चार्ज गर्दा एमजीको जेडएस विद्युतीय गाडीमा आगो लाग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2024 | 04:24:59 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको बुढानिलकण्ठका एमजीको विद्युतीय गाडी ‘जेडएस’मा आगो लागेको छ । चार्ज गर्न बिजुलीमा जोडेको अवस्थामा एमजी जेडएसमा आगलागी भएको पाइएको बुढानिलकण्ठ प्रहरीले जनाएको छ ।

तर, घटना एक हप्ता पछि मात्रै सार्वजनिक भएको छ । प्रहरी प्रभाग बुढानिलकण्ठका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार पौष ९ गते राती १ बजेको समयमा एमजी जेडएस ईभीमा आगो लागेको हो । आगो लागेपछि बागमती प्रदेश–०१ ०२७ च १५८१ नम्बरको सो गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ । 

तारहरु यत्रतत्र छरिएकाले प्रहरीले चार्जिङकै क्रममा आगो लागेको हुनसक्ने अनुमान गरेको छ । गाडी धनी गोरखाका सुदीप लामिछाने र स्थानीयले राती नै प्रहरीलाई खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । गाडी धनीले पनि प्रहरीसँग चार्जिङकै क्रममा आगो लागेको बताएका छन् । 

‘चार्जिङकै क्रममा आगो लागेको देखिन्छ, किनकी तारहरु जलेका थिए, यत्रतत्र छरपस्ट थिए’ प्रहरी निरीक्षक खतिवडाले बिजपाटीसँग भने, ‘म आफैँ पनि गाडी धनीसँग घटनास्थलमा गएर भेटेँ, कम्पनीका मान्छे पनि आएका थिए । हामीले चार्जिङकै क्रममा आगो लागेको देख्यौँ, अब आफ्नो प्रोडक्टको के कारण क्षति भएको हो, यसबारे कम्पनीले नै अध्ययन गरिरहेको होला ।’

उनले गाडी खुला ठाउँमा रोकेर राखिएको र घर भित्रबाट तार ल्याएर चार्जमा जोडेको पाइएको पनि बताए ।

‘गाडी बाहिर भएकाले थप घटना हुन पाएन’ प्रहरी निरीक्षक खतिवडाले थपे, ‘हाम्रो मुचुल्कामा चार्जिङका क्रममा बाहिर चउरमा राखेको गाडीमा आगो लागेको भनेका छौँ, कम्पनीका मान्छे आएर पनि हेरेका छन् । अब थप कुरा कम्पनीले नै पत्ता लगाउला ।’

यता एमजी गाडीको आयातकर्ता कम्पनी पारामाउन्ट मोटर्सले भने घटनाबारे केही जानकारी नरहेको बताएको छ । हामीले यस्तो घटना भएछ भनेपछि पारामाउन्ट मोटर्सका मार्केटिङ विभाग प्रमुख सन्दीप क्षेत्रीले आफूलाई यसबारे केही जानकारी नरहेको र बुझेर मात्रै केही भन्न सक्ने बताएका छन् । उनले यसबारे कम्पनीमा आफूभन्दा माथिल्लो तहका कर्मचारीसँग बुझ्न खोज्दा सबै बाहिर भएकाले केही भन्न नसक्ने बताए ।

गाडी धनी सुदीप लामिछानेले भने यसबारे आफू ‘ड्राइभिङ’मा रहेकाले थप कुरा नगर्ने प्रतिक्रिया दिएका छन् । ‘तपाईको गाडी चार्जिङका क्रममा जलेको खबर सुनियो, के भएर यस्तो घटना भयो ? कम्पनीले केही कारण दिएको छ कि छैन ?’ भनेर बिजपाटीले जिज्ञासा राख्दा लामिछानेले भने, ‘यसबारे पछि कुरौँ न है, अहिले म ड्राइभिङ गर्दै पनि छु ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved