२० वर्षपछि खुल्दै भन्सार एजेन्टको विज्ञापन, कतिले पाउँछन् लाइसेन्स ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 18, 2021 | 11:37:50 AM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार एजेन्टको नयाँ विज्ञापन खुल्ने भएको छ । नयाँ लाइसेन्स पनि चालु आर्थिक वर्षभित्रै वितरण गर्ने गरी २० वर्षपछि भन्सार एजेन्टको विज्ञापन खुलाउन लागिएको हो । 

भन्सार विभागका अनुसार गत वर्ष नै एजेन्टको विज्ञापन खुलाएर परीक्षा लिने तयारी भएको भएपनि कोरोनाका कारण एक वर्ष धकेलिएको थियो । अहिले कोरोनाको खोप लगाउने अभियान पनि सुरु भइसकेकाले गत वर्ष रोकिएको प्रक्रिया पुनः सुरु गरिएको विभागले जनाएको छ । विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार केही चरणको छलफलसमेत सकेर लाइसेन्स परीक्षाको पाठ्यक्रम र कार्यविधि पनि बनिसकेको छ । 

‘परीक्षाका लागि आवश्यक पाठ्यक्रम, कार्यविधि सबै सबै तयार गरिसकेका छौं । अब सार्वजनिक सूचना जारी गरेर परीक्षा लिने काम मात्रै बाँकी छ,’ प्रवक्ता घिमिरेले भने, ‘कोभिडपछि अहिले विभिन्न विश्वविद्यालयहरुले पनि परीक्षा लिन थालिसकेका छन्, त्यही भएर विभागले पनि नयाँ भन्सार एजेन्टको परीक्षा लिने प्रक्रिया सुरु गरेको हो । तत्कालै सूचना जारी हुन पनि सक्छ ।’

कतिलाई दिइन्छ नयाँ लाइसेन्स ?

हाल नेपालमा १६५ जना भन्सार एजेन्ट छन् । यसअघि १७० जना रहेकोमा यो प्रोफेशनल लाइसेन्स भएकाले ५ जनाको अवधि सकिएको छ । भन्सार ऐन अनुसार भन्सार एजेन्टको लाइसेन्स उत्तराधिकारीमा सर्दैन । वकिल, चार्टड एकाउण्टेन जस्तै भन्सार एजेन्टको पनि प्रोफेशनल लाइसेन्स हुने भएकाले आफू सक्रिय हुन छोडेपछि लाइसेन्स स्वतः रद्द हुन्छ ।

अब नयाँ एजेन्ट थपेर ५ देखि ६ सय एजेन्टहरु पुर्याउने विभागको तयारी छ । ५ देखि ६ सय सक्रिय एजेन्टहरु भएको खण्डमा अहिलेको कामको चाप धान्न सकिने विभागको आँकलन छ ।

‘अहिले नै नयाँ यति थप्ने भन्ने यकिन भएको छैन’ प्रवक्ता घिमिरेले भने, ‘५ सय ६ सय एक्टिभ एजेन्टहरु भए भने अहिलेको कामको चाप धान्न सकिन्छ भन्ने हो, विज्ञापन आउँदा यति थप गर्ने भन्ने किटान भएरै आउँछ ।’

भन्सार ऐन अनुसार लिखित र मौखिक परीक्षा उत्तीर्ण गरेपछि मात्रै एजेन्टको लाइसेन्स पाइन्छ । हजारौँको संख्यामा मानिसहरु एजेन्ट परीक्षामा सामेल हुने देखिएकाले पहिले नै कोटा तोक्न लागिएको विभाग स्रोत बताउँछ । 

एजेन्ट महासंघ के भन्छ ?

भन्सार एजेन्ट महासंघले भने नयाँ एजेन्टहरु थप गर्ने विषयमा विभागसँग विभिन्न शर्त राखेको छ । नयाँ एजेन्ट आएपछि अहिले भइरहेका एजेन्टहरु मर्कामा पर्ने भन्दै महासंघले यसअघि विरोध जनाउँदै आएको भएपनि अहिले भने नयाँ लाइसेन्सको परीक्षा खुलाउनुपर्छ भन्नेमा सहमत छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष भरतराज घिमिरेले यसअघि भन्सार एजेन्टको प्रतिनिधि भएर काम गरेका मान्छेलाई व्यवस्थापन गर्नुपर्ने आफूहरुको माग रहेको तर एजेन्टको विज्ञापन नै खुलाउन हुँदैन भन्नेमा आफूहरु नरहेको बताउँछन् । 

भन्सार विभागले पनि आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको र यसअघि विभिन्न माग राख्दै अड्को थापेको भन्सार एजेन्ट महासंघ पनि करिब करिब सहमतमा आएकाले अब चालु आर्थिक वर्षभित्रै विभागले लिखित परीक्षा र अन्तरवार्ता लिएर ४ सय बढी नयाँ भन्सार एजेन्ट थप्न सक्ने छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved