मिटरब्याजमा पैसा लगाउनेहरुको पनि उठिबास ?

झलक दवाडी

झलक दवाडी

May 11, 2023 | 02:15:13 PM मा प्रकाशित

laxmi  sunrise bank

 कैलालीमा ‘मिटरब्याज’को अवैध धन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटरब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ ।

मासिक चर्को ब्याज रकम रहेको यो प्रथाबाट लगानी उठ्न नसकेपछि कतिपय घर छाडेर सम्पर्कविहीन भएका छन् भने कतिपयको आफन्तजन, साथीभाई, परिवारमा विलाप निम्त्याएको छ । 

पछिल्लो समय मिटरब्याजमा रकम लिएर तिर्न नसकेका उजुरी दिन प्रशासन धाउने पीडितको सङ्ख्या बढ्दो छ । मासिक चर्को ब्याजको लोभले मिटरब्याजमा लगानी गरेकाहरूको लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन छन्। एकै जनाले एक करोडदेखि तीन करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन् ।

टोल छरछिमेक र आफन्तबाटै मिटरब्याजमा लाग्न प्रेरित गराउने र सानो तिनो रकम लगानी लगाएपछि असुल गर्न नसक्दा ठगिने समस्या बढ्दै गएको हो । कैलालीमा मिटरब्याजमा भएको लगानीका कारण केहीको घर र जग्गा लिलाम भएको छ भने केहीको लिलाम हुने प्रक्रियामा गएको बताइएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार कैलालीमा मिटरब्याजको कारोबारमा तीनवटा समूहको संलग्नता रहेको पाइएको छ । कुनै व्यक्तिले आफुसँग भएको केही रकम मध्यस्थकर्तामार्फत दोस्रो व्यक्तिलाई दिन्छन् । 

दोस्रो व्यक्तिले ति पहिलो व्यक्तिबाट  लिएको भन्दा बढी ब्याजदरमा तेस्रो व्यक्तिलाई ऋण दिन्छन् । जसका कारण पहिलो ऋण लगानी गर्ने व्यक्ति लगानी डुबेर र तेस्रो व्यक्ति बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन्। 

मध्यस्थकर्ताले मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रुपमा पहिलो व्यक्तिबाट ऋण लिने र उक्त रकम तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम २० प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको दशदेखि २५ प्रतिशतसम्म ब्याज अशुली गर्ने गर्छन् ।

यसरी ठुलो ब्याजदरमा कारोबार गर्नेबाट ठगिएको भन्दै प्रशासनमा उजुरी दिनेको सङ्ख्या बढेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए। ‘मिटरब्याजले कैलालीमा विकराल रुप लिएपछि पीडितलाई उजुरी दिन हामीले सहायता कक्ष नै स्थापना गरिदिएका छौँ।’ 

बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका व्यक्ति यस्तो कारोबारमा फस्ने गरेका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले केही महिना अघि मिटरब्याजीबाट ठगिएको भन्दै प्रशासनमा ९५ उजुरी दर्ता भएको बताए। उनले मिटरब्याज पीडितको निवेदन अनलाइन सङ्कलनपछि आजसम्म ४५ जनाले निवेदन दिएको बताए। 

अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोग २०७९ ले पीडितबाट निवेदन माग गरेपछि प्रशासनले वैशाख १७ देखि सहायता कक्ष सुरु भएको बताए। उनले निवेदन सङ्कलनको कार्य आउँदो ३१ गतेसम्म सञ्चालन हुने बताए। 

अनुचित लेनदेन कारोबारमा सामान्य मजदुरदेखि बजारका सम्पन्न व्यक्ति पनि  संलग्न रहेको पाइएको छ । मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रुपमा प्रहरी, जिल्ला प्रशासन र अदालत जानेसमेत बढेका हुन् । पीडितहरुलाई उजुरी दिन प्रशासनले सूचना जारी गरेपछि उजुरी दिनेको संख्या बढ्दै गएको हो।

मोटो ब्याजदरमा कर्जा लिएर मिटरब्याजमा लगाउनेले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैंकिङ क्षेत्रको कारोबारलाई असर पुगेको बैंकरहरु बताउँछन् । ‘धितो देखाउँदै बैंकबाट मोटो रकम ऋण लिएर मिटर ब्याजमा लगाएका छन् ।’ एक बैंकर भन्छन्, ‘ यस्ता मिटरब्याजीले गर्दा बैंकिङ कारोबार नै धरापमा पारेका छन् ।

मिटरब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान–श्रीमतीबीच विवाद भई उत्पन्न पारिवारिक विवादले सम्बन्ध विच्छेदसम्मको रुप लिएकोसमेत देखिएको छ । परिवारमा एउटाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिनका लागि व्यवहारमा सँगै बसे पनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरु समेत भेटिएका छन्। 

त्यस्तै मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश प्रतिनिधि सभाबाट हिजो बुधबार स्वीकृत भएको छ । योसँगै मिटरब्याज लिने व्यक्तिहरुलाई कारवाही गर्ने बाटो खुलेको छ । सरकारले अध्यादेशमार्फत कानून संशोधन गर्दै मिटरब्याजी अपराधलाई कानूनको दायरामा ल्याएको हो । यसअघि आवश्यक कानूनको अभावमा सरकारले उजुरी परेपनि कारवाही गर्न सकेको थिएन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved