धरहरा उद्घाटनको २ वर्ष पुरा, सर्वसाधारणले भने अझै चढ्न पाएनन्, किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2023 | 11:02:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बैशाख १२ गते । २०७२ साल बैशाख १२ गते महाभूकम्प गएको ८ वर्ष पूरा भएको छ । भूकम्पले ढलेका संरचनाको पुनःनिर्माण करिब सकिएको छ । तर, भूकम्पले ढलाएको धराहराको भग्नावशेषलाई संरक्षण गर्ने गरी नयाँ धराहरा बनाउन लागिएको थियो । यो धराहरा अझै निर्माण सकिएको छैन ।

रोचक कुरा त के छ भने, निर्माण नसकिएको भएपनि धराहराको उद्घाटन भएको पनि हिजो सोमबार २ वर्ष पूरा भइसकेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण नसकिँदै (४२ प्रतिशत मात्रै निर्माण सकिएको अवस्थामा) २०७८ बैशाख ११ गते तामझामका साथ धराहराको उद्घाटन गरेका थिए । तर, अझै पनि करिब १५ प्रतिशत काम बाँकी छ ।

यो धराहरा निर्माणको काम रमण कन्स्ट्रक्सनले गरिरहेको छ । रमण महतो यसका सञ्चालक हुन् । रमण कन्स्ट्रक्सनका परियोजना व्यवस्थापक रमेश पौडेलले टावरतर्फको ९८ प्रतिशत काम सकिएपनि बगैँचादेखि पार्किङ क्षेत्रको ‘फिनिसिङ’को काम बाँकी छ ।

‘टावरतर्फ २ प्रतिशत जति काम बाँकी छ, अन्य क्षेत्रको काम १५ प्रतिशत हाराहारीमा बाँकी छ’ रमण कन्स्ट्रक्सनका परियोजना व्यवस्थापक रमेश पौडेलले भने । सुन्धाराको भने पुनर्निर्माण नै सुरु गरिएको छैन । भत्किएर अहिले भग्नावशेष मात्रै रहेको पुरानो धरहरालाई प्रवलीकरण गर्नका लागि पुरातत्व विभागले स्वीकृति नै दिन बाँकी छ । 

फेरि म्याद थपको तयारी

धराहराको काम गत पुसमै सकिनुपथ्र्यो । तर, म्याद सकिएपनि काम भने सकिएको छैन । ठेकदार कम्पनी रमण कन्स्ट्रक्सनले १ वर्ष म्याद थप गर्नका लागि लविङ गरिरहेको छ । 

शहरी विकास तथा भवन निर्माण विभागका पुनर्निर्माण इकाइ प्रमुख प्रभाकरलाल कर्णले एक वर्षका लागि म्याद थप गर्न निर्माण कम्पनीले प्रस्ताव गरेको भएपनि आगामी असार मसान्तसम्मको म्याद दिन लागिएको छ । 

विभागले निर्माण कम्पनीले आर्थिक मन्दीका कारण तीव्र गतिमा काम गर्न नसकिएको भन्दै १ वर्ष म्याद थपका लागि प्रस्ताव गरेको छ ।

सर्वसाधारणका लागि कहिले खुल्ला धराहरा

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४२ प्रतिशत मात्रै काम सकिएको बेला उद्घाटन गरेको भएपनि सर्वसाधारणले धराहरामा कहिले प्रवेश पाउँछन् भन्ने यकिन छैन । अझै बगैँचा र पार्किङको काम धेरै बाँकी रहेकाले टावरको काम सकिएपनि सर्वसाधारणका लागि खुलाउने अवस्था छैन ।

यसकारण शहरी विकास तथा भवन निर्माण विभागले असार मसान्त सम्मको समय दिएपनि त्यो अवधिमा पनि निर्माण सकिएर सर्वसाधारणका लागि खुला हुने ग्यारेन्टी छैन । 

हिजो बैशाख ११ गतेदेखि सर्वसाधारणलाई धरहरा चढ्नका खुला गर्ने लक्ष्य भएपनि काम नसकिँदा लक्ष्य अनुसार खुलाउन नसकिएको विभागको पुनर्निर्माण इकाइ प्रमुख कर्ण बताउँछन् । 

‘काम सकेपछि निर्माण कम्पनीले हामीलाई जिम्मा लगाउछ, हामीले काठमाडौँ महानगरपालिकाको जिम्मा लगाउँछौँ’ कर्ण भन्छन्, ‘अहिले नै यो मितिमा सकिन्छ भन्ने अवस्था रहेन । काम ढिलो गरी भइरहेको छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved