
एसईई परीक्षाको नतिजा आज शनिवार सार्वजनिक हुने भएको छ । अन्य कुनै प्राविधिक समस्या नआए आज साँझसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको हो ।
अहिले बोर्ड बैठक बसिरहेको छ । कक्षा १२ को परीक्षा संचालन बारे निर्णय लिन बैठक बसेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्क्षा १२ को परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो । कोभिडको पुन: जोखिम बढेकोले स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । बैठकले परीक्षा स्थगित गर्नु पर्ने अवस्था आए कुन कुन विकल्प अनुसार अगाडी बढ्ने भन्ने बारे निर्णय गर्ने बताईएको छ ।
यहि बैठकले नै एसईई परीक्षाको नतिजा आज शनिवार सार्वजनिकको निर्णय गर्ने स्रोतले जनाएको छ ।
नतिजा प्रकाशन भएपछि १२ तरिकाबाट नतिजा हेर्न सकिने छ । बोर्डका अनुसार www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, र www.ekantipur.com, www.ricell.axiata.com को वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।
त्यस्तै इजी सर्भिस प्रालि, आकाश टेक प्रालि, जानकी टेक्नोलोजी, नेपाल टेलिकम र एनसेलले एसएमएस सेवा प्रयोग गरेर पनि नतिजा हेर्न सकिने छ ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्न लागिएको हो । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्ने छ ।