अख्तियार कै संलग्नतामा कामै नगरी ३ लाख भत्ता पचाउदै सरकारी कर्मचारी

निरोज कुमार थापा

निरोज कुमार थापा

May 09, 2019 | 01:54:06 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमाल आरोहण (पर्वतारोण) को सिजन (मौसम) सुरु भएको छ । पर्यटन विभागबाट यसवर्ष ३८ समुहले खुम्वु क्षेत्रमा आरोहणको लागि अनुमति पाएका छन् । ६ हजार ५ सय मिटरभन्दा माथिका हिमाल आरोहणमा जाने समुहमा एक जना सरकारी कर्मचारी सम्पर्क अधिकारी (लियोजन अफिसर) को रूपमा अनिवार्य जानुपर्ने हुन्छ । विभागबाट यसवर्ष पनि धेरै कर्मचारी आरोहण समूहमा गएका छन् ।

वर्षमा दुइ सिजनमा हिमाल आरोहण गरिन्छ । चैत्र वैशाख र असोज कात्तिकमा आरोहण सुरु हुन्छ । अहिले आरोहणको अनुमति लिएका ३८ समुहमध्ये ३३ समुहले सगरमाथा आरोहणको स्वीकृति पाएका छन् । चैत्र बैशामा सुरु हुने आरोहणमा सगमाथा, ल्होत्स्य, कञ्चनजघां, अन्नपूर्ण लगायतका हिमाल पर्छन । असोज कात्तिकमा आरोहण सुरु हुने हिमालमा मनासुलु लगायतका हिमाल पर्छन् । एउटा समुहले हिमाल आरोहण गर्न २० देखि ७५ दिनसम्म्म लगाउने गर्छन् ।

नियम अनुसार हिमाल आरोहण टोलीमा लियोजन अफिसरको रुपमा गएको सरकारी कर्मचारी बाटोमै विरामी भएमा बीचबाटै फर्कन सक्ने छ । कर्मचारीले भने यो प्रावधानको दुरुपयोग गरिरहेको पाईएको छ । लियोजन अफिसरको रुपमा हिमाल आरोहण टोलीसँग गएका कर्मचारी विरामी भएँ भन्दै बाटोबाटै फर्किन्छन् ।

आधाबाटो बाटै फर्के पनि उनीहरूले पाउनु पर्ने सबै सुविधा लिँदै आएका छन् । लियोजन अफिसरका रुपमा हिमाल आरोहणमा जाँदा एक कर्मचारीले एक पटकमा ३ हजार अमेरिकी डलर पाउँछन् । यसबाहेक दैनिक ५ सय रुपैयाँ भत्ताको पनि व्यवस्था छ ।

यति मात्रै नभई आरोहीसँगै जाने भन्दै नगएर कतिपय कर्मचारी अन्यत्र समेत घुम्न जान्छन् ।

राजनीतिक पावरमा हिमाल तिर कर्मचारी

सरकारी कर्मचारीले हिमाल आरोहणको मौसम सुरु हुनु अगाडी नै राजनीतिक पहुँच देखाउन सुरु गर्छन् । यो भनेको विभिन्न शक्ति प्रदर्शन गरेर आफूलाई भ्रमण टोलीको लियोजन अफिसर बनाएर हिमालमा पठाउन दबाब दिन्छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री कार्यालय लगायतका निकायबाट पर्यटन विभागका कर्मचारीमाथि दबाब आउने गरेको स्रोतले बताएको छ । दबाब दिएरै भएपनि हरेक वर्ष जसो अख्तियारका कोही न कोही कर्मचारी लियोजन अफिसर भइ हिमाल आरोहणमा जाने गर्छन ।

यस वर्ष पनि अख्तियारका शाखा अधिकृत तीर्थ चापागाईं खुम्बु क्षेत्रमा गएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमै हिमाल आरोहणमा हिडेको भनेर स्टाटस लेखेका छन् । योसँगै विभिन्न कर्मचारी संगठनका नेताहरुले लियोजन अफिसर बनेर फाइदा लिने गरेका छन् । कार्यक्षेत्र भित्रै नपर्ने काममा कर्मचारी नेताहरु हरेक वर्ष लियोजन अफिसर भइ हिमाल आरोहणमा जाने गर्छन ।

अस्त्विमा रहेका विभिन्न चार कर्मचारी संगठन र आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरु हरेक वर्ष हिमाल आरोहणमा निस्किने गरेका छन् । यस वर्ष तत्कालिन माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनका महासचिव प्रभाष साह, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल, सदस्य विश्वन्धु रेग्मी, निजामती कर्मचारी युनियन (संघ)का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी खुम्व क्षेत्रतर्फ लागेका छन् । आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेल पनि खुम्बु जाने तयारीमा छन् ।

तत्कालिन एमाले निकट निजामती कर्मचारी कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहन घिमिरे लियोजन अफिसरको व्यवस्थाबाट सबैभन्दा धेरै फाइदा लिने कर्मचारी हुन् । उनी दर्जनौ पटक हिमाल आरोहणमा गएका छन् ।

२०६७ सालबाट राष्ट्रिय स्तरका कर्मचारी संगठनको सिफारिशमा हिमाल आरोहणमा सम्पर्क अधिकृत पठाउने व्यवस्था गरिएको हो । आरोहण गर्ने टोलीले आरोहण गर्यो कि गरेन भनेर लियोजन अफिसरले प्रमाणित गर्नुपर्ने हुन्छ । सम्पर्क अधिकृतले प्रमाणित नगरेसम्म आरोहणमा गएको टोलीले हिमाल आरोहण गरेको पुष्टि हुँदैन । तर कर्मचारी आधाबाटो बाटै फर्किने गरेका छन् ।

नाम नबताउने सर्तमा विभागका अधिकारीले ‘सम्पर्क अधिकृतलाई सुविधासँगै उल्लेख्य अधिकार पनि दिईएको हुँदा हिमाल आरोहणमा जान र आफ्नो मान्छे पारिदिनु पर्यो भनेर दबाब आउँछ’ भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved