वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले साउन १५ देखि साउन २२ सम्मका लागि ११ हजार ५४५ कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्ने जनाएको छ।
लिलाममा राखेको शेयरमा संस्थापक समुह तर्फ ३ हजार ८८२.८० कित्ता र साधारण समुहतर्फ ७ हजार ६६२.२० कित्ता सेयर छन। लघुवित्तले गत जेठ १६ देखि १९ सम्म १०० बराबर ३० कित्ता अर्थात ३० प्रतिशतका दरले २ लाख ३३ हजार २८० कित्ता हकप्रद बिक्रि खुला गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो।
इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताका लागि आबेदन दिनुपर्नेछ। सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको साधारण शेयर पाउने छन।
प्रत्येक व्यक्ति वा संघसंस्थाले लघुवित्तले लिलाममा राखेको साधारण शेयरका लागि बोलपत्र पेश गर्न सक्नेछन। तर संस्थापक सेयरधनीले मात्र संस्थापक सेयरका लागि आबेदन दिन पाउनेछन। लघुवित्तको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ।
आबेदन फारम लिन र बुझाउन सिद्दार्थ क्यापिटलको कार्यालय नारायणचौर नक्साल, काठमाडौं तथा वोमी माइक्रोफाइनान्स भरतपुर, चितवन र सिद्दार्थ बैकको बिराटनगर, बिरगंज, सुर्खेत, नेपालगंज, पोखरा, बुटवल र धनगढी तोकिएका छन।
बोलकबोल दाताले लिलाम प्रक्रियामा सहभागी हुनका लागि आवश्यक रकम सिद्दार्थ बैंकको खाता नम्बर ००११५२७६६६५ मा रकम जम्मा गर्न सक्नेछन। साथै बोलकबोल दाताले गुड फोर पेमेन्ट मार्फत समेत बोलपत्र पेश गर्न सक्नेछन। हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ७ करोड ७७ लाखबाट १० करोड १० लाख पुग्नेछ।