कोरोनाको असर: पर्वतारोहणमा ६० करोड गुम्दै

रासस

रासस

Mar 13, 2020 | 02:47:09 PM मा प्रकाशित

laxmi  sunrise bank

वसन्त ऋतु सर्वाधिक आरोहण हुने  याम हो । सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । कोरोना भाइरस डिजिसको विश्वव्यापी सङ्क्रमण बढेपछि नेपालको पर्यटन क्षेत्रलाई नराम्ररी असर पुगेको हो । 

मुलुकको पर्यटनको मुख्य आम्दानी गर्ने पर्वतारोहण क्षेत्रको वसन्त ऋतुमा हुने सबै आरोहण स्थगन गरिएको छ । यसले वार्षिक झण्डै ६० करोड रुपैयाँ राजश्व गुम्ने अवस्था सिर्जना भएको छ । वसन्त ऋतुको मुख्ययाममा हिमाल आरोहण रोकिँदा एक याममा मात्रै राज्यलाई झण्डै ५० करोड रुपैयाँ नोक्सानी हुने देखिन्छ । 

पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार अघिल्लो वर्ष वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणबाट ४९ करोड ६८ लाख रुपैयाँ सलामीस्वरुप जम्मा भएको थियो । सगरमाथाबाट मात्रै ४४ करोड २३ लाख रुपैयाँ राजश्व उठेको थियो । 

विभागका अनुसार अघिल्लो वर्ष सबै यामको आरोहणबाट रु ५६ करोड राजश्व उठेको थियो । यस वर्ष ६० करोड रुपैयाँ सलामी उठाउने लक्ष्य थियो । विदेशी नागरिकले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ ।

यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद् ऋतुमा ३७ हजार ५०० र गर्मी याममा १८ हजार २५० रुपैयाँ सलामी तिर्नुपर्ने व्यवस्था छ । सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ९१८ आरोहीले आरोहण अनुमति लिएकामा ६४४ आरोहीले सफल आरोहण गरेको विभागले जनाएको छ । अघिल्लो वर्ष वैशाख ३० देखि जेठ ११ गतेसम्म सगरमाथा आरोहण भएको थियो ।  सन् २०१८ को वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि १०७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३८ आरोहण समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए । 

उपप्रधानमन्त्रीले नेतृत्व गरेको उच्चस्तरीय समितिले मिति २०७६ फागुन २९ मा नेपालमा पर्वतारोहण गर्ने गरी सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र हाललाई स्थगित गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा राखेपछि कोरोनाको त्रासले पर्यटन मात्र नभई सबै क्षेत्रमा तरङ्ग पैदा भएको छ ।

पर्यटनको मुख्य क्षेत्र होटल व्यवसाय क्षेत्रमा मुश्किलले १५ देखि २० प्रतिशत औसत व्यापार तथा आन्तरिक हवाई उडानमा झण्डै ५० प्रतिशत व्यवसायमा गिरावट आएको सम्बद्ध अधिकारीले विज्ञप्ति निकालेर जनाइसकेका छन् । 

विभागको पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार विभागबाट आजदेखि सबै हिमाल आरोहणको अनुमति बन्द गरिएको छ । बिहीबारसम्म साना हिमाल आरोहणका लागि पाँच वटा अनुमतिपत्र जारी भएको थियो ।

त्यस्तै सगरमाथा र ल्होत्से हिमालको पूर्वअनुमति दिइएको थियो । सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड–१९ सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved