सगरमाथामा वर्षौ पुराना शव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 01:07:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च शिखर सगरमाथामा आरोहणका क्रममा मृत्यु भएकाहरुको शव देखिन थालेको छ । सगरमाथा चढ्दा ज्यान गुमाएकाहरूको शव वर्षौंदेखि त्यही रहेका छन । एक व्यक्ति सगरमाथा चढ्न २० लाख रुपैयाँ लाग्ने गरेको छ । तर, त्यही ज्यान गुमाएमा सो शव ल्याउन त्योभन्दा बढी खर्च लाग्ने गरेको छ । जसका कारण शव ल्याउन कठिनाई हुनेगरेपछि त्यही छाडिने गरेको छ ।

अत्यधिक चिसो हुने गरेका कारण शव नबिग्रने हुँदा कतिपय शवहरू सगरमाथामै रहेका छन् । शवहरू ल्याउन सरकारले यसवर्ष अभियाननै संचालन गरेको छ । पर्यटन विभागले स्थानीय तहसँगै निजी क्षेत्रसँगको सहकार्यमा सगरमाथामा रहेका शव ल्याउन पहल सुरु गरेको हो । वैशाख १ गते लुक्लाबाट सुरु भएको सरसफाई अभियान सगरमाथा आधारशिविर हुँदै सगरमाथाको शिखरसम्म नै पुग्ने र सगरमाथामा भेटिएका शवहरू संकलन गरेर व्यवस्थापन गरिँदै छ ।

अभियान अन्तर्गत बेसक्याम्पको सफाइका क्रममा चारवटा शव फेला परेको छ । बेसक्याम्प पुगेका सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म चारवटा शव भेटिएको जानकारी गराएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । अभियान अन्तर्गत हालसम्म तीन हजार किलोग्राम फोहोर संकलन गरिएको र त्यसमध्ये करिब एक हजार किलोग्राम फोहोर हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको पनि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

सगरमाथा आरोहणका क्रममा बाटो आसपासमै शव देखिने सगरमाथा आरोहीहरू समेत बताउँछन् । फेला परेका शवहरू निकै वर्ष पुराना हुन सक्ने बताइएको छ । पछिल्लो समय तालिमप्राप्त आरोही तथा आरोहण सहयोगी, उपकरण, कपडालगायतको व्यवस्थाका कारण ज्यान गुमाउनेहरूको संख्या कमी आएको छ । धेरै वर्ष पहिले उपकरणको अभाव र उपकरणहरू अनुकूल नबन्दा शव ल्याउन नसकेको र उतै छाडेको आरोहीहरू बताउँछन् ।

हिउँमा मानिस मरेपछि चिसोले निकै भारी हुने शव संकलनमा सहभागी भएकाहरू बताउँछन् । एउटा शव झिक्न तालिमप्राप्त मानिस र उपकरण दुवै चाहिने र चुनौतीपूर्ण हुने भएकोले महँगो हुन्छ । एउटा शव झिक्न शव रहेको स्थानको प्रकृति हेरेर ४० हजारदेखि ८० हजार अमेरिकी डलरसम्म खर्च लाग्ने पर्यटन विभागका महानिर्देशक घिमिरे बताउँछन् । यही कारण धेरै शव खर्च अभावका पनि उतै रोकिन्छन् । अर्को कुरा मौसमले पनि साथ दिंदैन ।

आरोहण चलिरहेकै बेला मौसममा खराबी हुन सक्छ त्यसैले चुनौती मोलेर जान सकिंदैन । अनि कतिपय शवहरू हिउँमा पुरिन्छन् वा खोंचमा खसेर हराउँछन् । अहिले देखिएका धेरैजसो पूरा शवहरू हिउँमा पुरिएका र अहिले हिउँ पग्लिएर सतहमा आएका आरोहीहरू बताउँछन् । यही कारण सगरमाथाबाट शव ल्याउन कठिन हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved