बाहिरी चक्रपथः न बन्छ, न खारेज हुन्छ !

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 01, 2021 | 02:41:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बाहिरी चक्रपथ परियोजना अहिले अलपत्र छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका उच्च अधिकारीहरु नै यो परियोजना बन्नेमा विश्वस्त छैनन् । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै नयाँ बनाउनुपर्ने भएकाले यो परियोजना करिब करिब नबन्ने अवस्थाबाट गुज्रिएको छ ।

तर, ‘परियोजना बन्छ’ भनेर हल्ला पिट्दै घरजग्गा व्यापारीहरु दिनहु जग्गाको भाउ बढाउन तल्लीन छन् । आयोजना निर्माण सुरु गर्न वा अर्को अध्ययन प्रतिवेदन तयारका लागि सरकारले बजेट दिन पनि छोडिसक्यो । यस्तो अवस्थामा पनि जग्गाको भाउ भने निरन्तर उकालो लागिरहेको छ ।

प्रस्तावित रुटमा घना बस्ती

२०५८ सालबाट निर्माणको बहस सुरु भएको बाहिरी चक्रपथको प्रस्तावित रुट अहिले बस्तीले छोपिसकेको छ । जग्गाको भाउ अनुसार मुआब्जा दिन नसक्ने देखेपछि सरकार पछि हटेको अनुमान सहजै लगाउन सकिन्छ । 

यो परियोजनाको प्रस्तावित रेखाङ्कन अनुसार चोभार, भूतखेल, पाँगा, बालकुमारी, मच्छेगाउँ, सतुङ्गल, बलम्बु, बलम्बु चुनिखेल, पुरानो नैकाप, किट्नी भञ्ज्याङ, स्युचाटार किम्सी, डाँडा पैवा, सीतापाइला, इचंगुनारायण रानीवनदेखि पैयाँटासम्म थियो । धर्मस्थली, काभ्रेस्थली, फुटुङ, टोखा, खड्का भद्रकाली, बुढानिलकण्ठ, चपली, चुनीखेल, बालुवा, जगडोल भञ्ज्याङ, गोकर्णेश्वर, सनडोल, घट्टेखोलादेखि नयाँपाटीसम्म काठमाडौँ क्षेत्र पर्थ्यो । 

भक्तपुरपट्टि थली डाँछी, मनोहरा खोला, चाँगुनारायण, दुवाकोट, झौखेल, छालिङ, पकौनेपाटी, खरीपाटी, बागेश्वरी, सुडाल, ताथली, चित्तपोल, भातेढिकुरोसम्म रेखाङ्कन गरिएको छ । भक्तपूर क्षेत्रमा पर्ने अरनिको राजमार्ग, कटुञ्जे, दधिकोट, सिरुटारसम्म भक्तपूरको भूभाग रहने गरी रेखाङ्खन गरिएको थियो ।

ललितपुरतर्फ लुभु, सानागाउँ, हरिसिद्ध, थैव, भरुवारासी, धापाखेल, सुनाकोठी, बुङमती, खोकना, सानो खोकना हुँदै काठमाडौंको चोभार निस्किने गरी डीपीआर तयार पारिएको थियो । 

यी क्षेत्रमा अहिले घना बस्ती बसेको छ । जग्गाको भाउ आकाशिएको छ । चलनचल्तीमै आनाको २० लाखभन्दा माथि पुगिसकेका कारण सरकारले मुआब्जा दिन नसक्ने अवस्था सिर्जना भएको छ ।

फाइल लगानी बोर्डमा

बाहिरी चक्रपथको कुल ७२ किलोमिटर (डीपीआर अनुसार) लामो बन्ने भनिएको छ । योमध्ये काठमाडौंमा ३५.८ किमी, भक्तपुरमा २१.५ किमी र ललितपुरमा १५.८० किमी पर्छ । 

सरकारले २०६१ सालमै बाहिरी चक्रपथ आयोजनाको कार्यालय स्थापना गरेर काम सुरु गरेको भएपनि अहिले आएर सरकारबाटै यो परियोजनाले बेवास्ता ब्यहोरिरहेको छ । एकतर्फ चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिने निर्णय गर्ने र अर्को तर्फ परियोजनाले पठाएको फाइल लगानी बोर्डमा अड्काउने काम भइरहेको छ ।

अहिले परियोजनाको फाइल लगानी बोर्डमा विचाराधिन अवस्थामा छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी, लगानी बोर्डबाट स्वीकृत गराउनुपर्ने प्रावधानका कारण बाहिरी चक्रपथको काम बोर्डले हेरिरहेको तर, काम अघि बढाउन नसकेको बताएको छ । 

८० करोड स्वाहा, फेरि डीपीआर

८० करोड रुपैयाँ लागतमा तयार भएको डीपीआर अब काम नलाग्ने भएको छ । बस्ती नबस्दै डीपीआर तयार भएपनि काममा ढिलासुस्ति हुँदा अब नयाँ डीपीआर नबनाई नहुने भएको छ । 

पूरानो डीपीआर अनुसार बाहिरी चक्रपथको लागत २ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर अब लागत बढ्ने अनुमान गरेर २ अर्ब रुपैयाँ त डीपीआरमै लाग्ने गरी नयाँ डीपीआर बनाउने बहस सुरु भएको छ । 

सरकारले भने चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाहिरी चक्रपथ परियोजनालाई समेटेन । आयोजना खारेज भएको छैन भन्ने जनाउ दिन जम्मा १ करोड रुपैयाँ बजेट दिएर कर्मचारी पाल्ने मेसो मात्रै गरेको छ । 

चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा

२०७६ असोज ६ गते लगानी बोर्डले बाहिरी चक्रपथ निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनीलाई दिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा बसेको लगानी बोर्डको ४०औं बैठकले बाहिरी चत्रपथ निर्माणको काम सुरु गर्ने जिम्मा चिनियाँ कम्युनिकेशन पूर्वाधार कम्पनी (सीसीसीस) लाई दिने निर्णय गरेको हो । 

तर निर्माणको मोडालिटी तय नहुँदा चिनियाँ कम्पनीले पनि काम सुरु गर्न सकेको छैन । 

सडक किनाराबाट दायाँ बायाँ व्यवस्थित सहरीकरण, ८ लेनको सहडकसहित साइकल लेन, हरियाली बेल्ट, फुटपाथ, अपाङ्गमैत्री सडकपेटीको व्यवस्था हुने गरी १८ वर्ष अघि यसको डीपीआर तयार पारिएको थियो । 

सोही अनुसार आर्थिक वर्ष २०७४/७५ बाट पहिलो खण्ड निर्माणको काम अगाडि बढाउने तयारी थियो । चोभारदेखि सतुङ्गल खण्डको ६.६ किमी दुरीमा पाइलट प्रोजेक्टका रुपमा काम गर्ने तयारी अनुरुप २०७४ को जेठमा ८ हजार रोपनी अधिग्रहण योजना पनि बनेको थियो । तर, कित्ताकाट बढी हुँदा जग्गाको खण्डिकरण हुने भन्दै काम रोकियो । 

जग्गाको भाउले आकाश छोयो

बाहिरी चक्रपथ निर्माणको हल्लाले जग्गाको भाउ अचाल्की बढेको छ । २०६१ साल तिरबाटै बढ्न थालेको जग्गाको भाउ अहिले पनि रातारात बढिरहेकै छ । रियलस्टेट एजेन्सीहरुका अनुसार लामो रुटमा ८ लेनको सडक बन्ने भएपछि कुनाकुनाको जग्गाको भाउ पनि आकाशिएको बताउँछन् ।

२०६१/०६२ ताका रोपनीकै ६ देखि ७ लाख रुपैयाँ सो क्षेत्रको जग्गाको भाउ अहिले आनाकै १० देखि १२ रुपैयाँ पुगिसकेको छ । 

‘बन्छ रे बन्छ रे भनेको हल्लाको भरमा जग्गाको भाउ उकालो लाग्न थालेको अहिलेसम्म लागेको लाग्यै छ’ रियलस्टेट एजेन्सी आवर प्रोपर्टीका सञ्चालक भन्छन्, ‘काम मात्रै सुरु भयो भने रुटमा पर्ने सबै तिरको जग्गा आनाकै ५० लाख पुग्न बेर छैन ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved