चक्रपथमा बिजुली बस चलाउने योजनामा १२ विदेशी कम्पनी इच्छुक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 02:50:02 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डले झण्डै चार वर्षपछि बिजुली बस चलाउने सन् २०१९ को लगानी सम्मेलनको 'सो केस' खोलेको छ । उसले विगतकै योजना मुताविक ढिलै भए पनि ‘इलेक्ट्रिक बस र्यापिड ट्रान्जिट (ईबीआरटी) इन रिङरोड काठमाडौँ’ नामक परियोजना अघि बढाउन लागेको हो । बोर्डले अहिले पहिलोचरणमा सम्भाव्यता अध्ययनका लागि प्रक्रिया अघि बढाएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने भनिए पनि सार्वजनिक यातायातको साधनमा विद्युतीय सवारीको प्रयोग अत्यन्त कम रहेको सन्दर्भमा बोडको प्रयास सकारात्मक भए पनि गति भने निक्कै सुस्त देखिएको छ । साझा यातायातले ५७ करोड खर्चेर खरिद गरेका ३७ वटा बिजुली बस त्यसै थन्किएर बसेको परिस्थितिमा लगानी बोर्डले काठमाडौँ उपत्यकामा बिजुली बस चलाउने योजना अघि सारेको छ ।  

यो सन् २०१९ को लगानी सम्मेलनमै ‘सो–केस’ गरिएको परियोजना हो । त्यतिबेला परियोजना विकासका लागि प्रस्ताव नआएका पनि होइनन् । तर, बोर्डले ‘क्राइटेरिया मिट’ भएन भनेर आएका प्रस्तावहरु ‘रिजेक्ट’ गरेको थियो ।

यसपछि लगानी बोर्डको ४०औँ बैठकले पुनः यो परियोजना अघि बढाउन विस्तृत अध्ययन गर्ने निर्णय गर्यो । सोही अनुसार अध्ययनका लागि परामर्श दाता छनोट गर्न लगानी बोर्डले प्रस्ताव आह्वान गरेको थियो। २०२३ फेब्रुअरी ५ मा २०२३ मार्च १२ को कार्यालय समयभित्र प्रस्ताव पेश गर्न सकिने गरी आह्वान गरिएको सूचनामा १२ कम्पनीले आवेदन दिएका थिए । मार्च २३ मा कम्पनीहरुको प्रस्ताव खोलिसकिएको छ । 

‘सबै कम्पनीहरु विदेशी छन्, एक, दुइ वटाले नेपाली कम्पनीहरुसँग जेभीमा काम गर्ने चाहना राखेका छन्, अहिले प्रस्तावको मूल्याङ्कन सुरु गरिएको हुनाले नाम सार्वजनिक गरिएको छैन’, लगानी बोर्ड स्रोत भन्छ । 

१२ वटै कम्पनीहरुले गरेको प्रस्तावका आधारमा ‘सर्ट लिस्ट’ तयार गर्ने र त्यसपछि एक कम्पनी छनोट गरेर त्यसलाई परामर्श दाता कम्पनीका रुपमा काम गर्ने अख्तियारी दिइनेछ । कम्पनीले बढीमा १८ महिना लगाएर अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ ।

‘अध्ययन गर्ने जिम्मा पाएको कम्पनीले डेढ वर्ष जति लगाएर अध्ययन सक्नेछ, अध्ययनमा उसले काठमाडौँको रिङरोडमा विद्युतीय सार्वजनिक सवारी चलाउन सकिन्छ की सकिँदैन भन्ने कुरो स्पष्ट रुपमा भन्नेछ, यदि सकिन्छ भन्ने देखियो भने लगानी कति लाग्छ र कति वर्षमा लगानीले प्रतिफल दिन थाल्छ भन्ने विषय पनि यहीँ अध्ययनमा आउँछ’, लगानी बोर्ड स्रोतले भनेको छ । त्यसपछि बल्ल प्रोजेक्ट विकासको चरणमा प्रवेश हुनेछ ।  अहिले भने अध्ययन मात्रै सुरु गर्न लागिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved