रोकिएन नबिल बैंकबाट पैसा हराउने क्रम, बैंकले नसुनेपछि प्रहरीको शरणमा ग्राहक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 05:54:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकको पोखरा स्थित न्युरोड शाखाबाट ग्राहकको करोडौँ निक्षेप कर्मचारीबाटै अपचलन भएको घटना सेलाउन नपाउँदै काठमाडौँको एक शाखाबाट पनि ग्राहकको पैसा हराएको पाइएको छ। ग्राहकले राखेको पैसा पेमेन्ट गेटवेमार्फत दुई दिनमा गायब पारिएको हो। 

ग्राहकले २०७९ मङ्सिर २१ गते जम्मा गरेको पचास हजार रुपैयाँ पुष १ र २ गते गायब भएको हो। घटना एक वर्ष अघिको भए पनि गुपचुप राख्ने प्रयास हुँदा ढिला गरी सार्वजनिक भएको हो।  

एमपे नामक पेमेन्ट गेटवेमार्फत एनसेलका तीनवटा अलगअलग मोबाइल नम्बरको प्रयोगमार्फत उक्त रकम झिकिएको देखिएको छ। सुरुमा एक सय ट्रान्सफर गरेपछि पाँचपाँच हजार गरेर पैसा ट्रान्सफर गरिएको देखिएकाले पेशेवर व्यक्ति संलग्न भएको बताइन्छ । यो घटनाले पनि नबिलमा राखेको पैसा असुरक्षित हुँदै गएको देखाउँछ ।

आफ्नो खातामा जम्मा गरेको करिब साढे ६ महिनापछि पैसा झिक्न जाँदा आफ्नो खाताबाट पुष महिनामै ५० हजार झिकिएको ग्राहकलाई थाहा भएको हो। आफ्नो खाताबाट अनाधिकृत रुपमा पैसा झिकिएको थाहा भएपछि बैंकमा गुनासो गर्दा बैंकले यसबारे नसुनेपछि ग्राहकले नेपाल प्रहरीमा उजुरी दिएका छन्। 


एमपे मार्फत पैसा झिकिएको विवरण


नबिल बैंकको बालाजुस्थित शाखाका ग्राहकको खाताबाट यसरी पैसा झिकिएको पाइएकाले उक्त उजुरी बालाजु स्थित प्रहरी कार्यलयमा परेको हो । बालाजुस्थित प्रहरी कार्यलयमा त्यससम्बन्धी उजुरी दर्ता भएको छ। बालाजु प्रहरी वृत्तका डीएसपी मनोजजित कुँवरले नबिल बैंकबाट पैसा गायब भएको विषयमा जाहेरी परेकाले अनुसन्धान भइरहेको बताए। 

बैंकका शाखा प्रमुखले यो घटना परिवारकै कोही व्यक्तिले घटाएको हुन सक्ने भन्दै यो घटनाको सुनुवाइ नगरेको पीडित पक्षले गुनासो गरेका छन्। यस विषयमा नबिल बैंकका उच्च व्यवस्थापनका कर्मचारीसँग जानकारी लिन खोज्दा यसबारे उनीहरुबाट कुनै प्रतिक्रिया आएको छैन।

पोखरामा कर्मचारीबाटै ग्राहकको करोडौँ रकम अपचलन भएको घटना हालै बिजपाटीले सार्वजनिक गरेको थियो । ग्राहकबाट पैसा लिने तर बैंकिङ प्रणालीमा नराखी पैसा अन्यत्र लगानी गर्ने गरेको पाइएपछि त्यस घटना सामसुम पार्न बैंककै उच्च नेतृत्व लागिपरेको छ। यस्तो घटना बैंकिङ अपराध भएकाले प्रहरीमा जानुपर्नेमा घटना बाहिरिने डरले बैंकका अधिकारीहरु मिलाउनतर्फ लागेको भेटिएको छ ।

यस अघि :

नबिलको पोखरा शाखाबाट ग्राहकको ४० करोड गायब, सिंगो बैंकमै जनताको पैसा असुरक्षित !

ग्राहकको ४० करोड गायब गरिएको समाचारबारे बोल्यो नबिल बैंक


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved