नेपालमै पढाई सुरु हुँदा पनि किन अभाव छन् बीमा क्षेत्रमा 'एक्चुअरी' ?

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Nov 01, 2023 | 12:32:32 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वमै अत्याधिक माग रहेको एक्चुअरी जनशक्ति नेपालमा पर्याप्त नहुँदा नेपालका बीमा तथा अन्य वित्तीय संस्थाहरु अन्य देशकै भर पर्नुपर्ने बाध्यता छ । नेपालमा एक्चुअरीको माग ठूलो मात्रामा भएपनि जनशक्ति नहुँदा भारत लगायत अन्य देशहरुका एक्चुअरीको भर पर्नुपर्ने बाध्यता रहेको हो । 

जसको कारणले नेपालका बीमा कम्पनीहरुले साधारणसभा समेत समयमा गर्न सकि रहेका छैनन् । नेपालमा जनशक्ति नहुँदा बीमा कम्पनीहरुले भारतमा एक्चुअरी गराउनु पर्ने हुन्छ । भारतबाट एक्चुअरी गर्दा समय धेरै लाग्ने समस्या हुने नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारी बताउछन्। उनका अनुसार एक्चुअरीको लागि बीमा कम्पनीहरुले कागजात भारत तथा अन्य देशमा रहेका फाइनान्सियल कन्सल्टेन्सीमा पठाउनु पर्ने हुन्छ। त्यहाँबाट एक्चुअरी गरेर सो संस्थाले फेरि कम्पनीहरुमा पठाउने र कम्पनीले फेरि प्राधिकरणमा पठाउँनुपर्ने हुँदा अलि समय लाग्ने अधिकारीको भनाई छ। 

यति मात्र होईन, प्राधिकरणले पनि सो एक्चुअरी ठिक छ कि छैन भनेर चेक गर्न भारत नै पठाउँछ । प्राधिकरणले २ जनासँग एक्चुअरी एग्रीमेन्ट गरेको छ । जसमध्ये एकजना भारतीय नागरिक र अर्का एक जना नेपाली हुन्। यसो हुदाँ कम्पनीले गरेको एक्चुअरीमा प्राधिकरणले चेक गर्दा कैफियत देखिएमा फेरि प्राधिकरणले कम्पनीलाई र कम्पनीले भारतमा पठाउनु पर्ने हुन्छ । 

यही कारणले गर्दा समयमा नै बीमाङ्कीय मूल्याङ्कन नहुँने समस्या रहँदै आएको छ । साथै बीमा कम्पनीहरुले समयमा नै साधारणसभा समेत गर्न समस्या हुने गर्दछ । 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे पनि हरेक वर्ष एक्चुअरी गर्नु पर्नेपर्ने व्यवस्था रहेको तर नेपाली बजारमा एक्चुअरी गर्ने जनशक्ति नभएकोले समस्या भएको बताउछन् । एक्चुअरीको लागि नजिकको छिमेकि मुलुक भारतका एक्चुअरीको भर पर्नु परेको र उनीहरुले आफ्नो अनुकुलतामा सेवा दिने भएकोले ढिलाई तथा झन्झट हुने गरेको उनको भनाई छ ।

जनशक्तिको समेत अभाव रहेको र ऐनमा समेत प्रष्ट व्यवस्था नभएकोले एक्चुअरी गर्नुपर्ने अवधिमा पुनर्विचार गर्ने बारे छलफल हुनुपर्ने सीइओ पाण्डे बताउछन् । हरेक वर्षको सट्टा ३ वर्षमा एक पटक गर्नुपर्ने व्यवस्था गरिए सहज हुने उनको भनाई छ । त्यस्तै बीमा कम्पनीहरुको संख्या बढेकोले बीमा प्राधिकरणले पनि आफ्ना एक्चुअरी जनशक्ति बढाउनु पर्ने उनको सुझाव छ । हाल प्राधिकरणमा २ जना मात्र त्यस्ता जनशक्ति रहेको र बीमा कम्पनीको संख्या बढेकोले प्राधिकरणले जनशक्ति थप्नु पर्ने उनको भनाई छ । 

त्रिभुवन विश्वविद्यालयले एक्चुअरी साईन्स कोर्स पढाउने गरेको भए पनि सो कोर्स पास गर्ने विद्यार्थीले एक्चुअरी गर्न नपाउने भएकोले समस्या अझै उस्तै भएको सीइओ पाण्डे बताउछन् ।

किन छैनन् नेपालमा एक्चुअरी जनशक्ति ?

नेपालमा उक्त विषयको जनशक्ति नहुनुको कारण लामो समयसम्म नेपालमा सो विषयमा पढाई नै नहुनु हो। सो विषय पढ्नको लागि पनि भारत लगायत अन्य देशमा नै जानु पर्ने हुन्छ । उसो त, बेलायत, अमेरिकामा अनलाईनबाट नै परीक्षा दिएर पनि एक्चुअरी बन्न सकिन्छ । 

एक्चुअरीको अभाव र मागलाई ध्यानमा राख्दै त्रिभुवन विश्वविद्यालयले ७ वर्ष अगाडीदेखि सो विषय पढाउन थालेको छ । बेलायतको ईन्स्टीच्यूट एण्ड फेकल्टी अफ एक्चुएरीज संस्थाले पढाउने कोर्ष नै यहाँ पढाई हुने गरेको त्रिभुवन विश्वविद्यालयअन्तर्गत गणित विज्ञान स्कुलका कार्यक्रम संयोजक केशव राज फुलारा बताउछन् । 

टीयूले सो कोर्ष २०७३ साल देखि नै सुरु गरेको हो । ८ समेस्टरमा ४ वर्षको उक्त एक्चुअरी कोर्स पढ्न ५ लाख ३० हजार रुपैयाँ लाग्ने गर्दछ । टीयूले विज्ञान संकाय अन्तर्गत सो कोर्ष पढाउने गरेता पनि अन्य विषयमा १२ पास गरेकाले पनि पढन् पाउने कार्यक्रम संयोजक फुलारा बताउँछन् । उनका अनुसार कक्षा १२ मा १०० पूर्णाकंको गणित विषय पढेको र कम्तिमा सी ग्रेडमा पास भएको जो कोहिले सो विषय पढ्न पाउछन्। 

यद्यपि यो कोर्स पास गर्नेले सिधै एक्चुअरी गर्न पाउने पनि होइन । कार्यक्रम संयोजक फुलाराका अनुसार टीयूको उक्त पढाईहुने उक्त कोर्स पढाई सकेपछि नै भने एक्चुअरी भईदैन । एक्चुअरी बन्नको लागि विदेशी ईन्स्टीच्यूटबाट पास आउट हुनु पर्दछ । एक्चुअरी एउटा प्रोफेशनल कोर्ष हो । र एक्चुअरी बन्न सो सम्बन्धित पढाउने अन्य देशको ईन्स्टीच्यूटबाट पास हुनु पर्दछ । विश्वविद्यालयबाट होइन् । यो कोर्सले एक्चुअरी बन्नको लागि तयार मात्र बनाउने तर एक्चुअरी नै बनाउने भने होइन ।

अवसर तथा रोजगार

बीमा कम्पनीको एक्चुअरी नै गर्न नपाए पनि सो कोर्स पुरा गरेपछि विभिन्न बीमा कम्पनीहरु, नेपाल बीमा प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सामाजिक सुरक्षा कोष जस्ता अन्य कोषहरुमा रोजगारी पाईन्छ । विदेशको हकमा भने जुनसुकै वित्तीय संस्थामा यस सम्बन्धी रोजगारीको अवसर हुन्छ । 

टीयूबाट सो कोर्स पासआउट भएपछि नेपालमै सुरुवाती तलब नै ५० हजार माथि हुने फुलारा बताउँछन् । यदि बहिरको ईन्स्टीच्यूटबाट नै एक्चुअरी सर्टीफाई भइसक्दा यसको कमाईको दायरा फराकिलो हुने उनले बताए । 

नेपालको बीमा क्षेत्रमा मात्रै एक्चुअरीको माग ठूलो छ । नेपालमा हाल जीवन र निर्जीवन गरी २८ वटा, ७ वटा लघु बीमा र २ वटा पुनर्बीमा कम्पनी गरी जम्मा ३७ वट बीमा कम्पनीहरु छन् । सबैमा कम्तिमा २ जनाको दरले जोड्दा पनि ७४ जना एक्चुअरीको खाँचो छ । यो आँकडा बीमा क्षेत्रको मात्र हो ।

टीयूबाट पढेका हालसम्म यो विषयमा ६५ जना पास आउट भइसकेका छन् । जसमध्ये कोहि विदेशमा र केही नेपालकै बीमा कम्पनीहरुमा काम गरीरहेका छन् ।  टीयूमा अहिले १०१ जना सो विषय अध्यनरत विद्यार्थीहरु रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved