श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय कल सेन्टरको स्थापना गरेको छ । मन्त्री गोकर्ण बिष्टले सोमबार कल सेन्टरको औपचारिक उद्घाटन गरेका हुन् । वैदेशिक रोजगारीमा गएकाहरुको गुनासो र समस्या सुन्न र त्यसको समाधान मन्त्रालयले कल सेन्टरको स्थापना गरेको हो ।
वैदेशिक रोजगार बोर्डको व्यवस्थापनामा कल सेन्टर सुरु भएको हो । कल सेन्टर बिहान ७ बजेदेखो बेलुकी ९ बजेसम्म संचालन हुने छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले वैदेशिक रोजगार विभाग, प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, वैदेशिक रोजगार बोर्ड सम्बन्धि जानकारी लिन, सुझाव दिन र गुनासो गर्न सक्ने छन् । त्यस्तै मन्त्रालय र मातहतका निकायहरूका सेवा, कार्यक्रमहरूबारे पनि जानकारी लिन सकिने छ ।
फोन, इमेल, इमो भाइवर लगायतबाट सेवाग्राहीले आफ्ना सुझाव, गुनासो वा जानकारी लिन सक्नेछन् । गुनासो वा सुझावको सुनुवाई भए÷नभएको अनुगमन पनि मन्त्रालयले गर्ने छ ।
नेपालमा रहेका सेवाग्राहीले ११४१ नम्बरमा नम्बरमा कल गर्न सक्ने छन् । नेपाल टेलिकमका ग्राहकले यसमा कल गर्दा पैसा लाग्ने छैन । अन्य प्रयोगकर्ताको लागि पनि यो नम्बरमा कल गर्दा पैसा नलाग्ने ब्यबस्था छिट्टै गरिने बोर्डले जनाएको छ । विदेशमा हुनेले ९७७ – १–५९७०००८ मार्फत फोन गरेर गुनासो वा जानकारी लिन सक्नेछन् । बिदेसबाट कल गर्दा भने पैसा लाग्ने छ ।