किन शेयर बेचेर बाहिरिन चाहन्छन् वाणिज्य बैंकका संस्थापक लगानीकर्ता ?

चन्दा कार्की

चन्दा कार्की

Oct 15, 2023 | 07:17:23 PM मा प्रकाशित

laxmi  sunrise bank

बैङ्क तथा वित्तीय संस्थाका संस्थागत सेयर लगानीकर्ता आफ्नो नाममा रहेको सेयर पब्लिकमा रुपान्तरण गरी बाहिरिन खोजेका छन् ।बैङ्क तथा वित्तीय संस्था ऐन, २०७३ (बाफिया) मा भएको व्यवस्थामा टेकेर उनीहरुले संस्थापक सेयरलाई साधारणमा परिणत गरी एक्जिट हुन खोजेका हुन् । 

पछिल्लो समय बैङ्क तथा वित्तीय संस्था परिसङ्घले नेपाल राष्ट्र बैङ्कका गर्भनरलाई पटक-पटक भेटेर सो माग राख्दै आएको छ । अहिले अधिकांश बैङ्क तथा वित्तीय संस्थामा ५१ प्रतिशत संस्थागत र ४९ प्रतिशत सर्वसाधारणको सेयर हिस्सा रहेको पाइन्छ । २०७८ देखि नै संस्थागत सेयरलाई साधारणमा रुपान्तरण गर्न दिनुपर्ने माग राख्दै आएको परिसङ्घले साधारण र संस्थागतको हिस्सा क्रमश: ७० प्रतिशत र ३० प्रतिशत उपयुक्त हुने तर्क राख्दै आएको छ । 

बाफियामा बैङ्क तथा वित्तीय संस्था सञ्‍चालनमा आएको दश वर्ष पुगेपछि पूँजी बजार, बैंकिङ्ग लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई मूल्याङ्कन गरी राष्ट्र बैङ्कको स्वीकृतिमा संस्थापक सेयर क्रमशः साधारण सेयरमा परिणत गर्ने व्यवस्था गरेको छ । बाफियामा भएको व्यवस्था अनुसार हाल सञ्‍चालनमा रहेका धेरै बैङ्क तथा वित्तीय संस्थाहरु संस्थापक सेयर साधारणमा परिणत गर्न सक्नेछन् । 

विदेशका धेरै देशमा बैङ्क तथा वित्तीय संस्थामा संस्थापक र साधारण सेयरधनी भन्ने व्यवस्था रहेको पाइँदैन । राष्ट्र बैङ्कका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री सीमित व्यक्तिको स्वामित्त्वमा मात्रै बैङ्क तथा वित्तीय संस्थालाई राख्न नहुने बताउँछन् । क्रमिक रुपमा संस्थापक सेयर पब्लिकमा रुपान्तरण गर्दा वित्तीय प्रणाली साथै अर्थतन्त्रलाई पनि फाइदा पुग्ने उनको भनाई छ । नियामकीय निकाय चनाखो हुनुपर्छ यसलाई हस्तान्तरण गर्दा राम्रै हुन्छ । उनी भन्छन्, 'समाजवाद उन्मुख अर्थतन्त्र अँगालेको नेपालले यसरी सीमित व्यक्तिको हालीमुहाली हुनेगरी बैङ्क तथा वित्तीय संस्थाको स्वामित्त्व नराखी त्यसलाई विकेन्द्रीकरण गर्नु नै राम्रो हुन्छ, तर नियमन गर्ने निकाय चाँही चनाखो हुनुपर्छ ।'

अहिले सञ्‍चालनमा रहेका अधिकांश बैङ्क तथा वित्तीय संस्थामा सीमित व्यवसायीक घरानाको नियन्त्रणमा छ । पूँजी परिचालनको महत्त्वपूर्ण संवाहकको रुपमा वित्तीय संस्थामाथि केही व्यक्तिहरुको मात्रै वर्चश्‍व हुँदा त्यसले पूँजीको सदुपयोगिता विषयमा नै प्रश्न उठ्दै आइरहेको हुँदा विकेन्द्रीकरण गर्नुपर्ने बताइन्छ । 

यता, तत्कालिन ऐन निर्माणका क्रममा पनि लगानीकर्तालाई एकै ठाउँमा खुम्च्‍याउन नहुने भन्दै व्यापक छलफल पश्‍तात् बाफियामा यो व्यवस्था ल्याइएको थियो । बाफियामा व्यवस्था भएपनि यस विषयमा निर्णयको अन्तिम अधिकार भने राष्ट्र बैङ्कलाई नै छोडिएको छ । 

संस्थापक सेयर साधारणमा परिणत हुँदा यसको सिधा असर सेयर बजारका साथै समग्र वित्त बजारमा पर्ने भएकाले यसको मूल्याङ्कन गरी निर्णय गर्ने अधिकार राष्ट्र बैङ्कमा निहित रहेको छ । 

सेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको सेयर अत्याधिक छ । आपूर्ति बढी भएपछि स्वभाविक रुपले सेयर बजार भने घट्छ । तर, दीर्घकालीन रुपले हेर्दा बैङ्क तथा वित्तीय संस्थामा कुनै समूहको नियन्त्रण भने रहँदैन । अगुवा सेयर लगानीकर्ता छोटेलाल रौनियार तत्काल संस्थापकलाई पव्लिकमा रुपान्तरण गर्न नहुने धारणा राख्छन् । 

विदेशका अन्य मुलुकमा संस्थापक र सर्वसाधारण नभएको भएपनि नेपालमा अहिले नै त्यो मोडलमा जान नहुने उनको भनाई छ । नेपालको वित्तीय प्रणाली अझैपनि परिपक्व भइनसकेको भन्दै त्यसो गर्दा वित्तीय स्थायित्वमा आँच आउन सक्ने उनको धारणा छ । जलविद्युत कम्पनीमा लकिङ्ग पिरियड खुल्नासाथ कतिपय संस्थापक सेयर बेचेर भागेको उदाहरण दिँदै बैंकिङ्ग सेक्टर थप संवेदनशील भएका कारण तत्काल त्यसो गरिहाल्न नहुने उनी बताउँछन् । 

बैङ्कमा स-सानो कमाईबाट निक्षेपको रुपमा जम्मा गर्ने देखि लिएर ठूला ऋणी हुने भएकाले यसलाई हचुवाको भरमा नगरी निकै सोच विचार गरेर मात्रै गर्नुपर्ने उनको धारणा छ ।  

किन बाहिरिन खोज्दैछन् त संस्थापक ?

विगतमा बैङ्क तथा वित्तीय संस्थाको संस्थापक बन्न चाहने जमात ठूलै हुन्थ्यो । तर अहिले परिस्थिति ठीक उल्टो छ । पछिल्लो समय ठूला सेयरधनी नियामकबाट निर्णय गराए संस्थापक सेयर साधारण सेयरमा परिणत गरी बाहिरिन खोज्दैछन् भने कतिपय सार्वजानिक आह्वान गरेर संस्थापक सेयर बिक्रीको प्रक्रियामा छन् । 

बैंकिङ्ग विज्ञ अनलराज भट्टराई संस्थागत सेयरलाई एक्जिट हुन दिनुपर्ने व्यवस्था गरिनुपर्ने बताउँछन् । अहिले बैङ्क तथा वित्तीय संस्थामा संस्थापक सेयरका नाममा ६०० अर्ब रकम ब्लक भएर बसेको भन्दै त्यसलाई चलायमान बनाउने नीति लिनुपर्ने उनी बताउँछन् ।  संस्थागत सेयरधनीलाई कर्जा लगायतका विभिन्न बैंकिङ्ग सुविधा उपयोग गर्न अङ्कुश लगाइएका कारण पनि संस्थागत सेयर लगानीकर्ता निरुत्साहित भएको उनको भनाई छ । संस्थागत लगानीकर्ता हुँदा बैंकिङ्ग सुविधा उपयोग गर्न नदिनु भन्दा पनि भोटिङ्ग राइट घटाउने वा नदिने व्यवस्था गरिनु पर्ने उनको सुझाव छ ।

गत बिहीबार मात्रै माछापुच्छ्रे बैङ्कमा सबैभन्दा बढी सेयर स्वामित्व होल्ड गरेका सुरेन्द्र महतो आफ्नो सबै सेयर बेच्न सार्वजानिक सूचना नै आह्वान गरेका छन् । यता, इन्भेष्टमेन्ट मेगा बैङ्क, प्रभु बैङ्क, कुमारी बैङ्क लगायतका बैङ्कमा पनि सार्वजानिक आह्वानमार्फत सेयर बेचेर बाहिरिन चाहनेको संख्या ठूलै छ । 

बैंकिङ्ग विज्ञ भट्टराई सार्वजानिक आह्वानबाट सेयर बिक्री गर्न पनि सहज नभएको गुनासो गर्छन् । उनी भन्छन्, सार्वजानिक तरिकाले सेयर बिक्री गर्दा विभिन्न नोटिस निकाल्नु पर्छ । त्यसपछि निश्‍चित क्राइटेरिया पुरा गरेका खरिदकर्ता पनि आफैले खोज्नुपर्ने अवस्था छ ।

त्यसो त एकमात्र दोस्रो बजार कारोबार हुने नेपाल स्टक एक्सचेन्जमा कम्पनीहरूको संस्थापक सेयर पनि कारोबार हुन्छ । यहाँबाट सेयर बिक्री गरेर पनि संस्थापक बाहिरिन सक्छन् । तर दोस्रो बजारमा संस्थापक सेयर कारोबार नियमित नहुने साथै संस्थापकमा आम सर्वसाधारणको आकर्षण कम हुने हुँदा सहजै बिक्री भइहाल्ने अवस्था भने छैन । त्यसमा पनि साधारण सेयरको तुलनामा संस्थापक सेयरको मूल्य निकै कम हुन्छ । 

त्यस्तै पछिल्लो समय बैङ्कले दिने प्रतिफल दर पनि विगतको भन्दा निकै कम छ । यसले गर्दा पनि यो क्षेत्रमा लगानी गरेका सेयरधनी सो क्षेत्रबाट निस्कन चाहेको नभएपनि लगानी घटाउन खाजेको पाइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved