भरतपुरमा
मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा, आचारसंहिता उल्लंघनकाे
उजुरी दिने तयारी
निर्वाचन
आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ । नेकपा माओवादी
केन्द्रनिकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बद्री तिमिल्सिनाले शुक्रबार सुकुम्बासी
तथा भूमिहीनलाई भूमिको निस्सा बाँडेका हुन् ।
निर्वाचन
आचारसंहिताविपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरूले भरतपुर–११ गणेशस्थानमा
भूमिको निस्सा बाँडेका हुन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले
आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताए । उजुरी
आए कारबाही गर्न सकिने उनले जानकारी दिए ।
‘निर्वाचनको बेलामा भूमिहीन सुकुमबासीलाई भूमिको निस्सा बाँड्न पाइँदैन’,
उनले भने, ‘हाम्रो कार्यालयमा उजुरी आयो
भने हामीले सम्बन्धितलाई स्पष्टीकरण सोध्छौँ । आवश्यक परे थप कारबाही पनि हुनसक्छ ।’
भूमि
आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीनलाई निस्सा बाँडेको स्वीकार
गरे । लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता
नलाग्ने उनले दाबी गरे । ‘मैले बाँड्न सुरुवात गरेर हिँडेको हो । कति जनालाई बाँडे
थाहा भएन’, उनले भने, ‘मैले लालपुर्जा
बाँड्न पाउँदिन । निस्सा बाँड्ने काम, जग्गा नाप्ने काम भइराख्ने
रहेछ ।’
शुक्रबार फेसबुकमा
एक स्टाटस राख्दै उनले भूमिहीन सुकुम्बासीले मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन
अधिकारीलाई विजयी गराउन प्रतिबद्धता जनाएको बताएका छन् । मतदातालाई प्रभावित पार्न
निस्सा बाँडिएको कार्यक्रममा साझा उम्मेदवारलाई जिताउने प्रतिबद्धता आएको उनले दाबी
गरेका छन् ।
मतदाता
प्रभावित पार्न भूमिको निस्सा बाँड्ने व्यक्तिहरू विरुद्ध अधिवक्ता सुनिता
अधिकारीले उजुरी हाल्ने तयारी गरेकी छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा
उजुरी हाल्न लागेको जानकारी दिइन् ।