
चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमास (साउन, भदौ र असोज) मा नेपाल बीमा प्राधिकरणमा ६७ वटा मुद्धा दर्ता भएको छ । आर्थिक वर्षको साउन र भदौ महिनामा ४२ वटा र असोज महिनामा २५ वटा गरी पहिलो त्रैमासको अन्त्यसम्मा ६७ वटा मुद्धा दर्ता भएको हो ।
यस्तै प्राधिकरणले सो अवधिमा ५२ वटा मुद्धको फर्स्योट गरेको छ । जसमध्ये ४२ वटा ईजलासबाट र बाँकी १० वटा सहमतिबाट टुगिंएको प्राधिकरणले जनाएको छ । यसैगरी एउटा मुद्दा पुनरावेदनमा समेत परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणमा पहिलो त्रैैमासको अन्त्यसम्मा अझै २०६ वटा मुद्धा फर्स्योट हुन बाँकी रहेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा मात्र १९२ वटा मुद्धा टुगिंन बाँकी रहेको थियो । जुन चालु आर्थिक वर्षलाई सारिएको छ । त्यसैगरी, आर्थिक वर्ष २०७५/०७६ मा १०१ वटा मुद्धा अर्काे टुगिंन बाँकी थियो भने २०७६/०७७ मा १३५ र २०७७/०७८ मा १८३ वटा मुद्धा बाँकी रहेर अर्को वर्षका लागि सारिएको थियो । यसैगरी, २०७८/०७९ मा १८६ वटा मुद्धा फर्च्यौट हुन बाँकी रहेको थियो ।
प्राधिकरणमा मुद्धाको संख्या हरेक वर्ष बढ्ने क्रममा रहेको छ । पर्याप्त जनशक्ति अभावले मुद्धा टुग्यांउन ढिलाई हुने गरेको कर्मचारी बताउछन् ।