ब्रोडब्याण्ड इन्टरनेटको काम तिव्र, अप्टिकल फाईबरको सुस्त (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2021 | 04:10:24 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रत्येक स्थानीय तहसम्म ब्रोडब्याण्ड इन्टरनेट र प्रत्येक जिल्ला सदरमुकाममा अप्टिकल फाईबर पुर्याउने परियाेजनामा अप्टिकल फाईबर तर्फकाे काम सुस्त भएकाे देखिएकाे छ । ब्रोडब्याण्ड इन्टरनेट जडानकाे काम ८८ प्रतिशतले सम्पन्न हुँदा  अप्टिकल फाईबर  विछ्याउने काम भने ४४ प्रतिशत मात्र पुरा भएकाे हो ।

नेपाल दुरसञ्चार प्राधिकरणले ग्रामीण दुरसञ्चार विकास कोषको परिचालन गरि मुख्य गरी दुई परियोजना अन्तर्गतका कार्यलाई अगाडी बढाईरहेको छ। जसमा विभिन्न प्याकेज बनाएर स्थानीय तहसम्म ब्रोडब्याण्ड इन्टरनेट र प्रत्येक जिल्ला सदरमुकाममा अप्टिकल फाईबर विछ्याइने छ ।

प्राधिकरणकाे जेठ मसान्त सम्मकाे प्रगति विवरणअनुसार ब्रोडव्याण्ड सेवा उपलब्ध गराउने १८ वटा प्याकेजहरु मध्ये १५ वटा प्याकेजहरु मार्फत ६० जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरूमा १०० प्रतिशत तथा २ वटा प्याकेज मार्फत १० जिल्लाका तोकिएका स्थानहरूमा ५० प्रतिशत भन्दा बढी कार्य सम्पन्न भई सेवा विस्तार भइरहेको छ । साथै ४ जिल्लाहरुका तोकिएका स्थानहरूमा भने नेटवर्क तथा कनेक्टिभिटी जडानको लागि सेवा प्रदायक छनौट भई निर्माण कार्य भइरहेको प्राधिकरणले बताएको छ।

ब्रोडब्याण्ड परियोजनामा जम्मा ५ अर्ब ६७ करोड ४६ लाख बराबरको रकम सम्झौता भएको थियो जसमा ८८ प्रतिशत भन्दा बढी कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । स्थानीय निकायको कार्यालयमा ९४.३० प्रतिशत, वडा कार्यालयमा ८८.१५ प्रतिशत, माध्यमिक विद्यालयमा ८८.१० प्रतिशत र स्वास्थ्य संस्थामा ८८.१४ गरी जम्मा ८८.४० प्रतिशत इन्टरनेट जडानको कार्य सम्पन्न भई सकेको छ ।

ब्रोडब्याण्ड इन्टरनेट जडानमा सम्झौता भएका जम्मा १५ हजार ९ सय ८२ साईटहरु मध्य १४ हजार १ सय २८ वटा साइटहरुमा इन्टरनेट जडान भइसकेको छ भने १ हजार ८ सय ८४ वटा साइटमा इन्टरनेट जडान हुन बाँकी रहेको छ । 

प्राधिकरणले मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई तीनवटा प्याकेजहरु मार्फत अगाडि बढाइएको जनाएको छ । जसका लागि ९ अर्ब ८९ करोड १७ लाखको रकम सम्झौता भएको थियो ।  

प्याकेज १ अन्तर्गत प्रदेश नं.१, २ र बागमती प्रदेश रहेका छन् । यहाँ जम्मा २ हजार १ सय ७९ किलोमिटर क्षेत्रफल फाईबर बिछ्याउनु पर्नेमा जम्मा ९ सय ७९ कि.मी मा मात्र फाईबर बिछ्याइएको छ । यहाँ जम्मा ४४.९२ प्रतिशत काम सम्पन्न भएको छ भने ५७.०८ प्रतिशत काम हुन बाँकी छ ।

प्याकेज २ अन्तर्गत गण्डकी प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । यसमा कार्य सम्पन्न गर्ने जिम्मा श्री युनाइटेड टेलिकमले पाएको थियो । २ वर्ष भित्र कार्य सम्पन्न गर्ने गरी भएको उक्त सम्झौताअनुसार कार्य प्रगति शून्य अवस्थामै रहेपछि प्राधिकरणले विश्वस्त नभएको भन्दै सम्झौताको म्याद थप नगरी उक्त निर्णय बदर गर्नको लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो जसमा अदालतले उक्त रिट निवेदनको टुङ्गो नलागेसम्म काम नगर्न आदेश दिएपछि फाईबर बिछ्याउने काम अलपत्र परेको हो ।

त्यस्तै, प्याकेज ३ मा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश रहेका छन् । १ हजार ९ सय ९२ कि.मी क्षेत्रफलमा फाइबर बिछ्याउने काम नेपाल दुरसञ्चार कम्पनीले २ वर्षमा पुरा गर्ने गरी पाएको थियो । हाल कम्पनीले फाइबर बिछ्याउन अध्ययन गरिरहेको प्राधिकरणले जनाएको छ । यस प्याकेजमा पनि हाल ०७८ जेष्ठ मसान्त सम्ममा देखाउँने कार्य प्रगति भने शून्य अवस्थामै रहेको प्राधिकरणले जनाएको छ ।  

हालसम्म यस सूचना महामार्ग परियोजनाकोे वित्तीय प्रगतिमा प्याकेज १ वापत्त रु. ६१ करोड ५५ लाख ११ हजार ७ सय ७९ र भन्सार महशुल वापत्त रु. १२ करोड ८० लाख २० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । त्यस्तै प्याकेज २ को लागि ४० करोड २० लाख अग्रिम भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ ।

इन्टरनेट जडान भई सञ्चालनमा आएका र कार्य हुँदै गरेका परियोजना

१०० प्रतिशत जडान कार्य सम्पन्न भइसकेका प्याकेजहरु

जिल्लाहरु                 सेवा प्रदायकको नाम

काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक       नेपाल दूरसञ्चार कम्पनी लिमिटेड

दोलखा, रामेछाप, सिन्धुली र ओखलढुङ्गा      मर्कन्टायल कम्युनिकेशन्स् प्रा.लि.

गोरखा, धादिङ्ग र मकवानपुर      सुबिसु केबलनेट प्रा.लि.

जाजरकोट, कालिकोट, रोल्पा, रुकुम पूर्व र रुकुम पश्चिम वर्ल्डलिंक कम्युनिकेशन्स्  लिमिटेड

डोल्पा, जुम्ला, हुम्ला र मुगु          वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेड

बारा, पर्सा, रौतहट र सर्लाही      सुबिसु केबलनेट प्रा.लि.

धनुषा, महोत्तरी, सप्तरी र सिराहा      सुबिसु केबलनेट प्रा.लि.

बैतडी, डडेल्धुरा, दार्चुला र डोटी           भायानेट कम्युनिकेशन्स् लिमिटेड

संखुवासभा, ताप्लेजुङ्ग र सोलुखुम्बु मर्कन्टायल कम्युनिकेशन्स् प्रा.लि.

अछाम, बझाङ्ग र बाजुरा         मर्कन्टायल कम्युनिकेशन्स् प्रा.लि.

दैलेख, सुर्खेत र सल्यान टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.

भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर र खोटाङ्ग टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.

बाग्लुङ्ग, मनाङ्ग, मुस्ताङ्ग र म्याग्दी टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.

इलाम, झापा, मोरङ्ग, सुनसरी र उदयपुर      टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.

कास्की, लमजुङ्ग, तनहुँ, पर्वत र स्याङ्गजा वर्ल्डलिंक कम्युनिकेशन्स् लिमिटेड

५०% भन्दा बढी जडान कार्य सम्पन्न भएका प्याकेजहरु

बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुर      टेकमाइण्ड्स् नेटवर्क प्रा.लि.

चितवन, नवलपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तु सुबिसु केबलनेट प्रा.लि.

सेवा प्रदायकसँग सम्झौता भइ कार्य भइरहेका प्याकेजहरु

गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठान   टेकमाइण्ड्स् नेटवर्क प्रा.लि. ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved