नाडा नेतृत्वको लागि चौधरी र थापा मैदानमा, कसको पक्षमा कति छ मत ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2021 | 03:53:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपालको चुनावी साधारणसभा भदौ २५ मा हुँदैछ । ध्रुव थापा र करण चौधरीले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । 

ध्रुव थापा काठमाडौँ बाहिरका साना तथा मझौला अटो व्यवसायीको प्रतिनिधित्व गर्दै आफू अध्यक्षको उम्मेद्वार रहेको बताउँछन् । करण चौधरी भने उम्मेद्वारी घोषणा गरेपनि खासै बोलेका छैनन् । यद्यपी, उनी कर्पोरेट हाउसको प्रतिनिधित्व गर्छन् । 

नाडामा ३ हजार ३६५ जना सदस्य छन् । यी सबैले मतदान गर्न पाउने भएकाले यदि सहमतिमा नेतृत्व चयन नभएको खण्डमा मतदान हुन्छ । तर, अध्यक्ष कृष्ण प्रसाद दुलाल दैनिकजसो सहमतिमै नेतृत्व हस्तान्तरण गर्ने अभियानमा खटिईरहेका छन् ।

कर्पोरेट हाउसको पनि मलाई समर्थन छः थापा

अध्यक्षका प्रत्याशी थापा आफू काठमाडौँ बाहिरका व्यवसायीको प्रतिनिधित्व गर्ने भएपनि आफूलाई कर्पोरेट हाउसहरुले पनि समर्थन गरेको दाबी गर्छन् । गोल्छा समूह, सुरज वैद्यको समूह, लक्ष्मी ग्रुप लगायतका कर्पोरेट हाउसको समर्थन आफूले पाउनेमा थापा ढुक्क छन् ।

यति मात्रै नभई, पूर्व अध्यक्षहरुले पनि आफ्नो लामो समयको नाडा प्रतिको लगाव देखेको हुनाले आफूलाई समर्थन गर्नेमा थापा आशावादी छन् । पश्चिमाञ्चल अटोमोबाइल्स एसोसियसनको अध्यक्ष र  नाडा केन्द्रको सदस्य हुँदै २ पटक उपाध्यक्ष भईसकेको हुनाले ‘सिनियारीटी’ हिसाबले पनि आफूले नेतृत्व पाउनुपर्ने उनको दाबी छ ।

करण चौधरीको सम्भावना कति ? 

थापाका प्रतिस्पर्धी करण चौधरी सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । तर, नाडामा उनले लामो समय बिताएका छैनन् । उनी ठूला व्यवसायीको प्रतिनिधित्व गर्ने भएकाले सरकारसँग व्यवसायीका माग र असजिला विषयहरु सोझै पुर्याउन सक्ने क्षमता राख्छन् । 

यद्यपी, ‘फास्ट ट्रयाक’ बाट करण चौधरीलाई अध्यक्ष बनाउन हुँदैन भन्ने मत पनि नाडामा बलियो छ । सुरुमा मनोनित सदस्यका रुपमा नाडामा छिरेका चौधरी अहिले उपाध्यक्ष छन् । नाडामा जम्मा दोस्रो कार्यकाल मात्रै बिताईरहेको हुनाले चौधरीको पक्षमा अरु लामो समय काम गरेका व्यवसायीहरु खुलेका छैनन् ।

कसको पक्षमा कति मत ?

नाडामा २ वर्ष अघि ९६५ सदस्य थिए । अहिले यो बीचमा २४ सय सदस्य थपिएका छन् । यद्यपी, सदस्य थपका सम्बन्धमा विवाद छ । प्रकाश कपुरी नेतृत्वको सदस्यता वृद्धि समितिले विवाद मिलाउने प्रयास गरिरहेकै छ ।

करण चौधरी निकट व्यवसायी चौधरीको पक्षमा १७ सय बढी मत रहेको दाबी गर्छन् । उता थापा भने नयाँ थपिएका २४ सय सदस्यमध्ये १४ सय बढी र पूराना (जसको विषयमा कुनै विवाद छैन) ९६५ मध्ये आधा सदस्यहरुले आफूलाई मतदान गर्ने दाबी गर्छन् ।

सहमतिको सम्भावना कति ?

नाडाका अध्यक्ष दुलालले थापा र चौधरीसँग सहमतिका लागि पटक पटक छलफल गरेका छन् । सोमबार पनि नाडाको कार्यसमिति बैठक बस्दैछ । बैठकमा पनि सहमतिको प्रयास गरिने बताईएको छ ।

हिजो अध्यक्षका प्रत्याशी थापा र चौधरीबीच छलफल पनि भएको थियो । छलफलमा दुबैले ‘यस पटक मलाई छोड्दिनुस्, अर्को पटक मेरो पूरा समर्थन तपाईलाई हुन्छ’ भनेर सकेसम्म आफैँ नेतृत्वमा जाने प्रयत्न गरेका छन् ।

अघिल्लो पटक प्रकाश कपुरीले अन्तिमसम्म अध्यक्षको दाबेदारी गरेका थिए । तर, अन्तिममा फिर्ता लिए । थापा त्यतिबेला पनि अध्यक्षको आकांक्षी थिए । तर उनले अर्को कार्यकालका लागि आफूलाई सघाउने सर्तमा दुलाललाई समर्थन गरेको दाबी गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको अनुरोधमा आफूले कृष्ण दुलाललाई समर्थन गरेको र यस पटक आफूले कुनै पनि हालतमा नछोड्ने थापा बताउँछन् ।

उता, करण चौधरी पनि आफू युवा व्यवसायी भएकाले युवाहरुलाई अटोमोबाइल्स व्यवसायमा आकर्षित गर्न र युवा उमेरमै नाडा जस्तो प्रतिष्ठित संस्थाको नेतृत्व गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छन् ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved