कमलपोखरीमा ९ वटा चैत्यको प्रतिस्थापन, १५ दिनमा उद्घाटन गर्ने मेयर शाक्यको भनाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2022 | 12:47:33 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने  जानकारी दिएका छन् ।  पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् । 

‘काठमाडौँ महानगरपालिकाले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको छ,’ प्रमुख शाक्यले भने, ‘ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यो लगत्तै हामी पोखरीको उद्घाटन गर्छौँ ।’ 

पोखरी उद्घाटनसँगै बिहान र साँझपख स्वस्थ हावा र हरियालीको मनोरञ्जन लिदैँ घुमफिर गर्ने उपयुक्त स्थानका रुपमा यो पोखरीलाई विकास हुने उनको भनाई छ । उनले पोखरी पूर्ननिमार्णणको काम एक वर्ष अघि नै सम्पन्न हुनुपर्ने भए पनि कोभिडका कारण केही ढिला भएको बताए । 

‘पोखरीको किनारमा ९ वटा चैत्यको प्राणप्रतिस्थापन गर्ने कार्य आज सम्पन्न भयो । पहिलो चरणको काम ठेकेदारले १५ दिन भित्र सम्पन्न गर्छौ भनेका छन् । हामी पहिलो चरणको काम सम्पन्न हुने वित्तिकै कमलपोखरीको उद्घाटन गर्ने छौँ र दास्रो चरणको काम सँगसँगै सुरुवात गर्छौँ’ मेयर शाक्यले भने ।

उनले कमलपोखरी वरीपरी वृक्षारोपण गर्ने तयारी भएको पनि जनकारी दिए । 

‘यहाँका मठ–मन्दिरको संरक्षण गर्दै यो पोखरीमा ठमेल, हनुमानढोका, स्वयम्भू घुम्न आउँने पर्यटकलाई समेत आर्कषित गराउने उदेश्यका साथ पोखरी पुर्ननिर्माणको काम अघि बढाएका छौँ,’ उनले भने, ‘छिटै कमलपोखरीको उद्घाटन गरी यहाँको सम्पदालाई पर्यटनसँग जोड्छौँ ।’

एकातिर पानी अर्कोतिर हरियाली हेर्दै सबैले आनन्द लिने र ऐतिहासिक पर्यटकीय स्थलका रुपमा चिनाउने योजनासहित यो पोखरीको पुर्ननिर्माण अघि बढाएको उनको भनाई छ । महानगरपालिकाले कमल पोखरी वरीपरी चिल्ड्रेन पार्क, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, जिम हल, उद्यान र सार्वजनिक स्थलसहितको डिजाइन तयार पारेको र त्यहि अनुरुप काम अघि बढेको मेयर शाक्यले बताए ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले स्वच्छ वातावरणसहितको फराकिलो कमलपोखरीमा आइपुग्दा आफुलाई आनन्द महशुस भएको भन्दै जति सक्दो छिटो पोखरी उद्घाटनको तयारीमा रहेको जानकारी दिईन् । 

प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले करीब २३ रोपनी क्षेत्रफलमा पुर्ननिर्माण भैरहेको कमलपोखरी सहरी सौदर्य अभिवृद्धिका लागि उपयुक्त हुने बताए । 

काठमाडौँ महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँच ओटा मण्डप रहने जानकारी गराए । करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको उक्त पोखरी बास्तुशास्त्रमा आधारीत भएर निर्माण भैरहेको पनि बस्नेतले जानकारी दिए । 

 ‘पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिएको छ । पोखरी आसपासमा नेपालीपना झल्काउन झिँगटीका छानाको व्यवस्था गरेका छौँ । त्यसैगरी  विभिन्न ठाउँमा चैत्य र पाँचओटा मकरधार रहने छन्’ उनले भने । 

काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापाले काठमाडौँ महानगरपालिका रहेको यो पोखरी हेर्न, वस्न र केही समय मनोरञ्जनसहित समय बिताउन लायक हुने ढाँचासहित पुर्ननिर्माण गरिरहेको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved