पूर्ण तालमेलमा गठबन्धन असफल : जताततै बागीको बाढी, एमाले उत्साहित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 11:58:55 AM मा प्रकाशित

laxmi  sunrise bank

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनमा रहेका दलहरूले देशव्यापी रूपमा शतप्रतिशत तालमेल गर्न असफल भएका छन् । सोमवार सकिएको उम्मेदवार मनोनयनमा तालमेलको आँकडा करीब ६० प्रतिशत रहेको गठबन्धनका नेताहरूले नै दाबी गरेका हुन् । 

सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले ६ महानगर र ११ उपमहानगरमा तालमेलको अधिकतम प्रयास गरेका थिए । पोखरा, भरतपुर जस्ता कतिपय ठूला महत्त्वका महानगर र उपमहानगरमा कांग्रेसका नेताहरू बागी मेयरका रूपमा मनोनयन दर्ता गराएका छन् । 

पोखरामा मात्र तीन जनाले बागी उम्मेदवारी दिएका छन् भने भक्तपुरमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलको बागी परेको छ । पोखरामा नन्दुप्रसाद तिवारीले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिएका छन् । त्यस्तै ऋषि सापकोटा र विमलबहादुर कार्कीले पनि मेयरमा मनोनयन दर्ता गराएका छन् । 

जनकपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसबाट मनोज साह बागी बनेका छन् । त्यहाँ जसपाले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी मनोनयन गराएका थिए । धरानमा पनि उस्तै हालत छ । गठबन्धनको निर्णयप्रति असहमति जसपाबाट मेयरमा ताजुब लिम्बू र उपमेयरमा बिना राईले मनोनयन दर्ता गराएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा पनि गठबन्धनबीचको तालमेल असफल भएको छ । त्यहाँ माओवादी केन्द्रले प्रमुख नभए उपप्रमुखसम्म दाबी गरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा प्रशान्त बिष्ट र जसपाबाट उपमेयरमा कमरुद्दिन राईले मनोनयन दर्ता गराए । माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको घोषणा गरेपनि बागी उम्मेदवारी भने उठाएको छैन । 

त्यस्तै सुदूरपश्चिममा गठबन्धनका दलहरूले मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गरे भने तनहुँमा भ्रष्टाचारको अभियोगमा सजाय पाइसकेका कांग्रेस नेता गोविन्दराज जोशीका छोरा दीपक जोशीले एमालेको सहयोगमा मेयरमा उम्मेदवारी मनोनयन गराएका छन् । यी त केही पालिका प्रमुख र उपप्रमुखको उदाहरण भए, यस्ता समस्या वडामा कति छन् कति । 

झापामा त राप्रपाविरुद्ध कांग्रेस र एमालेले तालमेल गर्न पुगे । तालमेल गर्न नसके मित्रवत प्रतिस्पर्धा गर्ने तर गठबन्धनबाहिरका दलहरूसँग तालमेल नगर्ने लिखित सहमतिबिपरित कचनकवल गाउँपालिकामा राप्रपाविरुद्ध कांग्रेस र एमालेले तालमेल गरेका हुन् । त्यस्तै पूर्वी रुकुमको सिस्नेमा पनि माओवादीविरुद्ध कांग्रेस र एमालेबीच तालमेल भएको छ । 

बागी उम्मेदवारले केही मत काटेमा मात्र पनि गठबन्धनलाई चुनौती थपिन सक्छ । गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा केन्द्रबाटै भागबन्डा गरेको थियो । अन्य पालिकामा भने स्थानीयस्तरमा तालमेल भएको हो । स्थानीय स्तरमा हुने भनिएका धेरै तालमेल असफल भए । 

कतिपय ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन भए । माओवादी र कांग्रेस मिलेर समाजवादीलाई पाखा लगाएको भन्दै समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सार्वजनिक रूपमै आपत्ति जनाउँदै हिसाबकिताब मिलान गर्ने चेतावनीसमेत दिएकी थिइन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन्, 'गठबन्धन सन्तोषजनक र सम्मानजन भएन । गठबन्धनका दलहरूको बीचमा हामीले आफैभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं । हाम्रा वार्ता संवादमा केही दम्भ देखियो । यो विचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ । बस !'

गठबन्धनको यस्तो चालाले नेकपा एमाले भने हौसिएको छ । एमालेका एक पदाधिकारीले भने, '६ महानगरमा ४को मेयरमा हाम्रो जीत सुनिश्चित छ । देशैभर कम्तीमा ४ सय भन्दा बढी पालिका प्रमुखमा हामीले जित्छौं ।' 

यद्यपी गठबन्धन दलका नेताहरूको दाबी पनि यस्तै छ । एमालेलाई सय भन्दा कम पालिका प्रमुखमा समेट्ने दाबी गर्दै माओवादी केन्द्रनिकट स्रोतले भन्यो, '६० प्रतिशत भन्दा बढी तालमेल भएको छ । बाँकी ४० प्रतिशतमा तालमेल नहुनुका कारण गठबन्धनमै रहेका दलहरू बलिया भएर हो । तालमेल भएको ठाउँमा पनि एमाले हार्छ, नभएको ठाउँमा पनि गठबन्धनमध्येकै बलियो उम्मेदवारले जित्छ ।'

सोमवार पत्रकार सम्मेलन गर्दै माओवादीका प्रवक्ता कृष्णबहादुर महराले उम्मेदवारी फिर्ताको दिनसम्म पनि सहमतिको सम्भावना रहेको बताएका छन् । 'अहिले पनि मिल्ने क्रम जारी छ । उम्मेदवारी फिर्ता गर्ने दिनसम्म र मतदानको अघिल्लो दिनसम्म पनि गठबन्धनमा सहमतिको प्रयास हुन्छ,’ महराले भने, '६० प्रतिशत क्षेत्रमा उम्मेदवारी दिँदा गठबन्धन भएको छ ।' 

पाँचदलीय गठबन्धनको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै आफू हेपिएको जनाएको छ । गठबन्धनका ठूला दलहरूले तालमेललाई गम्भीरतापूर्वक नलिएको र त्यसले असमझदारी बढाएको विज्ञप्तिमा उल्लेख गरेको छ । 

भरतपुरका बागी उम्मेदवार पौडेललगायत कतिपयलाई उम्मेदवारी फिर्ता लिन कांग्रेसले आग्रह पनि गरेको छ । पार्टीको नीतिविपरीत बागी उम्मेदवारी दिएको भन्दै जिल्ला सभापति राजेश्वर खनालले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । बागी फिर्ता नलिए कारवाही गर्ने चेतावनी पौडेललाई दिइएको हो । 

बागी उम्मेदवारलाई सम्झाउने र उम्मेदवारी फिर्ता लिन लगाइने कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ छ । उनले भने, 'बागी उठ्नु भएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाउने र नमाने पार्टीको विधि पद्धतिअनुसार अनुशासनको कारवाही गरिन्छ ।'

निर्वाचन आयोगले सोमवार राति अबेरसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न गरेको छ । मनोनयन दर्तासँगै चुनावी माहोल थप तातेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार देशभर चुनावमा भाग लिन १ लाख ४१ हजारले मनोनयन दर्ता गराएका छन् ।

हिजो समय अभावका कारण आयोगको प्रणालीमा तथ्यांक अपडेट गर्न नसकिएकोले तथ्यांक अपडेट गर्ने क्रम आज पनि जारी छ । सोहि कारण मनोनयन गर्दा गराउनेको तथ्यांक अझै बढ्ने अनुमान छ।  निर्वाचनबाट सबै पदमा गरी ३५ हजार २२१ जना निर्वाचित हुन्छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved