वालिङको मेयरमा मामा-भान्जाको भिडन्त: उस्तै राजनीतिक प्रोफाइल, उस्तै इतिहास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 04:53:20 PM मा प्रकाशित

laxmi  sunrise bank

वालिङ नगरपालिकाको मेयरमा गठबन्धनका मामा र एमालेका भान्जाबीच रोचक भीडन्त हुने देखिएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका दिलिप खाँण र एमालेका कृष्ण खाँण मैदानमा भिड्ने भएका छन् । 

थरले दुवै खाँण भएपनि दिलिप र कृष्ण नाताले मामा-भान्जा हुन् । आफ्ना प्रतिस्पर्धी निवर्तमान मेयर दिलिपबारे टिप्पणी गर्दै कृष्णले भने - 'हामी नातामा मामा भान्जा हौँ । उहाँ (दिलिप)का पुर्खा पहिलाको बाइसे चौबीसे राज्य हुँदा गह्रौंकोटतिर हुनुहुन्थ्यो, मेरो पुर्ख्यौली थलो भने भीरकोट नै हो । ऋषिकेश शाहहरू हाम्रो दाजुभाइ हो ।' उमेरले कृष्ण भन्दा दिलिप २ वर्षले जेठा छन् । 

दुवैको राजनीतिक पृष्ठभूमि लगभग उस्तै प्रकारको छ । एउटै गाउँठाउँ, एउटै स्कूल पढेर हुर्केका दिलिप र कृष्ण दुवै वालिङमै रहेको पूर्णामृत भवानी विद्यालयमा सँगै पढाउने गर्दथे । 

२०४६ सालको आन्दोलनका क्रममा दुवै सँगै पक्राउ परेर १ महिना हिरासतमा पनि सँगै बसेका हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा एमालेले कृष्णलाई मेयर उठाएको थियो तर उनी हारे । कांग्रेसले दिलिपलाई उपमेयर उठायो, दिलिपले भने जितेर ५ वर्ष उपमेयर बने । 

कृष्ण २०७० सालको संविधान सभाको निर्वाचनमा पराजित भए । २०७४ सालको स्थानीय निर्वाचनमा दिलिप मेयर बने । दुवैले आफूहरू सँगै हुर्केको, खाएको, पिएको, डुलेको, पढेको र काम गरेको अनुभव बिजपाटीसँग सेयर गरेका छन् । 

को हुन् दिलिप खाँण ?

विक्रम संवत २०२४ को भदौ १५ गते वालिङमा जन्मेका दिलिप खाँणले २०३७ देखि नेविसंघमा आवद्ध भएर विद्यार्थी राजनीति शुरुवात गरेका थिए । २०३९ देखि ४८ सालसम्म वालिङस्थित पूर्णामृत भवानी विद्यालयदेखि पृथ्वीनारायण क्याम्पस हुँदै त्रिचन्द्र क्याम्पसको नेविसंघमा रहेका काम गरेका दिलिप त्यसपछि पूर्णामृत भवानीमै शिक्षकका रूपमा काम गरेका थिए । 

२०४१ मा कांग्रेसको सदस्य बनेका दिलिप २०४६ सालको जनआन्दोलनमा सक्रियताका साथ भाग लिएका थिए । उनलाई पंचायती सरकारले एक महिना हिरासतमा राखेको थियो । २०४९ देखि शिक्षकका रूपमा कार्यरत रहेका उनी २०५४ मा राजीनामा दिएर वालिङ नगरपालिकाको उपमेयरमा टिकट पाए र जितेर देखाए । 

सोही निर्वाचनमा एमालेबाट मेयरको कृष्ण खाँणले पाएका थिए । तर उनी भोजराज अर्यालसँग पराजित भएका थिए । दिलिपले भने बिजय हासिल गरे । ५ वर्ष उपमेयर रहँदा कार्यशैलीका कारण दिलिप चर्चित बनेका हुन् । 

२०६० बाट ७४ सम्म वालिङ नगरपालिकाकै सर्वदलीय संयन्त्रमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व दिलिपले जनाएका थिए । उनी ३ पटक वालिङ नगर सभापति भएर राजनीति गरेका छन् भने, अहिले कांग्रेसको २ नम्बर क्षेत्रीय सभापतिका रूपमा काम गरिरहेका छन् ।  

विसं २०५४ को स्थानीय निर्वाचनमा वालिङ नगरपालिकाको उपमेयर निर्वाचित भएका खाँण २०७४ को स्थानीय निर्वाचनमा मेयर निर्वाचित भएका थिए । 'त्यतिबेला नगरपालिकाको मतदाता संख्या करीब ३२ हजार थियो,' दिलिप स्मरण गर्छन्, 'मैले करीब १२ हजार ल्याएर जितेको थिएँ । एमालेका पुण्य अर्यालले करीब ९ हजार मत ल्याएका थिए ।'

आफू कांग्रेसका तर्फबाट मेयर भएकाले तत्कालीन नेकपा सरकारले आफूलाई वास्ता नगरेको दिलिपको गुनासो छ । 

मैले राम्रो काम गर्दा गर्दै २ वर्ष अगाडि केन्द्रले नै वालिङको बजेट काटेको उनले सुनाए । 'राजनीतिक प्रतिशोधकै आधारमा स्मार्ट सिटीलाई आउनुपर्ने वार्षिक एक अर्ब र अन्य योजनाका लागि केन्द्रबाट आउनुपर्ने ४२ करोड केन्द्रले दिएन,' दिलिपले भने, 'सम्झौता भइसकेको थियो, रातो किताबमा पनि थियो तर बजेटमा रकम लेख्दा जिरो जिरो लेखिएछ ।'

बजेट कटौतीको असरले काम अधुरो रहेको, सडक पीच गर्न नसकिएको, आँधिखोला कोरिडोर निर्माणमा अवरोध भएको र आफूलाई कमजोर बनाउन एमालेका कतिपय मन्त्रीहरू नै लागेको दिलिपको गुनासो छ । 

आफू अवरोध भएका तीनै परियोजनालाई अघि बढाउनकै लागि योपटक मेयरमा उठेको दाबी उनको छ । 

को हुन् कृष्ण खाँण ?

विक्रम सम्वत् २०२६ को वैशाख ३ गते वालिङमा जन्मेका कृष्ण खाँण राजनीतिक रूपले वालिङ नगरपालिकाको मेयरका सशक्त उम्मेदवार हुन् । ३८ सालमै विद्यार्थी राजनीतिमा होमिएका कृष्णसँग १० वर्ष सरकारी शिक्षक भएको अनुभव छ । 

उनी २०५४ सालमा मेयर र २०४७ सालको संविधानसभा निर्वाचनमा पराजय भएको अनुभव बोकेका जिल्लाका पुराना र सशक्त नेता हुन् । 

२०३८ सालमा उनले अनेरास्ववियूको सदस्यता लिएर पंचायतविरोधी गतिविधिमा संलग्न भएका थिए । २०४१ मा एसएलसी दिएर २०४४ देखि ५४ सालसम्म उनी वालिङमै रहेको पूर्णामृत भवानी विद्यालयका शिक्षक रहे । 

२०४६ सालको आन्दोलनमा उनी वालिङ बहुमुखी क्याम्पसबाट गिरफ्तारीमा परे । बहुदल घोषणा भएपछि मात्र उनलाई हिरासतबाट छोडिएको थियो ।  

राजनीति शास्त्रमा स्नातकोत्तर गरेका कृष्ण २०५४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट वालिङको मेयरमा टिकट पाए । 

तर उनी कांग्रेसका भोजराज अर्यालबाट पराजित हुन पुगे । मेयरमा पराजित भएपछि पार्टी कामलाई निरन्तरता दिएका कृष्ण २ कार्यकाल वालिङ नगर कमिटीको सचिव भएर काम गरे । उनी अहिले  स्याङ्जा कमिटीको उपाध्यक्ष छन् । 

२०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर २ मा उठेका थिए तर उनलाई कांग्रेसका नेता कमल पंगेनीले हराए । 

कृष्णले विकासको काम गाउँबाट शुरू गर्ने भिजन राखेका छन् । निवर्तमान मेयर दिलिप खाँणले किसान र पूर्वाधारका क्षेत्रमा खासै केही काम गर्न नसकेको आरोप कृष्णको छ । दिलिप यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वालिङकै मेयरका प्रत्यासी हुन् । 

कृष्णले बिजपाटीसँग भने, 'विकासको काम गाउँबाट सहरतिर पुर्याउने हो । अहिले गाउँका मान्छेहरू सहरमा आउँछन् । शिक्षा स्वास्थ्य रोजगारीका कारण शहरमा आउने हो । नत्र उनीहरूले थातथलो किन छोड्नुपर्थ्यो र ?'

३९ हजार ४ सय मतदाता रहेको वालिङमा आफूले २० हजार बढी मत ल्याएर जित्ने दाबी कृष्णले गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved