दुई विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 01:56:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले निर्माणधिन दुई ठूला अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा सरकारी ध्याजावाहक नेपाल वायुसेवा निगमलाई दिएको छ । 

गत मंसिर १९ गते बसेको क्यान सञ्चालक समितिको बैठकले भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरामा निर्माणधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई दिने निर्णय गरेको जनाईएको छ । 

प्राधिकरणले विना प्रतिस्पर्धा निगमलाई दुबै विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिने निर्णय गरेको क्यानका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् । उनका अनुसार गौतमबुद्ध विमानस्थलको सञ्चालन प्राधिरकणले गर्ने भएपछि ग्राउण्ड ह्याण्डलिङको जिम्मा निगमलाई दिने निर्णय भएको हो । 

क्यानले दुई विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मो निगमलाई दिने निर्णय गरेपनि समय तोकिएको छैन् । यसअघि निगम सञ्चालक समितिले न्यूनतम १० वर्ष र आधिकारिक ट्रेड युनियनले १५ देखि २० वर्षको अबधिको समयसिमा तोक्नुपर्ने बताउँदै आएका थिए । 

५ देखि ६ अर्ब खर्च

निगमले दुई विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङका लागि आवश्यक उपकरणहरु जडान गर्न ५ देखि ६ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । दुई विमानस्थल मध्ये गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बढी र पोखरामा कम खर्चलाग्ने अनुमान गरिएको निगमले जनाएको छ । ठूला जहाज उडान तथा अवतरण गर्ने भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा राखिएको भैरहवा विमानस्थलमा २ देखि ३ अर्ब सञ्चालन खर्च लाग्ने अनुमान गरिएको निगमका ग्राउण्ड ह्याण्डलिङका कर्मचारीहरु बताउँछन् । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङमा कार्यरत एक कर्मचारी ग्राउण्ड ह्याण्डलिङका लागि एक विमानस्थलमा कम्तीमा सय देखी डेढसय सम्म कर्मचारी आवश्यक पर्ने बताउँछन् । दुई विमानस्थलमा तत्काल २५० जनासम्म थप जनशक्ति आवश्यक पर्नेछ । जसमा केही निगममा हाल कार्यरत कर्मचारीहरुलाई नै लैजान सकिने र केही नयाँ कर्मचारी राख्नुपर्नेछ । 

नयाँ कर्मचारीलाई अन्तराष्ट्रिय स्टाण्डरको तालिम समेत दिनुपर्ने हुन्छ । उक्त तालिका १ महिनासम्मको हुने निगमका अधिकारीहरु बताउँछन् । कर्मचारीलाई तालिम, आवश्यक उपकरण खरिद तथा जडान गर्दा तत्काल एक विमानस्थलका लागि ३ अर्ब खर्च हुनेछ । 

तत्कालका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेका ४० प्रतिशत सम्मका उपकरण गौतमबुद्ध विमानस्थलमा लैजान सकिने जनाईएको छ । 

भैरहवाको ९३ र पोखराको ६६ प्रतिशत प्रगति

सन् २०१५ जनवरी १५ अर्थात २०७१ साल माघ १ गते शिलान्यास गरिएको भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ९३ प्रतिशत सकिएको छ । 

भूकम्प, नाकाबन्दी लगायतका कारण निर्माणमा ढिलाई भएको उक्त विमानस्थल पछिल्लो समय कोरोना महामारि सुरु भएदेखि निर्माणले गति लिन सकेको छैन । कोरोनाका कारण चिनियाँ कामदारहरु चीनमा नै रोकिदा प्राविधिक कामहरु ठप्प भएको क्यानले जनाएको छ । 

भैरहवा विमानस्थल निर्माणको बाँकी काम गर्न कामदारहरु भएमा २ महिनाभित्र सम्पन्न भैसक्ने निर्देशक अधिकारी बताउँछन् । विमानस्थल निर्माणमा विशेषज्ञता हासिल गरेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टसँग ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

आइसिपी–१ र आइसिपी–२ गरी विमानस्थलको निर्माणको कार्य गरिएकोमा आइसिपी–१ अन्तर्गतका अधिकांश कामहरू सम्पन्न भइसकेका छन्  । आइसिपी–२ अन्तर्गतका कामहरू कोरोनाका कारण प्रभावित हुँदा विमानस्थल निर्माणको काममा ढिलाई हुँदै आएको अधिकारी बताउँछन् । उनका अनुसार आइसिपी–१ अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, टर्मिनल भवनलगायत संरचना निर्माण सम्पन्न भइसकेका छन् । 

यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ६५ प्रतिशत पूरा भएको छ । ०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विमानस्थल २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले सम्झौता भएको थियो । सम्झौता अबधिभन्दा ६ महिना अगाडी नै निर्माण सम्पन्न गर्नेगरी काम भएको विमानस्थल कोरोनाका कारण निर्माणमा ढिलाई भएको छ । 

आयोजनाको बाँकी ३५ प्रतिशत काममध्ये २० प्रतिशत प्राविधिक काम बाँकी रहेको र सम्झौता अबधिभित्र नै विमानस्थल निर्माण सम्पन्न गर्ने तयारी भएको क्यानका निर्देशक प्रदिप अधिकारी बताउँछन् । 

हालसम्म धावनमार्ग (रनवे), आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको अधिकांश काम सकिएको जनाइएको छ । त्यसैगरी, भवन, ह्यांगर, पार्किङ, सडक, नाला, टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलानलगायत निर्माणका काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved