श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने भएको छ । सरकारले उक्त कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैया बजेट छुटाएको मन्त्रालयले जनाएको छ ।
चालू आर्थिक बर्षको नीति तथा कार्यक्रममा समावेश भएको उक्त कार्यक्रम यसै वर्षबाट शुरु गरिने भएको हो । सरकारले रोजगारी हकसम्बन्धी ऐन निर्माण गरिसकेको छ । कुनै पनि नेपाली बाध्यात्मक स्थितिवाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी तयारी भइरहेको मन्त्रालयका सचिव महेश दाहालले बताएका छन् ।
कार्यक्रम शुरु भएलगत्तै देशका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछ । सो केन्द्रको लागि माघ ४ गतेबाट करारमा एक जना कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढेको मन्त्रालयले जानकारी दिएको छ ।
केन्द्रले बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने, बेरोजगार सीप र तालीम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ ।
यस सम्बन्धमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ दुलालले विगतमा पनि यस्ता कार्यक्रम आएको तर व्यवहारमा सफल नभएको बताउँदै यो कार्यक्रमलाई सबैले सफल पार्न जोड दिनुपर्ने बताए । मन्त्रालयले प्रदेश र स्थानीय तहका प्रतिनिधिसँगसमेत छलफल गरेको छ ।