एयरपोर्टमा घोप्टिएर मन्त्रीले माटो ढोग्दैमा कर्णालीको विकास हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2023 | 10:39:40 AM मा प्रकाशित

laxmi  sunrise bank

२०७९ साल चैत १५ गते उपप्रधान एवम् रक्षामन्त्री भएपछि पूर्णबहादुर खड्का पहिलोपटक गृह जिल्ला सुर्खेत पुगे । उनले सुर्खेत विमानस्थलमा जहाजबाट ओर्लनासाथ शीरले भुई छोए, अर्थात् माटो ढोगे । लगत्तै उनले आफू कर्णालीको जनप्रतिनिधिको रहेको र कर्णालीको समृद्धि जहिल्यै आफ्नो प्राथमिकतामा रहेको भन्न भ्याए । खड्काले कर्णालीको माटोले आफूलाई राम्रो काम गर्ने तागत, आशिर्वाद र शुभकामना प्रदान गरिरहोस् भनेर कर्णालीको धर्ती ढोगेको पनि भने ।

तर, व्यवहार हेर्दा कर्णालीको समृद्धि खड्काको प्राथमिकतामा नरहेको छनक पाइन्छ । किनकी, कर्णालीमा खुल्न लागेको एउटा विशाल उद्योगका लागि पटक पटक सहयोगको याचना गर्दा पनि उनीबाट लगानीकर्ताले कुनै सहयोग पाएका छैनन् । 

सुर्खेतको पञ्चपुरीमा सूर्यतारा सिमेन्ट उद्योग खोल्न उद्योगी मुकुन्द तिमिल्सिनाले लगानी बोर्डबाट १४ अर्ब २७ करोड लगानी स्वीकृत गराएका थिए । यो लगानी स्वीकृत हुँदा खड्काकै पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र प्रधानमन्त्रीको हैसियतमा लगानी बोर्डको अध्यक्ष थिए । लगानी स्वीकृत पश्चात लगानी बोर्डले सडक विभागलाई पहुँचमार्ग पुर्याइदिन र विद्युत प्राधिकरणलाई उद्योग रहने स्थानमा विद्युत पुर्याइदिन पटकपटक पत्राचार गरेको छ । तर, सडक विभाग र विद्युत प्राधिकरणले २ वर्ष बितिसक्दा पनि काम सुरु गरेका छैनन् । 

पटक पटक ताकेता गर्दा पनि काम अघि नबढेपछि उद्योगी तिमिल्सिनाले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई गुहारेका थिए । उनको गृह जिल्ला पनि भएकाले आफ्नै जिल्लामा खुल्न लागेको उद्योगका लागि खड्काबाट सहयोग पाउने अपेक्षामा तिमिल्सिना थिए । तर, खड्काले कुनै सहयोग गरेनन् । खड्काले सहयोग गर्ने आश्वासन दिने, सहयोग गर्ने प्रतिवद्दता दिए पनि अहिलेसम्म पनि केहि पनि सहयोग नगरेको तिमिल्सिनाको गुनासो छ  ।

उपप्रधानमन्त्री भएपछि सुर्खेत पुग्दा कर्णालीको विकास र समृद्धि आफ्नो प्राथमिकतामा रहेको भन्दै माटो ढोगेका खड्काले आफ्नै जिल्लामा खुल्न लागेको उद्योगका लागि असहयोग गरेपछि लगानीकर्ताहरु निराश भएका छन् । उद्योग सञ्चालनका लागि २० मेगावाट बिजुली र सुर्खेतको बराहतालस्थित उद्योगको खानीसम्म जाने १५ किलोमिटर पहुँचमार्ग (हाल गोरेटो बाटो २७ किलोमिर भएको) पहिलो आवश्यकता हो । तर, २ वर्षदेखि पूर्वाधार निर्माण गरिदिन गुहार माग्दै तलदेखि मन्त्रीसम्म पुग्दा पनि कतैबाट सहयोग नपाएपछि खिन्न भएका लगानीकर्ताहरुले हरेष खाएका छन् । उनीहरु हात झिक्ने मनस्थितिमा पुगेका छन् ।

उद्योग खुल्ने टुङ्गो नहुँदै स्थानीय नेताहरुले आफूहरुका ४ सय ट्रक चलाउनुपर्ने, आफ्ना कार्यकर्तालाई काम लगाउनुपर्ने जस्ता माग राखेर हैरानी दिइरहेका छन् । धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमत नामक पार्टीका कार्यकर्ताले चन्दा मागे, उद्योग रहने स्थानमा पार्टीको झण्डा गाडेर विरोध गरे । आफूले किनेको जग्गा भएकाले चन्दा नदिने अडान लिँदै तिमिल्सिनाले ४० बिगाहा जग्गामा तारबार लगाएका छन् ।

उमेरले ६५ वर्ष पुगेका तिमिल्सिना अझै पनि झिनो आशा बोकेर बेलाबेला लगानी बोर्ड धाइरहन्छन् । पछिल्लो पटकको भेटमा लगानी बोर्डका एक जना अधिकारीले तिमिल्सिनालाई ‘तपाईको अनुहारमा आजभन्दा २ वर्ष अगाडी जुन चमक थियो, जुन उत्साह थियो, आज त्यो देखिनँ सर, हामीले हाम्रो तर्फबाट धेरै कोशिस गर्दापनि विद्युत र पहुँचमार्गको पूर्वाधार जुटाइदिन सकेनौँ, यो देशको नियति नै यस्तै रहेछ’ भने । ति अधिकारीको कुरा सुनेर तिमिल्सिना लगानी बोर्डको कार्यालयभित्रै भावुक बने ।

बिजपाटी सँगको कुराकानीमा पनि लगानी बोर्डका ति अधिकारीले मुकुन्द तिमिल्सिनाले कतैबाट सहयोग नपाउँदा कर्णाली प्रदेशकै ठूलो उद्योगका रुपमा आउन लागेको सूर्यतारा सिमेन्ट उद्योग खुल्ने सम्भावना टर्दै गएको बताएका छन् । 

‘अन्तिम सम्झौताका लागि बोलाउँदा उहाँहरु आउनु भएन, हामीले भेटघाटका लागि भएपनि आउनुस् भनेपछि उहाँ (मुकुन्द तिमिल्सिना) आउनुभयो, २ वर्षसम्म पहुँचमार्ग र बिजुलीको पूर्वाधार बनाउने काम सुरु नभएपछि उहाँ निराश हुनुहुन्छ’ लगानी बोर्डका ति अधिकारीले भने, ‘हामीले पटक पटक भौतिक पूर्वाधार मन्त्रालय र उर्जा मन्त्रालयमा पत्र पठाउँदा पनि केही लागेन । कर्णालीमा उद्योग खोल्छु भनेर अघि बढेको मान्छेलाई प्रोत्साहन गर्नुको सट्टा उल्टै निराश बनाउने काम भयो । यो देखेर हामी पनि दुःखी छौँ ।’

तिमिल्सिनाका अनुसार उनलाई कर्णालीका नेताहरुमा जनार्दन शर्माले सहयोग गरेका थिए । अहिले पनि शर्मा बेलाबेला फोन गरेर ‘प्रोसेस’ के कति अगाडी बढ्यो भनेर सोधिरहन्छन् । जवाफमा तिमिल्सिना भन्छन्, ‘तपाई ठाउँमा हुनुहुन्न, अब मसँग कुर्नुबाहेक अर्को विकल्प छैन, एक न एक दिन त होला नि ।’

यसअघिः

कर्णालीमा खुल्न लागेको पहिलो सिमेन्ट उद्योगलाई कर्णालीबाटै आएका मन्त्रीको असहयोग

कुलमानले बिजुली दिन नसकेपछि नखुल्ने भयो १४ अर्बको सिमेन्ट उद्योग

सम्राटबाट बाहिरिएका ‘मुकुन्द’: जसले ‘सूर्यतारा’का लागि १४ अर्ब लगानी स्वीकृत गराए

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved