‘ठाउँ अभाव हुँदा पनि हिमालयन ट्राभल मार्ट कुम्भ मेला बन्दैछ’ पाटाका सिइओ बुडालको अन्तरवार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 04, 2019 | 11:18:14 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६ अर्थात् जेठ २३ देखि २६ सम्म मार्टको आयोजना हुँदैछ । मार्टले नेपाललाई हिमालय प्रवेशद्वारका रुपमा चिनाउने लक्ष्य लिएको छ । 

मार्टको आयोजना किन ? यसले नेपालको पर्यटनमा दिन सक्ने योगदान के र कति ? यी यस्तै विषयको पेरिफेरिमा रही विजपाटीका निरोजकुमार थापाले मार्ट आयोजनामा मुख्य भूमिका निर्वाह गर्दै आएको प्यासिफिक एशिया ट्राभल एसोसियसन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको संपादित अंशः 

हिमालय ट्राभल मार्टको विषयमा संक्षिप्त जानकारी दिनोस् न ?

नेपाललाई हिमालयन प्रवेशद्धारको रुपमा परिचित गराउँदै नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ सन २०१७ देखि वार्षिक कार्यक्रमको रुपमा आयोजना गरिदै आएको हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण अब हामी गर्दैछौँ । 

नेपाललाई हिमालय प्रवेशद्धार तथा साहसीक पर्यटकीय गन्तव्यको रुपमा विश्व सामु स्थापित गर्ने हिमालयन ट्राभल मार्टमा वर्षेनी सहभागीहरुको दर बढ्दो छ । यो मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकसित हँुदै गएको छ । 

को को सँग समन्वय गरेर यसवर्षको मार्ट आयोजना हुँदैछ ?

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तर्राष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले मार्टको आयोजना गर्ने लागेको हो । मार्टको यस अघि सम्पन्न भएका दुई संस्करणहरुको सफल आयोजनाले नेपाली पर्यटन क्षेत्रको प्रचार–प्रसार तथा प्रवद्र्धनमा नयाँ आयाम थपेको छ । 

मार्टको मुख्य उदेश्य के हो ? 

यो मार्ट क्रमशः ब्राण्डिङ्ग हुँदै आइरहेको छ । मार्टले नेपाली पर्यटन क्षेत्रकै शीर उच्च पार्नुका साथै विश्व बजारमा नेपालको शसक्त उपस्थिति जनाउन सहयोग पुगेको छ । धरै पर्यटन स्रोत बजारहरुबाट मार्टमा सहभागिताका लागि चाहना बढ्दै जानुले यसको लोकप्रियता पनि बढ्दै गएको छ भन्नेमा हामी गर्व गर्छौ । हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको छ । यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन प्रर्वद्धन तथा व्यवसायीहरुका सहकार्य, सहयोग र विजनेशका योजनाका विषयमा ज्ञान आदानप्रदान हुन्छ । 

समग्रमा यो मार्टको उदेश्य भनेको हिमालय राष्ट्रहरुको चिनारी विश्व बजारमा पुर्याउनु र नेपाल चाँही हिमालयको प्रवशद्वार हो भनेर चिनाउनु हो । यसका अलवा नेपालको पर्यटन बजारमा देखिएका भ्रम चिर्नु र नेपाल एडभेञ्चर टुरिजम र धार्मीक पर्यटनको गन्तव्य हो भनेर चिनाउने मार्टको मुख्य लक्ष्य हो । हामीलाई पूर्ण विश्वास छ, मार्टले लक्ष्य हाँसिल गर्नेछ ।

विजनेस–टु–विजनेस मोडलमा मार्ट आयोजना हुँदैछ, यसमा सहभागीता कुन कुन देशबाट रहन्छ ?

हिमालयन राष्ट्रहरु जति पनि छन्, यी देशबाट विक्रेताहरु आउछन् । यसपटकको मार्टमा ५ वटा देशहरु नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाइल्याण्डका ५४ विक्रेता कम्पनी तथा संस्थाहरुले सहभागीता जनाउदै छन् । यीनीहरु हिमाल सम्बद्ध एडभेञ्चर टुरिजमका प्याकेज बेच्नेहरु हुन् । 

अब क्रेता किन्नेहरुमा हामीले विश्वब्यापी बजारबाट विभिन्न संघसंस्थाहरुलाई ल्याउँदै छौँ । अमेरिका, युरोप, अष्टङेलिया, अरब लगायतका ३० मुलुकबाट क्रेता कम्पनीहरु आउदै हुनुहुन्छ ।

सम्रग मार्टभित्र आयोजना हुने कार्यक्रमहरु के के हुन् ? 

यसपटक धेरै किसिमका कार्यक्रम हुँदैछन् । एडभेञ्चर मात्रै नभई धार्मीक पर्यटनलाई बढवा दिन मार्टमा बुद्धधर्मसँग सम्बन्धित सेसन नै राखिएको छ । एडभेञ्चर टुरिजमलाई मौसम, भुगोल र आफ्नो शारीरिक अवस्थाले प्रभाव पार्न सक्छ । तर आस्थाको पर्यटन कसैगरेपनि रोकिन्न । भारतीयहरु पशुपतिनाथको दर्शन नगरी मोक्ष पाईदैन भन्छन्, उनीहरु एकपटक आउन चाहान्छन् । चीन ठूलो बुद्धिष्ट राष्ट्र हो । हामीसँग हिन्दु र बौद्ध धर्म मान्ने पर्यटक भित्र्याउने प्रचुर सम्भावना छ । त्यसैले कनेक्टिभीटिमा हाम्रा सम्पदालाई जोड्न सक्नुपर्छ । यसका लागि यो सेसन राखिएको हो ।

विदेशी ब्लगरहरुलाई निमन्त्रणा गरिएको छ, उनीहरुसँग पनि अन्तरक्रिया आयोजना गरिन्छ । विश्वमा ख्याती कमाएका व्यक्तिहरुको प्रस्तुति रहन्छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि अन्तराष्ट्रिय मिडियाका सामु हाम्रा योजना र नेपालका पर्यटकीय गन्तव्यबारे ब्रिफिङ गराईछ ।

यसर्थ सबै हिसाबले सकेसम्म नेपालको टुरिजम प्रोमोसनका लागि कुनैपनि कार्यक्रम अपुग नहोस् भनेर तयारी गरिएको छ । नेपाल भ्रमण बर्ष २०२० को पूर्वतयारी र २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई मार्टले सहयोग पुर्याउने अपेक्षा हाम्रो छ ।

यो कार्यक्रम आयोजनाका लागि बजेटको व्यवस्था कसरी हुँदैछ ? 

ट्राभल मार्टका लागि नेपाल पर्यटन बोर्डले वार्षिक दुई करोड रुपैयाँ छुट्याउँदै आएको छ । यो रकम भनेको कुल अनुमानित बजेटको २५ प्रतिशत हो । बाँकी रकम भनेको निजी क्षेत्रले नै बेहोर्ने छन् । निजी क्षेत्रले बेहोर्ने भनेर पैसा नै दिने होईन । होटलले पाहुनालाई बस्न निशुल्क गरिदिने, एयरलाईनसले यात्रामा सहुलियत दिने, पर्यटकीय गतिविधिका लागि विभिन्न संघसंस्थाले पाहुनालाई निशुल्क मनोरञ्जन प्रदानमा सहयोग गर्ने गरेका छन् । 

यसपटक हामीले अनुमान गरेको लागत भनेको ६ करोड हो ।

अहिलेसम्म सहयोग गरेका संस्थाहरु कुन कुन छन् ? 

मार्टमा अफिसियल होटल तथा इभेन्ट भेन्यूको रुपमा सोल्टी क्राउन प्लाजा छ । अन्तराष्ट्रिय एयरलाईन्स् तर्फ कतार एयरवेज,  एयर अरेबीया, डुक  एयर र हिमालय एयरलायन्स  तथा आन्तरिक तर्फ बुद्ध र यती एयरलान्सले सहयोग गरेका छन् । यसैगरी काठमाडौं मेरियट होटल तथा होटल आकामाले मार्टमा सहभागी प्रतिनिधिहरुका लागि रात्रीभोजको प्रायोजन गरेको छ । 

शिखर इन्सुरेन्स (प्रमियम पार्टनर) र नेपाल इन्भेष्टमेन्ट बैंक (इभेन्ट पार्टनर), सिबेक हस्पिटलले हेल्थ पार्टनरको रुपमा निरन्तर सहयोग गदै आएका छन । यसवर्ष एनसेलले  कम्युनिकेसन पार्टनरको रुपमा छ । काठमाडौँ,पोखरा, चितवन र लुम्बिनीका होटलहरुले निशूल्क आवास तथा भोजन उपलब्ध गराएका छन् । मार्टमा सहभागी विदेशी पाहुना तथा प्रतिनीधिहरुलाई नाराले र्याफ्टिङमा सहयोग गर्ने भएको छ ।

यो मार्टको तेस्रो संस्करण यसपटक आयोजना हुँदैछ । यो कति औँ पटकसम्म चल्छ ? 

पब्लिक प्राइभेट पार्टनरसिपमार्फत हुने र भएका कार्यक्रमको एउटा गज्जबको उदाहरण हो हिमालय ट्राभल मार्ट । यो मार्ट अब वर्षेनी बढ्दै जान्छ । नेपालको पर्यटन रहेसम्म वार्षिक कार्यक्रमका रुपमा यो मार्ट आयोजना भईरहन्छ । 

ठाउँको अभावमा हामीले यसपटक धेरै विदेशी विक्रेता ल्याउन सकेनौ । भुटानबाट मात्रै १५ विक्रेतालाई हामीले ‘वी ह्याभ नो स्पेस’ भन्नुपर्यो । हाम्रो मार्टमा सहभागीता जनाउन वर्षेनी क्रेता विक्रेता बढिरहेका छन् । हिमालयन ट्राभल मार्ट नेपालको पर्यटन क्षेत्रमा हुने कार्यक्रमहरुमध्ये सबैभन्दा प्रभावकारी कार्यक्रम हो । यसलाई पर्यटन क्षेत्रको कुम्भ मेला भन्दा पनि हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved