सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गर्न ठेक्का लाग्यो, ३८८ करोड बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 09:50:05 AM मा प्रकाशित

laxmi  sunrise bank

सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाअन्तर्गतको दोस्रो खण्ड सूर्यविनायक–साँगाको निर्माण प्रक्रियाअघि बढेको छ । यसका लागि आयोजनाले गत कात्तिकमा यस खण्डको प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो । 

उक्त सडकखण्ड विस्तारका लागि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरेको थियो । सवारी चाप अत्यधिक रहने सूर्यविनायक–धुलिखेल सडक विस्तारको प्रस्तावित योजनाले छिट्टै गति लिने भएको हो । यस खण्ड विस्तार गर्न रु तीन अर्ब ८८ करोड ९३ लाख ९६ हजारमा ठेक्का लगाइएको छ । उक्त खण्डका लागि जेभीका रुपमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीको ठेक्का स्वीकृत भएको हो ।

आयोजनाअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार गर्न रु चार अर्ब ५६ करोड लागतमा ठेक्का लागि सकेको छ । जसको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । अहिले उक्त ठेक्का सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ । यसमा ठेक्का पाउने निर्माण व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मासमेत लिनुपर्ने जनाइएको छ । पुल निर्माणको लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) मा केही परिवर्तन हुँदा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकालेरु एक अर्ब लागत लाग्ने आयोजनाको अनुमान गरिएको हो । 

अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०÷२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ । यसका लागि छुट्टै ठेक्का आह्वान गरिने जनाइएको छ । यसको लागि प्रतिमिटर रु १५ लाख लागत अनुमान गरिएको छ । यसको अनुमानित लागत रु ९० करोड छ ।

उक्त डिपीआरअनुसार साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडक जाने–आउने लेन तल–माथि हुने भएको छ भने सर्भिस लेन निर्माण गर्न नसकिने अवस्था भएको अध्ययनले जनाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक अवस्था कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने भएको हो । आयोजनाका प्रमुख रवीन्द्रलाल दासका अनुसार यसमा अहिले भइरहेको लेन धुलिखेलबाट आउने एकतर्फि अहिलेकै सडकलाई बनाउने र सूर्यविनायकबाट धुलिखेल जाने अर्को सडक खोलाको तलबाट निर्माण गरिनेछ । गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने हुन्छ । सौ बीचमा तीन मिटरको ‘मेडियन’ निर्माण गर्नुपर्ने डिजाइनमा उल्लेख गरिएको छ ।

काठमाडौँबाट धुलिखेलतर्फ जाने लेन नयाँ पर्खाल लगाइने छ भने आउने लेन पहिलेकै रूपमा रहने जनाइएको छ । प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाको लागि करिब एक रु अर्ब मुआब्जा दिनुपर्ने अनुमान गरिएको छ । काभ्रेपलाञ्चोकको पूर्वी–दक्षणी क्षेत्र बिपी राजमार्ग हुँदै आवागमन हुने सवारी काठमाडौँ–पूर्वी तराई गर्छन् । 

उत्तरी नाका तातोपानी पुग्न पनि यही सडक प्रयोग हुन्छ । सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । आयोजनाले सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि गत साउन पहिलोसाता राजमार्ग छेउछाउमा सडक मापदण्ड भित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । 

सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि ‘कन्सल्ट्यान्ट हायर’ गरी डिपीआर गरिएको आयोजनाका डिभिजन इन्जिनियर शम्भुप्रसाद आचार्यले बताए । “सडकको डिजाइन र डिपीआरको काम सके लगत्तै टेण्डरको प्रक्रियामा गएका हौँ”, उनले भने । उनका अनुसार सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि चालू आर्थिक वर्षमा रु ७० करोड बजेट विनियोजन भएको थियो । सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना बहुवर्षीय हो । 

छ लेनको डिजाइन हुने उक्त सडक निर्माणको काम नेपाल सरकारले गर्ने भएको हो । सडक विभागले केही वर्षदेखि धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहहेकाले उक्त सडकखण्ड विस्तारका लागि यसअघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैँले निर्माण गर्ने जनाउँदै आइएको थियो । उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नगर्ने बताएपछि सरकारले निर्माण प्रक्रिया थालेको हो । सडक करिब १६ किलोमिटर दूरीको छ । यसमध्ये काभ्रेपलाञ्चोकमा १० र भक्तपुरमा छ किलोमिटर लम्बाइको पर्दछ । 

सरकारले आव २०७७/७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरुगर्न रु एक अर्ब २० करोड विनियोजन गरेको थियो । अघिल्लो आवको बजेटमासमेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नती विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो । डिभिजन सडक कार्यालय भक्तपुरले विसं २०७६ मा सडक निर्माणस्थल खाली गराउन रुख कटानलगायत काम गर्दै आए पनि केही समयमै सोकार्य रोकिएको थियो । 

सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र २ का नागरिक काठमाडौँ आउजाउ गर्दछन् । सडक विस्तार सम्पन्न भएपछि पनि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुल्ला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved