एक वर्षमा १ प्रतिशत पनि बढेन बीमाको दायरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2023 | 05:00:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमाको दायरा विस्तारहुँदै गएको भनिए पनि अझै ६२ प्रतिशत नेपाली बीमाको दायराभन्दा बाहिर देखिएका छन् । बीमा कम्पनीहरुले बजारमा प्रवेश पाएको आठ दशक पुग्नै लाग्दा जीवन बीमाको पहुँच ३८.५० प्रतिशत जनसंख्यामा मात्रै पुगेको बीमा प्राधीकरणको तथ्यांकले देखाउँछ ।

यो म्यादी, लघु म्यादी, र वैदेशिक रोजगार जीवन बीमा बाहेकको साउन मसान्तसम्मको तथ्यांक हो । जबकि गत आर्थिक वर्षको सोही अवधिमा ३८.१८ प्रतिशतमा बीमाको पहुँचमा थियो । यसरी हेर्दा एक वर्षको अवधिमा बीमाको दायर एक प्रतिशत भन्दा पनि कम अर्थात् शुन्य दशमलव १८ प्रतिशत मात्रै वृद्धि भएको देखिन्छ ।

बीमामा पहुँचको तथ्यांक गणना गर्दा जीवन बीमाको जनसंख्यालाई मात्र समावेश गर्ने अन्तर्राष्ट्रिय प्रचलन हो । निर्जीवन बीमा निश्चित अवधिको (म्यादी) हुने भएकाले बीमाको पहुँचमा समावेश गरिंदैन । 

आर्थिक वर्ष २०८०/८१ श्रावणसम्मको तथ्यांक अनुसार म्यादी, लघुम्यादी तथा वैदेशिक रोजगार बीमा समेतलाई जोड्दा ४४ प्रतिशतमा जीवन बीमाको दायरा विस्तार भएको बीमा प्राधिकरणले जनाएको छ । यसरी हेर्दा समेत अझै ५६ प्रतिशत आम नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० को श्रावणसम्मको तथ्यांक अनुसार कुल जनसंख्याको ४१.२३ प्रतिशत थियो ।

एक व्यक्तिले एकभन्दा बढी जीवन बीमा पनि गरेका हुन्छन् । यसकारण जारी गरिएका बीमालेखकै आधारमा बीमामा पहुँचको तथ्यांक यकिनका साथ भन्न सकिने अवस्था छैन् । यसका लागि दोहोपनाको तथ्यांकलाई पनि राख्नुपर्ने देखिन्छ । 

नेपालमा श्रावण मसान्तसम्म जीवन बीमा कम्पनीले १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७९ को साउन मसान्तसम्म जीवन बीमा कम्पनीले १५ अर्ब ५ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको प्राधीकरणको तथ्यांकले देखाउँछ । 

यो अवधिमा निर्जीवन बीमा शुल्क संकलनमा भने ह्रास आएको देखिन्छ । गतवर्षको साउनमा ४ अर्ब ४८ करोड २९ लाख बीमा शुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो महिनामा ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरे ।

हाल जीवन र निर्जीवन कम्पनी समान १४ वटा रहेका छन् । बीमा कम्पनीहरुले २ हजार ८०१ वटा शाखा कार्यालयमार्फत मुलुकभर बीमा सेवा दिँदै आएका छन । जसमध्ये जीवन बीमाका १ हजार ७ सय ८९ र निर्जीवन बीमाका १ हजार १२ शाखा रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved