
सुन्दर यातायात प्रा.ली.ले खर्च धन्न नसकेर बिजुली बस र चार्जिङ स्टेशन बन्द गर्ने घोषणा गरेपछि नेपाल विद्युत प्राधिकरणले कम्पनीको महशुल दर घटाएको छ। प्राधिकरणले यस अघि माघ महिनाको लागि पठाएको विद्युतीय चार्जिंग सम्बन्धी मिटरको महशुल बिलमा त्रुटी भएको भन्दै त्यसलाई संशोधन गरेर महशुल घटाई नयाँ बिल पठाएको हो ।
प्राधिकरणले माघ महिनाको बिलमा LT-CHARGING STATION (Demand Rs 200/kVA र Unit Rs 5.75/kWhr) हुनुपर्नेमा अन्यथा भएकोले आवश्यक संसोधन गरि हिजो सोमबार नयाँ बिल पठाएको हो। डिमाण्ड नलाग्ने महशल दरको सम्बन्धमा भने आवश्यक कारवाही भईरहेको जवाफ प्राधिकरणले कम्पनीलाई दिएको छ ।
काठमाडौँसहित देशका ठूला सहरमा सार्वजनिक विद्युतीय बस चलाउँदै आएको भएपनि सरकारले असहयोग गरेको भन्दै सुन्दर यातायातले हिजो सोमबारबाट सबै बिजुली बस नचलाउँने निर्णय गरेको थियो । डिमाण्ड शुल्क हटाउने निर्णय भएको १ वर्ष भइसक्दा पनि अतिरिक्त डिमाण्ड चार्ज लिने काम जारी राखेको भन्दै सुन्दर यातायातले बिजुली बस नचलाउँने निर्णय गरेको थियो ।
विद्युत नियमन आयोगले २०७८ मंसिर १९ गते विद्युत प्राधिकरणलाई एक पत्र पठाएर आयोगको १४०औँ बैठकले निर्धारण गरेको विद्युत महशुल बमोजिम मात्र शुल्क लिन भनेको थियो । तर, सुन्दर यातायातले भने प्राधिकरणले आयोगलाई समेत अटेर गरी डिमाण्ड शुल्क लिइरहेकाले विद्युतीय सार्वजनिक बस सञ्चालन गर्न नसक्ने भन्दै बन्द गर्ने घोषणा गरिएको जनाएको थियो ।
सुन्दर यातायात प्रा.ली.ले काठमाडौँसहित जनकपुर, ढल्केबर, बुटवलमा १८ वटा सार्वजनिक विद्युतीय सवारी साधन चलाउँदै आएको थियो ।
यस अघि : सरकारलाई बधाई दिँदै सुन्दर यातायातले बन्द गर्यो बिजुली बस