किन 'सिस्टम' अनुसार निगमले बढाएन पेट्रोलको मुल्य ? बढाएको भए कति हुन्थ्यो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 10:30:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले विश्व बजारलाई पछ्याउदै तेलको मुल्य वृद्धि गरेसँगै त्यसको चर्को बिरोध भएको छ । तर स्वचालित मूल्य प्रणाली भनिएपनि सोही अनुसार बढाउनुपर्ने मुल्य नबढाईएको निगमले जनाएको छ । 

करिब ६ बर्ष अगाडी २०७१ साल असोज १३ गतेदेखि अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार कायम हुने गरी नेपालमा पनि स्वचालित मूल्य प्रणाली कायम गरिएपनि विश्व बजारमा पछिल्लो मूल्य वृद्धिअनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य कायम नभएको निगमको दाबी छ ।

२ वा ५ प्रतिशतसम्म मुल्य बढाउने अधिकार निगमलाई भएपनि सर्वसाधारणलाई राहत दिने उदेश्यले स्वचालित मूल्य प्रणाली अर्थात अन्तराष्ट्रिय मुल्यअनुसार नेपालमा तेलको मुल्य नबढाईएको निगमका महानिर्देशक सुरेन्द्र कुमार पौडेलले बिजपाटीलाई बताए । 

स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा ५ प्रतिशत नाफा कायम हुने गरी तेलको मुल्य वृद्धि गरिएको भए १६ फेब्रुअरी २०२१ सम्ममा नेपाली बजारमा पेट्रोलको मूल्य प्रति लिटर १२७ रुपैयाँ र डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १०७ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसको मूल्य प्रति सिलिन्डर १७ सय ६७ रुपैयाँ हुन्थ्यो ।

महानिर्देशक पौडेल भन्छन्, ‘तर नेपाली बजारमा महँगी नबढोस् र सर्वसाधारणलाई राहत मिलोस् भन्ने उदेश्यले निगमले घाटा खाएर नै आजको दिनमा पेट्रोल प्रति लिटर ११४ रुपैयाँ, डिजेल र मट्टितेल ९७ रुपैयाँ र खाना पकाउने ग्याँस १४ सय रुपैयाँमा बिक्रि गरिँदै आएको छ ।’

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै डलरको मूल्य पनि बढेकाले पेट्रोलियम पदार्थको भाउ थोरै भएपनि वृद्धि गर्नलाई निगम बाध्य भएको महानिर्देशक पौडेल बताउँछन् । निगमले सर्वसाधारणको हितलाई मध्यनजर गरेर अन्तराष्ट्रिय बजार मूल्यअनुसार मूल्य नबढाएको भएपनि बजारमा मूल्य वृद्धि गरियो, निगम नाफामुखी भयो भनेर आलोचना गरिएकोप्रति महानिर्देशक पौडेलले असन्तुष्टि जनाए । 

महानिर्देशक पौडेलकाअनुसार बिगतमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२० डलर हुँदा पनि निगमले तेलको मूल्य वृद्धि गरेको थिएन तर, अहिले कच्चा तेलको मूल्य वृद्धिसँगै अमेरिकी डलर पनि महँगो भएकाले तेलको मूल्य बढाउन निगम बाध्य भएको हो ।

पछिल्ला दिनहरुमा निरन्तर उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य झनै बढ्ने आंकलन गरिएको छ । साउदी अरबको तेल प्रतिष्ठानहरुमा आक्रमण भए पश्चात कच्चा तेलको मूल्य ७० डलर प्रति ब्यारेल नाघेको छ । यमनको हुथी विद्रोहीहरुले  साउदी अरबको तेल उद्योग केन्द्रमा ड्रोन तथा क्षेप्यास्त्रमार्फत आक्रमण गरेका छन् । यस प्रकारको आक्रमणले निरन्तरता पाएको अवस्थामा विश्वबजारमा तेलको मूल्य अझैं बढ्ने विश्लेषकहरुको अनुमान छ । 

विश्वबजारमा तेलको मूल्यमा वृद्धि भएसँगै त्यसको असर भारतको बजारमा पनि देखिएको छ । भारतीय आयल निगम (आईओसी) ले विश्वबजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved