१८ करोड बक्यौता चुक्ता नगरी थाइ एयर एसियालाई उडान अनुमति

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 29, 2022 | 07:47:13 PM मा प्रकाशित

laxmi  sunrise bank

थाइ एयर एसियाका एसिया हेर्ने जनरल म्यानेजर सुरेश नायर र प्रधानमन्त्रीपत्नी आरजु राणा बीच बालुवाटारमा डील भएपछि एयर एसियाको १८ करोड बक्यौता तिर्न बाँकी हुँदा हुँदै पनि उडान अनुमति पाउने भएको छ । 

सन् २०१२ देखि २०१८ सम्म नेपालमा उडान गरिरहेको एयर एसिया एक्सले अर्को भगिनी संस्था थाइ एयर एसियामार्फत नयाँ जनरल सेल्स एजेन्ट खडा गरेर उडान अनुमति लिने प्रयास गरेको हो । स्रोतको दाबीअनुसार थाइ एयर एसियाले उडान अनुमतिका लागि बालुवाटारबाट ग्रीन सिग्नल पाइसकेको छ ।

तर उडान अनुमति नलिँदै थाइ एयर एसियाले अनुमति पाएको भन्दै गरेको प्रचारबाजीलाई नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले खारेज गरेको छ । उडान अनुमतिको विषयसँगै यसअघि एयर एसिया एक्सले तिर्न बाँकी रहेको १८ करोड बक्यौता प्रकरण पनि पुनः चर्चामा आएको हो ।

तत्कालीन समयमा नेपालमा उडान भरिरहेको एयर एसिया एक्सले नेपाललाई बुझाउन बाँकी झण्डै १८ करोड बक्यौता नतिरी उसैको भगिनी संस्था थाइ एयर एसियालाई उडानको अनुमति दिइएको भन्दै आलोचना भएको छ ।

स्रोतका अनुसार थाइ एयर एसियालाई उडान अनुमति दिन प्रधानमन्त्रीपत्नी आरजु राणाले निकै अघिदेखि प्रयास गरिरहेकी थिइन् । उनैले थाइ एयर एसियाका प्रतिनिधि सुरेश नायरलाई काठमाडौँ बोलाएर ग्रीन सिग्नल दिएको स्रोतको दाबी छ । बालुवाटारमा भएको डीलमा देउवाका छोरा जयवीर पनि थिए । एयर एसियाले नेपाल पर्यटन बोर्डलाई ७ करोड, त्रिभुवन विमानस्थल र अन्य शुल्क गरी ११ करोड रुपैयाँ तिर्न बाँकी छ । थाई एयर एसियामा अहिले थाई एयर एसियाको ५१ र एयर एसिया एक्सको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्राधिकरणले भने उसले स्लट माग गरेको भएपनि उडान अनुमति दिने निर्णय भइनसकेको तर दिने लाइनमै कुरा अघि बढाइएको बताएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उसलाई उडान अनुमति दिइएको भन्दै गरिएको प्रचारलाई गलत रहेको बताए । ‘बक्यौता नै नतिरी फेरि एसिया एक्सकै ४९ प्रतिशत सेयर स्वामित्व भएको अर्को कम्पनी आउने भयो भनेर गलत प्रचार गरिएको छ’, निरौलाले भने, ‘प्रकृया पुर्याएर आउँदा हामीले कुनै पनि विदेशी एयरलाइन्सलाई उडान अनुमति नदिने कुरै हुँदैन ।’

खासमा के गर्दैछ त क्यान ?

क्यानका प्रवक्ता निरौलाका अनुसार थाइ एयर एसियालाई नेपालमा उडान अनुमति दिन प्राधिकरणको तयार छ । विगतको एयर एसिया एक्सको नाममा रहेको बक्यौता तिराउनका लागि पनि थाइ एयर एसियालाई उडान अनुमति दिने पक्षमा क्यान रहेको उनले बताए ।

‘बक्यौता एयर एसिया एक्सको नाममा छ, नभएको होइन । तर आउन खाजेको थाइ एयर एसिया हो,’ निरौलाले बिजपाटीसँग भने, ‘एयर एसिया एक्सकै  लगानी भएको अर्को कम्पनीलाई आउन दिइयो भने पो भोलि तपाईहरुको पूरानो कम्पनीको नाममा बक्यौता छ, तिर्नुपर्छ भन्न सकिन्छ त । आउनै नदिएर बाटै बन्द गरेपछि कसलाई समात्ने त त्यो बक्यौताको लागि । कम्तीमा बक्यौता तिर्न बाँकी रहेको कम्पनीको भगिनी कम्पनी आउँदा तपाईको कम्पनीमा लगानी रहेको एयर एसिया एक्सको बक्यौता छ है भनेर यसैलाई समात्न हामीलाई पनि सजिलो हुन्छ नि । त्यहीँ भएर हामी दिने लाइनमा चाहिँ छौँ, तर दिई सकेको अवस्था होइन ।’

थाइ एयर एसियाले नेपाल–थाईल्याण्ड उडान सुरु गरेपछि एयर एसिया एक्सको नाममा रहेको पूरानो बक्यौता उठाउने बाटो खुल्ने उनको दाबी छ ।

दिनको ८ लाख आम्दानी हुन्छ, किन नदिने ?

पूरानो बक्यौता बाँकी देखाएर भगिनी संस्थालाई समेत उडान अनुमति नदिँदा हुने आम्दानी पनि गुमिरहेको प्रवक्ता निरौला बताउँछन् ।

‘बक्यौता तिर्न बाँकी कम्पनीको लगानी भएको अर्को कम्पनीलाई किन आउन दिने भनेर बाटो नै बन्द गर्दा त अहिले हुने आम्दानी पनि रोकिन्छ नि, त्यो पनि हेर्नुपर्यो’ प्रवक्ता निरौलाले थपे, ‘थाइ एयर एसिया आएर दिनको एउटा उडान गर्दा ६ लाख आम्दानी हुन्छ, त्यो त राज्यलाई हुने आम्दानी हो नि । उसले ठूलो वाइडबडी जहाज लिएर आउँछ । २५० जना बोक्ने क्षमता हुन्छ, २ सय जना मात्रै बोक्यो भनेपनि एयरपोर्ट ट्याक्स मात्रै ६ लाख हुन्छ । ल्याण्डिङ चार्जसहित त उसको एउटा उडानमा हामीलाई ८ लाख आम्दानी हुन्छ ।’

यो कम्पनीले हरेक दिन काठमाडौँ–क्वालालम्पूर उडानका लागि अनुमति माग गर्दै निवेदन दिएको निरौलाले बताएका छन् । यसो हुँदा दिनको ८ लाखका दरले हप्तामा ५६ लाख आम्दानी हुने उनको भनाई छ ।

उनले कोरोनापछि भर्खरै पर्यटन क्षेत्र विस्तारै चलायमान हुँदै आएको अवस्थामा विदेशी एयरलाइन्स कम्पनीहरुले नेपालमा उडान गर्न खोज्नु विदेशी मुद्राको आर्जनका लागि राम्रै हुने पनि बताएका छन्।

राजन पोखरेलले किन रोकका थिए ?

सन् २०१२ देखि नेपालमा उडान भर्दै आएको मलेसियाको एयर एसिया एक्सले २०१८ बाट उडान रोक्यो । उडान रोक्ने समयमा उसलाई तिर्नुपर्ने बक्यौता तिर्न भनियो, उसले त्यतिबेला २७ करोड रुपैयाँ तिर्यो । २७ करोड तिरेपछि क्यानले उसलाई उसको सम्पूर्ण दायित्व सकियो भनेको थियो ।

त्यसको केही वर्षपछि क्यानले आफूहरुले काजगजात खोज्दै जाँदा एयर एसिया एक्सको नाममा ५ करोड बाँकी रहेको भेटिएको र त्यसको जरिवानासमेत जोड्दा १३ करोड बक्यौता पुग्यो भन्दै उक्त रकम तिर्न एयर एसियालाई भन्यो । तर, एयर एसियाले आफूहरुले सबै दायित्व तिरेर ‘फ्लाई विद्ड्र’ गरेको भन्दै उक्त दायित्व आफूले तिर्न नपर्ने दाबी पेश गर्यो । अहिले उक्त बक्यौता बढेर १८ करोड पुगेको छ ।

राजन पोखरेल क्यानको महानिर्देशक हुदा पनि थाइ एयर एसियाले नेपालमा उडानको अनुमति मागेको थियो । तर, उनले उसको साझेदार कम्पनी एयर एसिया एक्सले नेपाललाई बक्यौता तिर्न बाँकी रहेकाले उक्त बक्यौता नतिरेसम्म ‘सिस्टर कम्पनी’ भएपनि उडान अनुमति नदिने भन्दै स्लट दिएनन् । यसबारे थप बुझ्न पोखरेलसँग सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

सुटुक्क एजेन्ट खडा

समाचारहरुमा आए अनुसार थाई एयर एसियाले नेपालमा उडानका लागि जीएसए (जनरल सेल्स एजेन्ट) पनि नियुक्त गरिसकेको भनिएको छ । हंश इन्टरनेशनललाई थाई एयर एसियाले नेपालका लागि जीएसए नियुक्त गरेको भनिएपनि हंशले भने अस्वीकार गरेको छ ।

आफू जेट् एयरवेजको जीएसए नियुक्त भईसकेकाले अर्को कम्पनीको एजेन्ट बन्नका लागि कुनै प्रयास नै नगरेको र समाचारमा आफ्नो नाम आउनु गलत भएको हंशका प्रतिनिधिले बताएका छन् ।

यसअघि एयर एसिया एक्सको जीएसए भने ‘इन्सेन्टिभ ट्राभल’ थियो । तर, अहिले थाई एयर एसियाले जीएसए परिवर्तन गर्दैछ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाको समेत लगानी हुने गरि विशाल ग्रुपले पनि थाई एयर एसियाको जीएसएका लागि लविङ गरेको थियो ।

जीएसए परिवर्तन गराएर पूरानो बक्यौता तिर्ने ‘कमिटमेन्ट’ नगराई थाई एयर एसियालाई उडान अनुमति दिन लागिएको स्रोतको दाबी छ । क्यानकै अधिकारीको भनाइले पनि यो पुष्टि भने गरेको छ।

‘हिजो राजन पोखरेल डीजी हुँदा पूरानो बक्यौता तिरेपछि मात्रै उडान अनुमति दिन्छु भनेका थिए, उनले पूरानो बक्यौता तिर्ने कमिटमेन्ट मात्रै गर्यौ भने पनि उडानको अनुमति दिन सकिन्छ भन्दा थाई एयर एसिया मानेको थिएन’ स्रोत भन्छ, ‘अब आउँदा पनि उसले पूरानो बक्यौता तिर्छु भनेर कमिटमेन्ट त गरेर आउँदैन । जीएसए नै चेन्ज गरेर आउँदैछ । अनि कुनै प्रमाण नै नभई उसँग पूरानो बक्यौता कसरी माग्न सकिन्छ ?'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved