खुल्दै मलेशियाको रोजगारी, स्वास्थ्य संस्थालाई सूचीकरणको लागि १० दिनको म्याद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2019 | 02:16:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मलेसियाको रोजगारी खुलाउने संकेत गरेको छ। मलेसिया सरकारले स्वास्थ्य परिक्षणको मापदण्ड पठाएलगत्तै नेपाल सरकारले स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकरणको लागि निवेदन पेश गर्न सूचना सार्वजनिक गरेको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार (चैत १८) सूचना निकालेर कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थालाई सूचीकरणको लागि निवेदन पेश गर्न भनेको हो।

सुचिकृत हुन इच्छुक नेपाल सरकारबाट स्वकृतप्राप्त स्वास्थ्य संस्थाले बैशाख ३ गतेभित्र श्रम मन्त्रालयमा निबेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ। निवेदकले वैदेशिक रोजगार नियमावली (चौथो संशोधन) २०६४ को नियम ४५ क तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ को दफा ३ बमोजिम निबेदन पेश गर्नुपर्नेछ।

मापदण्ड पुगेका सूचीकृत स्वास्थ्य संस्थाको छनोट गरी मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सरकारले अनुमति दिनेछ। यसअघि स्वास्थ्य परीक्षणका नाममा अनावश्यक र गैरकानुनी रुपमा कामदारबाट शुल्क असुल गरेको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले एकपक्षीय रुपमा ती संस्थाहरुलाई खारेज गर्ने निर्णय गरेका थिए।  

रोजगारीको लागि मलेसिया जाने नेपाली कामदारलाई पारदर्शी ढंगले सहि रुपमा सेवा दिने उदेश्यले तोकिएको मापदण्ड पूरा गर्ने स्वास्थ्य संस्थालाई मात्र परीक्षण अनुमति दिन लागिएको मन्त्रालयले जनाएको छ। 

नेपाल र मलेसियाबीच कातिक १२ गते भएको श्रम समझदारीमा स्वास्थ्य परीक्षणलगायतका अरु सबै प्रक्रिया निःशुल्क हुने र त्यसको खर्च मलेसियाका रोजगारदाताले नै बेहोर्ने उल्लेख छ। त्यसअघि स्वास्थ्यपरिक्षणमा लाग्ने लगायतका शुल्क नेपाली कामदारले नै तिर्दै आएका थिए। मलेसिया रोजगारीका नाममा ठगी गरेको पाइएपछी सरकारले बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थालाई कारवाही गरेपछि गएको जेठदेखि मलेसियाको रोजगारी ठप्प छ। 

मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाएसँगै १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी अब केही दिनमै खुल्ने संकेत देखिएको छ । श्रम मन्त्रालय स्रोतकाअनुसार कलिङ भिसा आएका कामदारलाई पहिलो प्राथमिकता दिइनेछ। मलेसियाले पठाएको मापदण्ड पनि एक दुई दिनमै सार्वजनिक गर्ने मन्त्रालयको तयारी रहेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved