेपाललाई सुत्र र सुरक्षित देशको रुपमा लिएका छन् विदेशीहरुले । पर्यटक भिषामा आएकाहरु कुन उदेश्यले आएका हुन र आएपछि उनीहरु कस्ता गतिविधमा संलग्न हुन्छन् भनेर निगरानी गर्ने संयन्त्रको अभाव रहेको जानकारहरु बताउँछन् । यसको फाइदा उठाउँदै पर्यटक बनेर नेपाल आएकाले गैरपर्यटकीय गतिविधि गर्ने गरेको विज्ञहरुको बुझाई छ ।

भिषाको अवधि सक्किएपछि पनि नेपाल बसेको भन्दै सन् २०१८ मा मात्रै ६८ देशका पाँच सय ६४ विदेशीलाई निष्कासन गरिएको छ । अध्यागमन विभागका अनुसार यसरी निष्कासन गरिएकाहरुमा सबैभन्दा धेरै चिनीयाँ नागरिक छन् । चिनबाट पर्यटक भिषामा नेपाल आएर अवधिभन्दा धेरै समय बसेका तीन सय ७३ जनालाई फीर्ता पठाईएको छ ।

आफ्नो देशमा गल्ती गर्ने र लुक्न नेपाल आएका एक सय ३७ जनालाई विभागले फीर्ता पठाएको छ । यसमा धर्म परिवर्तन गराउँदै हिडेका पाँच जना विदेशीलाई पनि फीर्ता पठाईएको छ ।

चिनले नेपालमा गरिरहेको निर्माणका कामको कारण फीर्ता पठाईएकामा चिनीयाँ नागरिक धेरै भएको विभागले जनाएको छ । चिनले नेपालका विभिन्न आयोजना निर्माणको जिम्मा लिएको हुँदा कामदार ल्याउने कम्पनीले पर्यटक भिषामा ल्याउने गरेको पाईएको छ । त्यसरी आएका कामदार भिषा अवधि सक्किएपछि पनि नेपाल कसेको पाईएपछि विभागले फीर्ता पठाएको जनाएको छ ।

विभागका निर्देशक विष्णुहरी उपाध्यायका अनुसार घुम्नकै लागी आएका विदेशी लामो समय नेपाल बस्दैनन् । उनी भन्छन्, घुम्ने उदेश्यले आएकाहरु धेरै बस्दैनन्, तर गलत उदेश्यले पर्यटक भिषामा आएकाहरु यसरी बस्छन् ।’ उनका अनुसार पर्यटक भिषामा आएकाहरुमाथि निगरानी बढाईएको छ ।

विभागले ६ वर्षको अवधिमा दुई हजार एक सय २५ जनालाई निष्कासन गरेको छ ।

भिषा प्रणाली नै दोषी

यसका जानकारहरु प्रत्येक वर्ष पर्यटक भिषामा नेपाल प्रवेश गरेर गैरपर्यटकीय गतिविधि गर्ने विदेशी बढ्नुमा नेपालको भिषा प्रणाली नै दोषी भएको बताउँछन् ।

गृह मन्त्रालयका पूर्व सचिव सुर्य सिलवाल पनि यसो हुनुमा देशको भिषा प्रणाली नै दोषी रहेको बताउँछन् । उनले भने, ‘हामी सबैजसो देशका नागरिकलाई अन अराइभल भिषा दिन्छौँ, यो हाम्रो चलन जस्तै भईसक्यो ।’ यसले गैरपर्यटकीय गतिविधिलाई बढाएको उनको आरोप छ । अन अराइभल भिषा प्रणालीले जस्ता मान्छे पनि नेपाल आउने भएकाले गैर कानुनी गतिविधि बढेको सिलवालको भनाई छ ।

उनले यस प्रणालीलाई फेरेर सम्बन्धित देशको दूतावासबाट भिषा दिने काम सुरु गर्नुपर्ने बताए । यो हुँदा सूचना आदानप्रदान हुने र भिषा माग गर्ने व्यक्तिबारे छानबिन समेत हुन्छ । गलत नियत भएकालाई भिषा नदिने चलन सुरु गरेमात्रै विदेशीबाट गैरकानुनी काम घट्ने उनको सुझाव छ ।

पर्यटक भिषामा आएकाहरुबाट गैरपर्यटकीय गतिविध बढेको भन्दै विज्ञहरुले विदेशीलाई भिषा दिने प्रणाली नै परिवर्तन गर्न सरकारलाई सुझाएका छन् ।

नेपालले हाल सिरिया, अफगानस्तान लगायतका द्धन्द्धग्रस्त १२ देशबाहेकका नागरिकलाई अन अराइभल भिषा दिँदै आएको छ ।

विदेशीको निगरानी गर्ने निर्देशिका

सरकारले नेपाल आएका विदेशी नागरिकको अनुगमन र निगरानी गर्न छुट्टै निर्देशिका लागु गरेको छ । गत जेठदेखी लागु भएको यो निर्देशिका अनुसार प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारी नेतृत्वको एउटा निकायले विदेशी नागरिकको निगरानी गर्नेछ ।

यो संयन्त्रले आएका विदेशीहरुको निगरानी गर्नेछ । शंकास्पद गतिविधि गरेको पाईए यही संयन्त्रले अध्यागमनका सिफारिस गर्नेछ । सिफारिसको आधारमा बानबिन गरी विभागले निष्कासन सम्म गर्नेछ । यसवर्ष पनि यही संयन्त्रले गरेको सिफारिसका आधारमा कतिपय विदेशीलाई निष्कासन गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved