बिजपाटी अनुगमन : जथाभावी खनिएका खाल्डाखुल्डीले 'मृत्यु मार्ग' नबनोस् उपत्यकाका सडक !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2023 | 06:59:59 PM मा प्रकाशित

laxmi  sunrise bank

विहिबार अपरान्ह झमझम पानी परिरहेको थियो । कालिमाटी त्रिपुरेश्वर सडकमा गाडीहरु आफ्नै रफ्तारमा दौडिरहेका थिए । कतिपय बेला सडकमा पारिएको खाल्डाखुल्डीमा गाडीहरु घ्याच्च हुन्थे । चक्का परेको खाल्डोभित्रको लेदो हिलो गुडिरहेका अन्य गाडी र यात्रुमा छ्यापिन्थ्यो । मोटरसाइकल चालक र त्यसमा रहेका यात्रुहरु बढी मारमा पर्थे । सडकमा यत्रतत्र खनिएका खाल्डाले मोटरसाइकल झन् दुर्घटनाको जोखिममा देखियो ।

आज उपत्यका क्षेत्रको सडक अवलोकन तथा अनुगमनमा निस्किएको बिजपाटीको टोलीले हेर्दाहेर्दै उद्योग विभाग छिर्ने मुखैमा विद्युत प्राधिकरणले खनेको खाल्डोमा बा ११ च ४९४४ नम्बरको निजी कार फस्यो । कारभित्र रहेका ३ जना निस्किएर बल्लबल्ल खाल्डोबाट धकेलेर कार निकाले । उनीहरु भने हिलोले विरुप बने ।

विहिबार विहान १० बजेको समयमा सोल्टी मोड नजिकै पनि गाडीहरु त्यस्तै समस्यामा थिए । नजिकैको पेट्रोलपम्प अगाडि प्राधिकरणले तार भूमिगत गर्न खनेको खाल्डोका कारण वर्षा हुँदा गाडी ‘पास’ गर्न चालकलाई हम्मेहम्मे परिरहेको थियो । 

केही अघि काठमाडौँको व्यस्त चोक कलंकीमा ठुला ट्रक र यात्रुबाहक बस नै फसेर सडक आवागमन नै प्रभावित भएको थियो । अहिले कलङ्की नागढुङ्गाको सडक यसैगरी भत्काएर ठुलाठुला खाल्डाखुल्डीले सवारी आवागमन नै प्रभावित बनेको छ । लामो समय भइसक्दासमेत व्यवस्थापन हुन सकेको छैन । सडकमा देखिएको निर्माणको लापरबाहीपूर्ण गतिविधिले उपत्यकाका सडक 'मृत्युमार्ग' बन्ने खतरा बढीरहेको छ ।

‘जताजतै खाल्डा छन्, अफिस टाइममा यात्रुहरु छिटोछिटो भनिरहेका हुन्छन्, खाल्डाखुल्डीले गर्दा गाडी चलाउन समस्या भइरहेको छ’ मान्छे चढाउन गाडी रोकेका एक जना चालकले बिजपाटीसँग भने, ‘कलङ्कीबाट यता आउँदा (कलंकीबाट कालिमाटीतिर आउँदा) त झन यति ठूलो खाल्डो छ की, गाडी नै पल्टेला जस्तो हुन्छ ।’

त्यस्तै, अहिले त्रिपुरेश्वरको ‘बस बिसौनी’ विद्युत प्राधिकरणकै तार र अन्य सामग्रीले पुरिएको छ । जसका कारण टेकुतिरबाट आउने सवारी साधनहरु त्रिपुरेश्वरमा रोकिँदैनन् । त्रिपुरेश्वरमा ओर्लिनुपर्ने यात्रुहरु आफ्नो गन्तव्यभन्दा फरक ठाउँमा ओर्लिनुपर्ने अवस्था छ । 

यस्तै, बालाजुतिरबाट आउँदा सोह्रखुट्टे उकालोमा (पकनाजोल जाने गौँडा नजिक) विद्युत प्राधिकरणले थुपारेका समानका कारण ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न सकस परेको देख्न सकिन्छ । यस क्षेत्रमा पैदल यात्रीहरु हिड्नै नसक्ने अवस्था छ । उकालोबाट जोरले दगुरेर आएका गाडीहरु झ्याप्प रोक्नुपर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

‘बोहोराटारबाट आएको, यता छिर्नुपर्ने (पकनाजोल चोक र ठमेल तिर देखाउँदै) यहाँ साइड लाउने ठाउँ थियो, अहिले बिजुलीका तार हाल्न पाइपहरु राखिएको रहेछ, साइड लउनै सकिएन’ एक जना ट्याक्सी चालकले भने, ‘अब लैनचौर पुगेर फर्काउनुपर्ला ।’

समयमै काम सम्पन्न गर्नुको सट्टा सडक विभाग र विद्युत प्राधिकरणबीच आरोप प्रत्यारोप

यसरी काठमाडौँमा विद्युतका तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने भनेर सडक खनेर अलपत्र छोडिँदा सवारी साधन र पैदल यात्रीहरु समस्यामा परिरहे पनि सडक विभाग र विद्युत प्राधिकरण भने आफ्नै कुरा माथि पार्न उद्यत छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा आफैँले विद्युत प्राधिकरणले सम्झौता अनुसार सडक मर्मत नगरिदिएपछि अहिले समस्या आएको दावी गर्छन् ।

’सडक विभागले चिल्लो बनाएको हुन्छ, एउटा निकायको पाइप फुट्छ, अनि सडक विग्रिन्छ, विद्युत प्राधिकरणले पनि तार पुर्न खनेको खाल्डोमा कालोपत्रे गरिदिँदैन माटो मात्रै भरिदिन्छ, अनि गाली चाहिँ सडक विभागले खाइरहेको छ’ सचिव शर्माले भनेका छन्, ‘म सडक विभागमा हुँदा विद्युत प्राधिकरणले हरेक दुईदुई सय मिटरमा खन्ने भनेर अनुमति दिएको हो, त्यो एमओयूमा कुलमान जी र मैले नै हस्ताक्षर गरेका छौँ । 

तर, अहिले सम्झौता विपरित जथाभावी खनियो, सडक विभागले यसो नगर्नुस् भन्दा सहर सौन्दर्यका लागि गर्न खोजिएको काममा सडक विभाग बाधक बन्यो भनेर हल्लाखल्ला गरिन्छ ।’

यता, विद्युत प्राधिकरण भने सडक विभागले अनुमति नदिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास तार भूमिगत गर्न नपाएको बताउँछ । अन्यत्र पनि विभागले भनेजस्तो काम नै नभएको नभई प्राधिकरणले खनेका ठाउँमा कालोपत्रे नै गर्ने काम भइरहेको तर, केही ढिलाई हुन गएको प्राधिकरणका सुरेश भट्टराई बताउँछन् । 

एक खण्डको सडक खनेर तार तानेर पुर्न र सफा गर्न १ महिनादेखि ४५ दिनसम्म लाग्ने भएकाले केही ढिलाई भएको हुनसक्ने भए पनि खनेर त्यसै छोडिदियो भन्नु गलत भएको बरु, सडक विभागले नै २ वर्ष अगाडिदेखि खन्न माग गरिएको ठाउँमा अनुमति नदिएको भट्टराईको भनाइ छ ।

‘हामीले सडक विभागसँग मुख्य सडकमा तार विछ्याउनका लागि खन्नुपर्ने भन्दै अनुमति मागेको २ वर्ष वित्न लाग्यो, अहिलेसम्म विभागले सडक खन्ने अनुमति नदिँदा आयोजनाको म्याद नै धकेल्नुपर्ने अवस्था आएको छ’ उनले भने, ‘त्यहीँ भएर रत्नपार्क वरपर, माईतिघरदेखि तिनकुनेसम्म, एयरपोर्ट आसपास र सिंहदरबार छेउछाउ सडक खन्न नपाएको हुनाले तार भूमिगतको काम गर्न पाएका छैनौँ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved