
भरतपुरस्थित
नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा स्नातकमा कृषि र भेटेनरी पढ्ने सातौँ सेमेस्टरका
विद्यार्थीहरू मौका परीक्षाको व्यवस्था नगरिएको भन्दै आक्रोशित बनेका छन् ।
विराटनगरमा रहेको
पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएर संचालित इन्स्टिच्युटमा बीसीए र बीआइटी
जस्ता अन्य संकायहरूको मौका परीक्षा भइरहेको तर कृषि र भेटेनरीमा मौका परीक्षा
दिने व्यवस्था नगरिएको भन्दै विद्यार्थी आक्रोशित बनेका हुन् ।
पूर्वाञ्चल
विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङमा
अध्ययनरत छात्रा प्रजीना ढकालले सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो बनाएर नै
विद्यार्थीहरूलाई मौका परीक्षा दिने व्यवस्था मिलाउन आग्रह गरेकी छिन् ।
यो विषय निकै
पहिलादेखि उठिरहेको तर विश्वविद्यालय प्रशासन उदासीन देखिएको उनको भनाइ छ । भरतपुरस्थित
नेपाल पोलिटेक्निक इन्स्टिच्युट मात्र नभएर पूर्वाञ्चलबाट सम्बन्धन प्राप्त अन्य
कलेजहरूमा पनि यस्तो समस्या देखिएको इन्स्टिच्युटका अर्का एक विद्यार्थीले बिजपाटीलाई
बताए ।
पूर्वाञ्चल
विश्वविद्यालयको परीक्षासम्बन्धी विनियम २०७० को परिच्छेद ३ (५)को परीक्षा संचालनको
बुँदा ४ मा सेमेस्टर परीक्षा प्रणालीमा अन्तिम वर्षको २ सेमेस्टरमा मौका परीक्षा
संचालन हुने उल्लेख छ ।
तर पूर्वाञ्चल विश्वविद्यालय प्रशासनले अन्य संकायको मौका परीक्षा संचालन गरेको भए पनि कृषि र भेटेनरी संकायको मौका परीक्षा संचालन गरेको छैन ।
इन्स्टिच्युटका
प्रबन्ध निर्देशक बाबुराम उपाध्यायले २०७६ सालको माघमै विश्वविद्यालयलाई परीक्षासम्बन्धी
विनियममा उल्लेखित प्रावधान कार्यान्वयन गरिदिन चिठी लेखेका थिए । विश्वविद्यालयले
त्यसको पनि सुनुवाइ गरेको छैन ।
उपाध्यायले त्यतिबेला लेखेका थिए, 'बीएस्सी अनर्स एजीतर्फ पुरानो पाठ्यक्रमअनुसार सातौँ सेमेस्टरमा ऐच्छिक विषयमात्र भएको तर हाल शैक्षिक सत्र २०७३/७४ देखि अनिवार्य विषयहरूसमेत थप भएकाले बढी विद्यार्थीहरू अनुत्तीर्ण हुने तर तिनीहरूले कुनै मौका परीक्षाको अवसर नपाई एक वर्षपछि मात्र आंशिक परीक्षार्थीको रूपमा परीक्षा दिन पाउने र त्यसको नतिजा प्रकाशन हुँदा थप एक वर्ष लाग्ने हुँदा निजहरूको अध्ययन र रोजगारीमा समेत ठूलो असर परेको छ ।'
अहिले पनि
उक्त समस्या ज्यूँका त्यूँ रहेको भन्दै विद्यार्थीहरू आक्रोशित र आन्दोलित भएका
छन् । इन्स्टिच्युटले पटक-पटक विश्वविद्यालय समक्ष परीक्षासम्बन्धी विनियम
कार्यान्वयन गर्न आग्रह गरेपनि अहिलेसम्म सुनुवाइ नभएको प्रमुख कार्यकारी अधिकृत
शिव सुवेदीले बिजपाटीलाई बताए ।
'विद्यार्थीलाई
समस्या परेको छ यसकारण परीक्षासम्बन्धी विनियममा लेखेको कुरा कार्यान्वयन
गरिदिनुपर्यो भनेर हामीले पटक-पटक उपकूलपति, डीन र परीक्षा नियन्त्रकलाई पत्र
पठाएका छौं,' सुवेदीले भने, 'त्यो कुरालाई इग्नोर गरिएको छ । अहिलेको कृषि र
भेटेनरी इन्जिनियरिङ संकायमै हुँदा पनि मौका परीक्षा हुँदैनथ्यो । अहिले
विद्यार्थीले नै कुरा उठाइरहेका छन्, हामी पनि यस विषयमा सिरियस छौं ।'
उनले विश्वविद्यालय
प्रशासनसँग यस विषयमा कुराकानी भइरहेको बताए । 'हामीले औपचारिक रूपमा पत्र पठाएका
छौं र अनौपचारिक रूपमा कुराकानी गरिरहेका छौं । उहाँहरू सकारात्मक हुनुहुन्छ,'
उनले भने ।
विश्वविद्यालयका
रजिस्ट्रार नीलमणि पोखरेलले विद्यार्थीहरूको गुनासो आफूसमक्ष आइपुगेको स्वीकारे । 'विनियममा
भएअनुसारको व्यवस्था कार्यान्वयन गर्ने विषयमा हामीले छलफल गरिरहेका छौं,' पोखरेलले
बिजपाटीसँग भने ।
पोखरेलले
विनियममा यस्तो व्यवस्था पहिल्यैदेखि भएपनि विद्यार्थीहरूले कुरा नउठाएको बताए । 'विनियममा
भएको व्यवस्था कुनै संकायमा लागू भएको र कुनैमा लागू नभएको रहेछ,' उनले भने,
'त्यतिबेला विद्यार्थी भाइबैनीहरूले कुरा उठाएनन् । यतिबेला एकैचोटी यस्तो आयो ।
हामी विद्यार्थीको पक्षमा के गर्न सक्छौं त्यसबारे छलफल गरिरहेका छौं ।'
पोखरेलले
अहिले मात्र माग उठेको भनेर दाबी गरेपनि बिजपाटीलाई २०७६ सालमै भरतपुरस्थित
इन्स्टिच्युटले लेखेको पत्र प्राप्त भएको छ । यसबाट विश्वविद्यालय प्रशासन नियमसंगत
चल्न नखोजेको पुष्टि भएको छ ।
नेपाल पोलिटेक्निक इन्स्टिच्युटका अर्का एक विद्यार्थीले यदि मौका परीक्षा दिन नपाए आन्दोलन गर्ने चेतावनी दिए । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'हाम्रो कमजोरीको फाइदा विश्वविद्यालयले उठाउन खोजेको हो भने हामी आन्दोलन गर्न बाध्य हुन्छौं । विश्वविद्यालय प्रशासनले यसलाई सिरियसली लिनुपर्छ ।'