अण्डाको मूल्य घट्यो

रासस

रासस

Feb 15, 2021 | 01:26:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ। उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै र पछिल्लो समय नयाँ कुखुरा बढेसँगै उत्पादन बढेपछि मूल्य घटेको नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए ।

अण्डाको मूल्य बढेका बेला बुढा कुखुरा बिक्री नगरेका कारण पनि उत्पादन बढी भएको उनको भनाइ छ। सामान्यतया अण्डा दिने कुखुरा १ वर्ष ६ महिना पाल्ने गरिन्छ। अण्डाको मूल्य बढ्दा किसानले थप एक वर्षसम्म पाल्ने गरेको उनको भनाइ छ ।

मूल्य घटेसँगै कृषक प्रभावित बनेका छन्। सङ्घले माघ २६ गतेदेखि लागू हुने गरी ठूलो अण्डा फार्म दर प्रतिक्रेट (३० वटाको) ३२५ र मध्यमको ३०० रुपैयाँ कायम गरेको छ। यसअघि ठूलो अण्डाको दर ३६० र मध्यम अण्डाको ३४० सम्म पुगेको थियो। केसीले भने, ‘उत्पादन बढी र खपत घटेकै कारण अण्डाको मूल्य घटेको हो ।’

यो दररेटमा अण्डा बिक्री गर्दा खर्च धान्न मुस्किल हुने किसानको भनाइ छ। अण्डा उत्पादक किसान मदन पोखरेलले एउटा अण्डा उत्पादन गर्न ११.५३ लागत लाग्ने बतउँदै यो दररेटमा बिक्री गर्दा किसानलाई घाटा हुने बताए। उनका अनुसार अहिलेको दररेटमा बिक्री गर्दा झण्डै एक प्रतिवटा अण्डामा किसानले नोक्सान व्यहोर्नु परेको छ।

उपभोक्ताले भने सस्तो मूल्यमा अण्डा उपभोग पाएका छैनन्। उपभोक्ताले भने १५ मा अण्डा खरिद गर्न बाध्य छन्। विचौलियाले बढी नाफा खाएर उपभोक्तालाई महङ्गो मूल्यमा बिक्री गरिरहेको पोखरेलले बताए। उनले भने, ‘सङ्घले समन्वय गर्न नसक्दा उपभोक्ता ठगिएका छन् ।’ 

सङ्घका उपाध्यक्षसमेत रहेका किसान किरण ओली बजारमा अण्डाको माग भइरहेको भए पनि व्यवसायीको चलखेलका कारण मूल्य घटेको बताउँछन् । उनले भने, ‘म सस्तोमा अण्डा बिक्री गर्दिनभन्दा मसँग एक हजार ५०० पेटी अण्डा थन्किएको छ ।’ अहिलेको अवस्थामा सस्तोमा अण्डा बिक्री गर्नुपर्ने अवस्था नरहेको भए पनि व्यवसायीको चलखेललाई केही किसानको सहयोगका कारण समस्या आएको उनले आरोप लगाए ।

घाटामा व्यवसाय गर्दा कुखुरा पाल्ने किसानलाई निकै घाटा भएको उनको भनाइ छ। दुई हजार ७०० हाराहारी लेयर्स कुखुरा पाल्ने किसान रहेकामा यो सङ्ख्या घटेर एक हजार ७०० मा झरेको उनले जानकारी दिए । ओलीले भने, ‘साना किसान विस्थापित र ठूला स्थापित हुँदैछन् ।’

हाल दैनिक देशभरमा ३२ लाख वटा अण्डा उत्पादन हुँदै आएको छ । केही महिनाअघिसम्म यो सङ्ख्या २६ लाख हाराहारी रहेको सङ्घले जनाएको छ। नेपालमा कुखुराजन्य क्षेत्रमा १ खर्ब २५ अर्ब लगानी भएको व्यवसायीहरू बताउँछन्। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved