काठमाडौँमा मेयर लड्ने तयारी गरेकी सुनिता कसरी एमालेबाट उपमेयरको उम्मेदवार बनिन् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 24, 2022 | 04:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनिता डंगोल नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकाकी उपमेयरको उम्मेदवार बनेकी छिन् । युवा सशक्तिकरण र युवाका मुद्दासँगै काठमाडौँलाई जीवन्त सहरको रुपमा यसको संरक्षण गर्नुपर्छ भन्ने अभियान चलाईरहेकी डंगोललाई एमालेले शनिबार बेलुका उपमेयरको उम्मेदवार बनायो ।

उनी काठमाडौँ महानगरको मेयरको दाबेदार थिइन् । उनले उम्मेदवार घोषणा गरेर सोही अनुसार प्रचार मात्रै होइन, प्रतिवद्धता पत्र नै सार्वजनिक गरेकी थिइन् । तर, उनले यस बीचमा सबै खालका राजनीतिक दलसँग संवाद गरिन् । 

‘मैले काठमाडौँको मेयरमा उम्मेदवारी घोषणा गर्दादेखि नै स्वतन्त्र उम्मेदवार भनेकी थिइनँ’ उनले बिजपाटीसँग भनिन्, ‘दलिय हिसाबमै जानुपर्छ भन्ने मान्यता थियो मेरो, तर अब पुस्ता हस्तान्तरण हुनुपर्छ, नयाँ पुस्ता नेतृत्वमा आउनुपर्छ भन्ने मात्रै कुरा थियो ।’

किन उपमेयरको उम्मेदवार बनिन् ?

उनले आफ्ना एजेण्डाहरु देखाएर साना, ठूला दलका सबै खाले नेताहरुसँग कुराहरु गरिरहेकी थिइन् । शनिबारसम्म पनि उनलाई एमालेले उपमेयरको उम्मेदवार बनाउँछ भन्ने लागेको थिएन ।

यद्यपी, उनले आफ्ना एजेण्डा देखाएर ‘पद भन्दा पनि एजेण्डा स्थापित हुनुपर्छ’ भनेर निरन्तर कुराकानीमै थिइन् । नभन्दै साँझ एमालेले उनै डंगोललाई उपमेयरको उम्मेदवार बनायो ।

‘यो बीचमा धेरैसँग छलफल गरेँ, एजेन्डामा एमालेका नेताहरु बढी सकारात्मक हुनुहुन्थ्यो’ सुनिताले भनिन्, ‘पदभन्दा माथि उठ्नुपर्छ, पदभन्दा लक्ष्य ठूलो हो भनेर मेयरको उम्मेदवार हुँदाहुँदै पनि मैले आफ्ना एजेण्डा र लक्ष्यहरुलाई स्थापित गराउन उपमेयरको उम्मेदवार बनेकी हुँ ।’

कसरी सम्भव भयो एमालेबाट उपमेयरको टिकट ?

महानगरको मेयरमा उम्म्दवारी घोषणा गरेपछि सामाजिक सञ्जाल र सञ्चार माध्यममा उनको चर्चा चुलियो । धेरैले उनलाई पछ्याए, अन्तरवार्ताहरु आए । 

विकासको ८ खम्बे मोडल सार्वजनिक गरेपछि त झन सुनिताको चर्चा ह्वात्तै बढ्यो । यसै सिलसिलामा उनले एक अन्तर्वार्तामा ‘भिजन भएको र मन पर्ने नेता केपी ओली’ भएको बताएकी थिइन् ।

त्यो अन्तरवार्ता ओलीले हेरेछन् । ओली पनि सुनिताको विकासका कुरा, काठमाडौँलाई सुन्दर र सांस्कृतिक सहरका रुपमा जीवन्त राख्ने कुरामा सहमत त्यतिबेला नै भईसकेका थिए । अध्यक्ष ओलीले नै उनलाई भेटको निम्तो पठाए । 

‘उहाँसँगको भेटमा आफ्ना विचार र एजेण्डाहरु मैले खुलेर राखेँ’ सुनिताले भनिन्, ‘युवाको कुरा तपाईहरुले सुन्नुपर्छ, उनीहरुका इच्छा, चाहना र क्षमता समेट्नुपर्छ भनेँ ।’

त्यसलगत्तै ओलीले गत बुधबार ‘युवासँग म’ कार्यक्रम राखे । उक्त कार्यक्रममा डंगोल पनि सहभागी भईन् । युवासँग म कार्यक्रममा पनि डंगोलले आफ्ना कुरा निर्धक्क राखिन् । 

‘म त्यहाँ आफ्ना कुरा राख्न र म जस्तै युवा साथीहरुको कुरा सुन्न गएकी थिएँ, त्यहाँ अध्यक्ष केपी ओलीसँग पनि कुरा राखेँ’ सुनिता भन्छिन्, ‘मूलतः आफ्ना कुरा भन्दा पनि युवाहरुको, म जस्तै युवा साथीहरुको कुरा सुन्नु थियो, सुनेँ ।’

शनिबार बेलुका उनै डंगोललाई एमालेले काठमाडौँको उपमेयरको उम्मेदवार बनायो । 

‘यो भनेको एमालेले युवाहरूलाई गरेको विश्वास हो, युवालाई अगाडि सार्नु भनेको युवाहरुका लागि उपहार र अवसर हो’ सुनिताले भनिन् ।

सन् २०११ कि मिस नेवाःसमेत रहेकी सुनिता ३० वर्षकी भईन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved