ऐतिहासिक उचाईमा घरजग्गा कारोबार, १०६ प्रतिशतले बढ्यो मालपोत राजश्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2021 | 10:21:29 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको असरका बीचमा पनि घरजग्गा कारोबारले इतिहासका सबै रेकर्ड तोडेको छ । कारोबार संख्या, राजश्व संकलन लगायतका यसअघिका सबै रेकर्ड तोड्दै आर्थिक वर्ष २०७७/०७८ मा घरजग्गा कारोबार नयाँ उचाईमा पुग्यो । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/०७८ मा कुल राजश्व संकलन १०६ प्रतिशतले बढेको छ । गत वर्ष ५७ अर्ब ६८ करोड रुपैयाँ राजश्व संकलन भएको छ । अघिल्लो आर्थिक वर्षमा कुल २८ अर्ब ३ करोड ८० लाख रुपैयाँ राजश्व संकलन भएको थियो । २०७६/०७७ को तुलनामा २०७७/०७८ मा २९ अर्ब ६४ करोड २७ लाख बढी राजश्व संकलन भएको हो ।

यो तथ्यांक हाल पूर्ण रुपमा अनलाइन प्रणाली लागू भइसकेका १२० मालपोत कार्यालयको तथ्याँक हो । बाँकी ६ वटा मालपोतमा भने न्युन कारोबार हुने र उक्त कारोबारको तथ्यांक आईनसकेको विभागले जनाएको छ । 

कुन शीर्षकमा कति शुल्क उठ्यो ?

मालपोत कार्यालयमा रजिष्ट्रेसन शुल्कवापत ३२ अर्ब ४७ करोड २० लाख रुपैयाँ संकलन भएको छ । पुँजीगत लाभकर असुलीमार्फत १४ अर्ब १९ करोड ८२ लाख रुपैयाँ र सेवा शुल्कवापत ३ अर्ब ५७ करोड ७ लाख रुपैयाँ संकलन भएको विभागले जनाएको छ ।

उपत्यकामा मात्रै २२ अर्ब संकलन

काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ वटा मालपोत कार्यालय छन् । यी ९ मालपोतबाट मात्रै गत आर्थिक वर्ष २०७७/०७८ मा २२ अर्ब २८ करोड ४० लाख रुपैयाँ राजश्व संकलन भएको छ । यो मुलुक भरीका मालपोतबाट उठेको कुल राजश्वको ३८.६३ प्रतिशत हो ।

काठमाडौं उपत्यकाका मालपोतबाट रजिष्ट्रेशन शुल्कवात १४ अर्ब ९२ करोड, पुँजीगत लाभकरवापत ६ अर्ब ७९ करोड ५१ लाख राजश्व संकलन भएको छ ।

६ लाख २२ हजार घरजग्गा किनबेच

गत आर्थिक वर्षमा घरजग्गा किनबेच पनि ८ प्रतिशतले बढीले बढेको छ । २०७७ साउन १ देखि २०७८ असार ३१ सम्म देशभरीमा ६ लाख २२ हजार १११ घरजग्गा किनबेच भएका छन् । 

अघिल्लो वर्षको सोही अवधिमा जम्मा ५ लाख ६९ हजार ७३७ घरजग्गा किनबेच भएका थिए । यो कारोबार संख्याको तुलनामा गत वर्षको कारोबार संख्या ५२ हजार ३७४ अर्थात् ८.४२ प्रतिशतले बढी हो । 

उपत्यकाका ३ जिल्लामा एक वर्षमा ७८ हजार ५५४ घजग्गा किनबेच भएका छन् । 

गत आर्थिक वर्षमा देशभरका मालपोतबाट १७ लाख २८ हजार ५२९ सेवा प्रवाह भएको छ । लिखत पारित, नामसारी, रोक्का, फुकुवा, संसोधन, प्रतिलिपि, अपार्टमेन्टको लिखत पारित, अंशबण्डा जस्ता शीर्षकमा १७ लाख २८ हजार ५२९ सेवा प्रवाहा भएको विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved