आइजीपीको आदेशपछि नयाँ सवारीमा ट्राफिकको धरपकड, शोरुमबाट बदमासी भएको गुनासो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2019 | 05:28:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ बाइक चलाएका पोखराका दिपेश केसीलाई महानगरीय ट्राफिक प्रहरीले रोक्नलाई निर्देशन दियो। ट्राफिक नियम उल्लङ्घन गर्नु भएको छ, लाइसेन्स देखाउनु भन्दै ट्राफिक प्रहरीले उनको बाइकको चाबी लिए। 

आफुले के नियम उल्लङ्घन गरेको थाहा नभएको बताएका केसीलाई ट्राफिक प्रहरीले नयाँ सवारीमा रातो नम्बरको प्लेट नराखी चलाउनेलाई कारबाहीको आदेश छ भन्ने जवाफ दिए। 

आफुले ५ दिनअघि मात्रै शो रुमबाट नयाँ बाइक निकालेको बताउदै केसीले आफ्नो बाइकमा सेतो रंगले लेखिएको कालो प्लेट भएको बताए। तर ट्राफिक प्रहरीले 'अन टेस्ट' नम्बर प्लेट राखेर सवारी चलाउनेलाई कारबाही गर्नलाई आइजीपीबाटै ठाडो आदेश आएको भन्दै रातो नम्बर प्लेट राखेर चलाउन भन्दै केसीको बाइक प्रहरी वृत्त कार्यालय लैजान सिपाहीलाई निर्देशन दिए। 

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले शुक्रबार मात्रै अन टेस्ट नम्बर प्लेट राखेर सवारी चलाउने ३४ जनालाई कारबाही भएको बिजपाटी डटकमलाई बताए। कारबाहीमा पर्ने मध्ये धेरै जसो मोटरबाइक चलाउने भएको उनले बताए। 

अन टेस्ट नम्बर प्लेट राखेर चलाउनेलाई पहिलेदेखि नै कारबाही हुँदै आएपनि आइजीपी सर्वेन्द्र खनालबाट ठाडो आदेश भएकाले धरपकड बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

अस्थायी नम्बर प्लेट बोर्डरबाट गोदामसम्म ल्याउनलाई मात्र प्रयोग हुने भएकाले किनिसकेपछि त्यहाँको यातायात ब्यवस्था बिभागमा दर्ता भएपछि मात्र चलाउन पाउने व्यवस्था भएको महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटी प्रमुख इन्स्पेक्टर धर्मेन्द्र रावलले बताए। 

सवारी साधन बिक्रि गर्ने आधिकारिक बिक्रेता 'शोरुम' बाट किनेपछि रातो नम्बर प्लेट राख्नलाई केहि किलोमिटर गुडाउनलाई अनुमती भएपनि हजारौं किलोमिटर गुड्दा समेत रातो नम्बर प्लेट नराख्नेको संख्या बढेको इन्स्पेक्टर रावलको भनाई छ।  

ट्राफिक नियमअनुसार अन टेस्ट नम्बर प्रयोग गरेर यति उति किलोमिटर गुडाउन पाइने भन्ने नभएको इन्स्पेक्टरले स्पष्ट पारेका छन। अस्थायी नै भएपनि नम्बर रातो प्लेटमा लेखेर मात्र चलाउन पाइने र स्थायी नम्बर प्लेट आएपछि त्यसलाई परिवर्तन गर्नुपर्ने उनको भनाई छ। 

कागजपत्र भएपछि स्थायी नम्बर प्लेट नआउँदा सम्म अन टेस्ट नम्बर प्लेटमा अन टेस्ट लेखेर चलाउन पाइन्छ भन्ने गलत कुरा सवारी बिक्रि गर्ने शोरुमले भनेकाले सर्वसाधारण मारमा परेको इन्स्पेक्टर रावलको भनाई छ। आफुहरुले शोरुमलाई अस्थायी भएपनि रातो प्लेटमा नम्बर लेखेर मात्र ग्राहकलाई सवारी बिक्रि गर्नलाई निर्देशन दिएको उनको दाबी छ। 

पछिल्लो समय शोरुमबाट नयाँ सवारी लिएपछि स्थायी नम्बर नआउँदासम्म अन टेस्ट नम्बर प्लेट राखेर सवारी चलाउनेको संख्या धेरै छ। अन टेस्ट नम्बर प्लेट राखेको अवस्थामा दुर्घटना भएमा दोषी पत्ता लगाउन गाह्रो हुने भएकाले बिलबुक आउने अवधिसम्मलाई रातो नम्बर प्लेटमै अस्थायी नम्बर राखेर सवारी उपलब्ध गराउनलाई सवारी साधनको आधिकारिक बिक्रेतालाई निर्देशन दिईएको छ।  

ट्राफिक प्रहरीले अहिले दुई पांग्रे सवारी बिशेष कार्यक्रम ल्याएको जानकारी दिंदै इन्स्पेक्टर रावलले सबैले मिलेर ट्राफिक नियम पालना गरे मात्र दुर्घटना न्यूनीकरण हुने बताए। आफु बचौं र अरुलाई पनि बचाउँ भन्ने भावना सबैमा हुनुपर्ने उनको भनाई छ। 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved