खरिद बिक्री खाता भदौ ३१ गतेसम्म अपलोड गर्दा जरिवाना नलाग्ने, यस्तो छ नयाँ ब्यबस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 08:50:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभागले वार्षिक ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताले अनिवार्यरुपमा खरिद, बिक्री खाता अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ । खरिद, बिक्री खाता विभागको कम्प्युटर प्रणालीमा अपलोड गरेपछि मात्रै मासिक कारोबारको विवरण भेरिफाई हुने व्यवस्था गरिएकोमा करदाताले बिहीबारसम्म पनि खरिद, बिक्री खाता अपलोड गर्न सकेका छैनन् । यसैबीच विभागले सूचना जारी गर्दै साउन महिनाको खरिद, बिक्री खाता भदौ ३१ गतेसम्म अपलोड गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

नयाँ आर्थिक वर्षको सुरुवातसँगै खरिद, बिक्री खाता अपलोड गर्नुपर्ने व्यवस्था लागु गरिएको भएपनि प्राविधिक समस्याले गर्दा अधिकांश करदाताले खाता अपलोड गर्न नसकेपछि विभागले म्याद थप गरेको हो । विभागका अनुसार साउन महिनाको खरिद, बिक्री खाता अपलोड नगरिकन भ्याट विवरण भेरिफाई गर्ने व्यवस्था गरिएको छ । भदौ ३१ गतेसम्म खाता अपलोड गरेमा जरिवाना नलाग्ने विभागको सूचनामा उल्लेख छ । 

खाता अपलोड गर्नुपर्ने नयाँ व्यवस्था

आन्तरिक राजस्व विभागले आ.व. २०७८/७९ देखि लागु हुने गरी ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताले खरिद, बिक्री खाता विभागको कम्प्युटर प्रणालीमा अपलोड गर्नुपर्ने व्यवस्था गरेको छ । वार्षिक ५ करोडभन्दा कम कारोबार गर्ने करदाताका लागि भने खाता अपलोड अनिवार्य गरिएको छैन ।

नयाँ व्यवस्था अनुसार करदाताले हरेक महिनाको खरिद, बिक्री खाता र भ्याटको विवरण सँगसँगै पेश गर्नुपर्छ । मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताले प्रत्येक महिनाको कारोबारको विवरण र कर अर्को महिनाको २५ गतेभित्र बुझाउनुपर्ने व्यवस्था छ । 

सोही व्यवस्थामा परिमार्जन गर्दै विभागले प्रत्येक महिनाको २५ गतेभित्र अघिल्लो महिनाको खरिद, बिक्री खाता अपलोड गरेपछि मात्रै मूल्य अभिवृद्धि कर विवरण पेश गर्नुपर्ने व्यवस्था गरेको हो । खरिद, बिक्री खाता विभागले तोकेको ढाँचामै तयार गर्नुपर्ने व्यवस्था छ । प्रत्येक महिना दुवैथरी खाता एकैसाथ अपलोड गर्नुपर्दछ ।  यसअघि खरिद, बिक्री खाता राजस्व कार्यालयहरुबाट प्रमाणित गर्नुपर्नेमा हाल उक्त व्यवस्था हटाइएको छ । 

विभागको सूचना हेर्न यहाँ क्लिक गर्नु होला । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved