भ्रमण वर्ष २०२० को कार्यदल कुन दलदलमा ? किन आएन कार्यविधि ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 19, 2019 | 02:11:50 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटन व्यवसायलाई व्यावसायिक बनाउने अभियानको खाका काठमाडौँमा बसेर कोरिन्छ । जब की लक्षित वर्गसम्म यी खाका पुग्नै सक्दैनन् । नेपालको पर्यटन सम्बन्धि कानुन आजभन्दा ४० वर्ष अगाडीको छ । ‘२०३५ सालको कानुनको आधारमा आज पनि पर्यटन सम्बन्धि गतिविधि भईरहेका छन् । यो बीचमा आएका नयाँ नयाँ पर्यटकका प्रोडक्टहरु कानुन नभएरै संस्थागत हुन सकेनन्’ भन्छन् नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य कृष्ण कुमार अर्याल ।

पर्यटन क्षेत्रलाई समृद्धिको आधार मानेर अघि बढ्ने हो भने यसले निम्म स्तरका नागरिकलाई रोजिरोटीको व्यवस्था गर्न सक्नुपर्छ । तर गाउँमा पर्यटनको अगुवाई गरिरहेका होमस्टेहरु सरकारबाट उपेक्षित बनेका छन् । सरकारले २०३५ सालको पर्यटन ऐनलाई विस्थापन गर्न भन्दै नयाँ ल्याउन लागेको संघिय पर्यटन ऐनमा होमस्टेका कुरा कतै लेखिएको छैन ।

‘सिंहदरबारले पर्यटन मार्फत गाउँको विकास गर्ने जनाएपनि ग्रामिण पर्यटनको नेतृत्व गर्ने होमस्टेलाई नै वेवास्ता गरेको छ’ भन्छन् होमस्टे एशोसियसनका पूर्व अध्यक्ष भिम केसी ।

नेपालमा सन् २०१८ मा करिब १२ लाख पर्यटक भित्रिएको तथ्यांक छ । सन् २०१९ को जनवरीमा ९२ हजार विदेशी पर्यटक नेपाल भित्रिएको देखाईएको छ । तर यो संख्या केही मात्रै तथ्य भएको जानकारहरु बताउँछन् ।

आर्थिक सम्पन्नता हाँलि गर्न छोटो अवधिमा लाभ हुने क्षेत्रको पहिचान गर्नुपर्छ । पर्यटन क्षेत्र नेपालको सदाबहार लाभदायक क्षेत्र हो । यो क्षेत्र सेवामा आधारित उद्योग हो । जानकारहरु गतिशील अर्थतन्त्र निर्माण गर्न पर्यटन व्यवसाय ऊर्जाशील क्षेत्र हो भन्छन् ।

पर्यटन मार्फत आर्थिक उपार्जनलाई वृद्ध गर्न सके प्राप्त लाभको न्यायोचित वितरण हुन्छ । आर्थिक लाभ मात्र नभई प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदाको पनि दिगो व्यवस्थापन हुन्छ ।

सयुंक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनले सन् २०१८ मा सार्वजनिक गरेको रिपोर्टअनुसार विश्व अर्थतन्त्रमा १ हजार ३४० बिलियन डलर पर्यटन क्षेत्रको योगदान छ । अमेरिकाले २९९ बिलियन डलर, स्पेनले ९६ बिलियन डलर, फ्रान्सले ८६ बिलियन डलर पर्यटन उद्योगबाट आर्जन गरेका छन् । फ्रान्सले पर्यटन क्षेत्रमार्फत आर्जन गरेको रकम उसको कुल गार्हस्थ्य उत्पादनको ९.७ प्रतिशत हो । थाइल्यान्डले ८१ बिलियन डलर पर्यटन क्षेत्रबाट कमाएको छ ।

सन् २०१७ को तथ्यांक अनुसार थाईल्यान्डले २०१७ मा ३५ मिलियन पर्यटक भित्र्याएको छ । थाइलयान्ड पुग्ने विदेशी पर्यटकले १ हजार ६ सय २४ डलर खर्च गर्ने गरेका छन् । सन् २०१७ मा चीनले ३३ मिलियन पर्यटक भित्र्यायो । चीन घुम्ने पर्यटकको प्रतिपर्यटक खर्च गराई ५ सय ३६ डलर औसत रह्यो । सन् २०१८ मा चीनले पर्यटकको औसत खर्च गराई बढेको जनाएको छ । सन् २०१७ मै लक्जेम्बर्गमा १.५ मिलियन पर्यटक घुमेका छन् । उक्त देश घुम्ने पर्यटकको औसत खर्च गराई ४ हजार ३ सय २२ डलर छ ।

नेपाल १९५१ पछि मात्र विदेशी पर्यटकका लागी खुला भयो । सन् १९५५ मा पर्यटन विकासको पहिलो योजना बन्यो । सन् १९७२ मा पहिलो पटक पर्यटन गुरुयोजना लागू गरियो । हाल राष्ट्रिय पर्यटन रणनितिक योजना सन् २०१६—२०२५ कार्यान्वनमा छ । २०६५ को पर्यटन नीति मार्फत काम भईरहेको छ ।

नेपालको संविधान २०७२ ले पर्यटन मार्फत प्राप्त लाभको वितरणमा स्थानीयलाई प्राथमिकता दिएको छ । नेपालमा कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान २.३ प्रतिशत छ । प्रतिदिन पर्यटक खर्च ५४ डलर छ, पर्यटक बसाइ १२.६ दिन छ ।
 
सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्षको तयारी भईरहेको छ । उद्योगी सुरज वैद्यले यसको नेतृत्व गरिरहेका छन् । पर्यटन बोर्डकी सिनियर डाइरेक्टर नन्दिनी थापा यही टिममा छन् । बोर्डका सिइओ दिपकराज जोशी सदस्य सचिव छन् । यसरी पर्यटन क्षेत्रमा काम गरिरहेकाहरुको टिमले समेत अहिलेसम्म कुनै कार्यविधि बनाएको छैन । सन् २०२० सुरु हुन अब १० महिना मात्रै बाँकी छ । कार्यदल बनेको लामो समय भईसक्दा पनि कार्यविधि नआउनु दुखद कुरा हो । यसले लक्ष्य हाँसिलमा बाधा पुर्याउने पर्यटनविदहरु बताउँछन् ।

नेपालको पर्यटन विकास सोचे अनुसार नहुनुमा धेरै समस्या छन् । पूर्वाधारको विकासमा कमी, पर्यटक मैत्री संरचना नुहुनु लगायतका समस्या यथावत छन् । सरकारले यी समस्या समाधानमा ध्यान दिएको देखिदैन ।

यस्ता कयौँ समस्याका बाबजुद पनि नेपालले विश्व पर्यटनको ०.१ प्रतिशत र दक्षिण एसियाको ५.७ प्रतिशत पर्यटक भित्र्याउन सफल छ । आम्दानीका हिसाबले विश्वको ०.०३ प्रतिशत र दक्षिण एसियाको १.४ प्रतिशत हिस्सा ओगट्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved