माओवादी जनयुद्दको उद्गमस्थल होलेरीमा हिल स्टेशन

महेश न्यौपाने

महेश न्यौपाने

Feb 04, 2020 | 09:39:31 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वर्गद्धारी महाप्रभुको जन्मस्थान रुन्टीगढीले हिल स्टेशनको अवधारणा अघि सारेको छ । दश वर्षे माओवादी द्धन्दको सुरुवात भएको दिन २०५२ साल फाल्गुन १ गते पहिलो पटक प्रहरी चौकी आक्रमण गरेसँगै चर्चामा रहेकाले पनि सो स्थान धेरैका लागि चासोको क्षेत्र बनेको छ ।

धर्मिक, पर्या र युद्ध पर्यटनको सम्भावना भएकाले गाउँपालिकाले समेत यसको विकास र प्रचार प्रसारमा जोड दिँदै आएको छ । पर्यटनको विकासका लागी राष्ट्रिय अक्षर महोत्सव समेत आयोजना भएको थियो । विकास सम्मेलन नाम दिएर गरेको अर्को कार्यक्रममा समेत गाउँपालिकाको पर्यटनले विशेष प्राथमिकता पाएको थियो । गाउँपालिका अध्यक्ष वालाराम वुढाले हिल स्टेशन, धार्मिक र युद्ध पर्यटनलाई जोडेर लैजाने गरि काम भईरहेको बताएका छन् ।

विकास सम्मेलनपछि होलेरीलाई हिल स्टेशन वनाउन सकिने विषयले प्रवेश पाएको हो । ५ नम्वर प्रदेशको स्थायी राजधानी वन्ने चर्चा चलेको दाङको घोराहीबाट निकै छोटो दुरीमा रहेको होलेरी शान्त, शितल र रमणीय छ । 

घोराहीवाट ३० किलोमिटर दुरीमा रहेको होलेरीसम्म पुग्ने सडक पक्की छ । बसमा कढीमा डेढ घण्टाको दुरी रहेको सो क्षेत्र प्रकृतिक सौन्दर्यले सिँगारिएको छ । महाभारत पर्वत श्रृंखलाको शिखरमा रहेको सो क्षेत्र घोराहीबाट जाँदा वाटामा पर्ने वाह्रकुने ताल र कोइलाखानीको समेत स्थलगत अवलोकन गर्न सकिन्छ । भ्यूटावर भारतको विभिन्न भूगोल समेत देख्न सकिने होलेरी कम आनन्दको ठाउँ छैन । 

होलेरी रुकुम पूर्व र पश्चिमोत्तर रोल्पाको भूगोल प्रवेशद्धारको रुपमा रहेका छन । दाङबाट सुरु  शहिदमार्ग होलेरी हुदै रुकुमको चुनवाङ र रोल्पाको थवाङसम्म पुगेको छ । रुकुमबाट डोल्पासम्म जोड्ने रणनैतिक महत्व बोकेको सो सडक विस्तारसँगै होलेरीलाई कर्णालीसम्म जोड्ने सम्भावना समेत छ । 

होलेरी पुग्ने पर्यटकको रोजाईको केन्द्र गढीलेख पनि हो । समुन्द्र सतहबाट २ हजारभन्दा माथिको उचाईमा पर्ने गढीलेखको भ्यूटावरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी जस्ता हिमश्रंखला देख्न सकिन्छ । होलेरी वजारबाट सिढी चढेर गढीलेख पुग्न सकिन्छ । बजारबाट करिब ३ किलोमिटरको दूरीमा रहेको गढीलेख प्राकृतिक र ऐतिहासिक धरोहरको रुपमा रहेको छ । 

स्वर्गद्धारी जानु अघि महाप्रभुले गढीलेखमा तपश्या गरि ज्ञान प्राप्त गरेको विश्वास छ । वाइसे चौविसे राजाको दरवार समेत रहेकाले सो स्थान सामरिक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ । 

होलेरी वजारबाट १७ किलोमिटर दूरीमा रहेको रुन्टी गाउँ अर्को महत्वपूर्ण स्थल हो । स्वर्गद्धारी महाप्रभुको जन्मस्थल रुन्टीसम्म पुग्न सडक जोडिएको छ । महाप्रभु जन्मेको गाउँमा अहिले उहाँका १५ घर नातेदार छन् । 

होलेरीकै आसपासमा पर्ने झेनाम गैरा गाउँमा शिव पार्वती गुफा पनि अर्को महत्वपूर्ण पर्यटकीय स्थल हो । करिब ६० मिटर लम्वाइको सो गुफामा विभिन्न आकृतीहरु देख्न सकिन्छ । 

२०५२ साल फाल्गुन १ गते जनयुद्ध सुरु गर्दा तत्कालिन माओवादीले रुकुमको आठविसकोट, सिन्धुलीको सिन्धुलीगढी र कालिकोटको राडी जिउला रोज्दा रोल्पाको होलेरी प्रहरी चौकी रोजेको थियो । ‘प्रतिकृयावादी राज्यसत्ता ध्वन्स गरौँ, नयाँ जनवादी क्रान्तिको तयारी गरौँ’ भन्ने नारालाई फौजी कारवाहीसहित कार्यान्वयन गर्ने नेपालकै पहिलो स्थान वन्यो होलेरी । गिरीजा प्रसाद कोईराला  प्रधानमन्त्री हुदा दोश्रो पटक पुनः सोही चौकी आक्रमण भयो । ७२ जना प्रहरीलाई नियन्त्रण लिएपछि तत्कालिन शाही नेपाली सेना र माओवादी सेना आमनेसामने भएकोले पनि होलेरी चर्चित वन्यो । माओवादी सेनालाई घेरावन्दीमा पारेको तत्कालिन शाही नेपाली सेनाले गोली हान्ने आदेश नपाउँदा पछि हट्नु परेको घटनाले पनि सो स्थान थप चर्चित छ ।

माओवादीले तयार गरेका ७ डिभिजन लडाकु मध्ये ५ औं डिभिजनका लडाकु वसेको मुख्यालय पनि होलेरी देखि नजिकै पर्छ । नुवागाउँको दहवनमा रहेको सो स्थानका साथै सहायक डिभिजनको रुपमा उवा र तिला पनि होलेरी बजारदेखि नजिकको दुरीमा रहेका छन् । 

रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन दीपक डिसी गाउँपालिकाको समृद्धिको पहिलो अधार पर्यटन नै रहेको बताउँछन् । होलेरीलाई केन्द्रमा राखेर वरपरका पर्यटकीय क्षेत्रलाई जोडेर हिल स्टेशन वनाउन सुरु गरिएको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved