पैसा फिर्ता गर्न नसकेपछि शिव शिखर सहकारीको कैलाली शाखा अनिश्चितकालको लागि बन्द

झलक दवाडी

झलक दवाडी

Feb 08, 2023 | 11:25:43 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलालीको धनगढीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा आफुले राखेको पैसा झिक्न आएकी  केशरी रानाले पैसा पाईनन् । सहकारीले सूचना नै टाँस गरेर अनिश्चितकालको लागि सहकारी बन्द गरेपछि उनले पैसा नपाएकी हुन् । 

 ‘खाता खोलेको पाँच वर्ष भयो ५ लाख जति छ , सबैले सहकारी बन्द भयो भनेपछि म पनि यहाँ पुगेकी हुँ ।’ आफूले बचत गरेको पैसा झिक्न आएकी धनगढी उपमहानगरपालिका ८ की केशरी रानाले भनिन् । ‘अलि अलि गरेर जम्मा गरेको थिए पाइन्छ कि भनेर यहा आएको हुँ ।’

कैलालीको धनगढीमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था अहिले बन्द छ ।  केशरी मात्र होइनन् अरु बचत कर्ता पनि यहाँ आफ्नो पैसा डुब्ने चिन्तामा बचत गरेको रकम झिक्न पुगेका छन्  । केशरी जस्तै बचत कर्ता सहकारीमा आफुले जम्मा गरेको रकम पाइने  आशामा एक साता देखि बिहानै सहकारी पुग्छन् । सुरुका दिनमा हुन्छ भन्दै आश्वासन दिएपनि पछिल्लो समय सहकारी नै बन्द भएपछि उनीहरु बचत डुब्ने त्रासमा छन् । 

केशरी जस्तै धनगढी उपमहानगरपालिका ५ जाँइका पारस खड्काले पनि विगत चार वर्षदेखि सहकारीमा पैसा जम्मा गर्दै आएका छन् । ‘विश्वास र भरोसामा हामीले आफ्नो पैसा जम्मा गर्यौं, लगभग साढे तीन लाख जम्मा गरेको छु, हामीले त का भाग्लान् र भन्ने लागेको थियो तर कार्यालय नै बन्द भएपछि कसरी विश्वास गर्ने ? हामीलाई चिन्ता छ पैसा अव कसरी उठाउने भन्ने । प्रशासन गएर हुन्छ की स्थानीय निकायमा गएर हुन्छ हामीलाई आफ्नो पैसा चाहिएको छ ।’ उनले बिजपाटीसँग  गुनासो गर्दै  लिखित वा मौखिक जवाफ आए मात्र ढुक्क हुन सकिने बताए ।

धनगढी उपमहानगरपालिका ३ चटकपुरका तीर्थ प्रसाद श्रेष्ठ पैसा लिन आउँदा सहकारी बन्द देखेपछि आफ्नो पैसा डुब्ने पिरमा छन् । एक वर्षबाट आफ्नो पैसा यहाँ जम्मा गर्दै आएका छन् तर सहकारी नै बन्द भएपछि पैसा डुब्ने चिन्तामा उनी छन् । ‘मुद्दतीको ११ लाख छ, अब सहकारीमा विश्वास छैन' उनले भने 'आजसरी पनि भएको पैसा झिक्न पायौ भने ढुक्क हुन्थे ।,’

‘सहकारीबाट लुटपित भयो भन्ने खबर आएपछि हामी हिजो त्यहाँ पुगेका थियौ ।, धनगढीकै सुरेश भट्टराईले  भने एक करोड आउँदैछ  सबैको पैसा मिल्छ भनेपछि हामी पनि हिजो सहकारी आएका थियौ ।, तर पैसा भने आएन ।, हिजोदेखि हामी लाइनमा छौ तर सहकारी तीन देखि बन्द छ ।,’

माथि उल्लेखित घटना प्रदेशको कैलालीको धनगढी शाखाको मात्र हो ।  स्थानीय व्यवसायीदेखि ज्याला मजदुरसम्म आफूले बचत गरेको रकम झिक्न एक सातादेखि सहकारी संस्थाको कार्यालयमा पुगिरहेका छन् । तर, कार्यालयमा अधिकांश कर्मचारी भने हुँदैनन् । मंगलबारदेखि भने सहकारीको कार्यालयमा ताला छ । शिव शिखर बहुद्देश्यीय सहकारी संस्थाको सुदूरपश्चिम प्रदेश कार्यालयले सूचना जारी गर्दै कार्यालय बन्द रहेको जानकारी दिएको छ । 

भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका अधिकांश जिल्लामा सेवा विस्तार गरेको शिव शिखर सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख हेमराज जोशीले शेयरधनी र ग्राहकको रकम फिर्ता गर्न नसक्ने स्थिति भएपछि मंगलबारबाट धनगढी सेवा कार्यालय बन्द गरेको जानकारी दिए । ‘पुँजी व्यवस्थापन हुन नसक्दा तथा बजारको लगानी असुली नभएकाले केही दिनका लागि सेवा बन्द गरिएको छ, ’ जोशीद्वारा जारी सूचनामा उल्लेख छ ।

सबै बचत कर्ता एकैपटक चल्ती खाता, मुद्दती रकम र सेयर रकम झिक्न आउँदा पुँजी व्यस्थापन हुन नसकेको उनले बताए । सहकारी आर्थिक संकटमा परेको खबर सार्वजनिक भएपछि सहकारीका ग्राहकले धमाधम रकम झिक्न खोजिरहेका हुन् ।

यता, सहकारीका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले भने अर्को सूचना जारी नभएसम्म कार्यालय बन्द रहने जानकारी दिए । ‘अर्को सूचना नआएसम्म तथा पुँजी व्यवस्थापन नभएसम्म कार्यालय बन्द रहने जानकारी गराउँछौं, ’ जोशीद्वारा जारी सूचनामा उल्लेख छ । 

सोही सहकारीको डडेल्धुरा शाखाले स्थानीयबाट झण्डै ४१ करोड संकलन गरेको छ । सहकारीका शाखा व्यवस्थापक डम्मरराज पनेरुले दिएको जानकारीअनुसार जिल्लामा ३९ करोड ८ लाख निक्षेप संकलन गरेको शिव शिखरको सेयर पुँजी रकम १ करोड ७४ लाख रहेको छ । तर, सहकारीले २ करोड ४ लाख मात्रै ऋण लगानी गरेको छ । यस्तै सोही सहकारीले झण्डै ५ करोडको लागतमा गार्डेन मार्ट पनि सञ्चालन गरिरहेको छ भने सोही हाराहारीमा सहकारीको भवनमा लागत लागेको बताइएको छ । 

डोटीमा डडेलधुरा शाखाकै लगानीबाट शिव शिखर सहकारी सञ्चालन भइरहेको पनि शाखा व्यवस्थापक पनेरु बताउँछन् । तर, बजारबाट संकलन गरेको बाँकी रकमबारे भने जिल्ला शाखा नै अनभिज्ञ छ । सहकारी आर्थिक संकटमा परेपछि बचत कर्ता भने सशंकित छन् । दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेका छन् । तर, सहकारीको डडेलधुराको कार्यालयले कारोबार बन्द गरेको चार दिन बितेको छ । काउन्टर बन्द गरेर कार्यालय खुला राखेको डडेलधुरा शाखामा धनगढी शाखाको जस्तै बचत कर्ताको भने भीड हुन्छ । दैनिकी मजदुरी गरेर जम्मा गरेको रकम फिर्ता दिन उनीहरू आग्रह गर्छन् । सहकारीका कर्मचारी भने नगद रकम नै नभएको भन्दै पन्छिरहेका छन् । 

डडेलधुरा र धनगढी मात्र होइन शिव शिखरको बुटवल सेवा कार्यालयका बचत कर्ता ठगिएको खबर सार्वजनिक भएपछि सुदूरपश्चिममा रहेका सबै शाखा कार्यालयमा बचत, मुद्दती र सेयर रकम फिर्ता गर्ने बढेका छन् । उनीहरूले दैनिक बचत गर्न पनि छोडिसकेका छन् । जसले गर्दा सहकारी झनै आर्थिक संकटमा परेको छ ।

हेर्नुस् सूचना : 



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved